|

कपिलवस्तु : कपिलवस्तुमा एउटै वडाबाट प्रदेशसभा सदस्यमा तीन जना चयन भएका छन्। उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिक पद्धतितर्फबाट प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको हो। कपिलवस्तु नगरपालिका वडा नं. १ का उनीहरुको घर एउटै टोलमा छ। असल छिमेकीसमेत रहेका उनीहरूको अहिले सांसद बनेलगत्तै पहिचान पनि फेरिएको छ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का यी महिला सारथी एक साथ प्रदेशसभा सदस्य बनेका हुन्। यी मध्ये २ जना हाटबजार र १ जना कालीमाई मन्दिर चोकमा बस्छन्। यसरी सांसद बन्नेहरुमा रिना नेपाल विक, शान्तिदेवी बर्मा सोनार र रुन्धावती दुवे शर्मा छन्। रिना दलितबाट, शान्तिदेवी अल्पसंख्यकबाट र रुन्धावती मधेसी महिला कोटाबाट कांग्रेसको सिफारिसमा पर्न सफल भएका हुन्।

सुरुमा रिना र रुन्धावती सिफारिसमा परेका थिए। निर्वाचन आयोगले क्लस्टर र क्रमानुसार त्रुटि सच्याउन कांग्रेसलाई आग्रह गरेपछि अल्पसंख्यकको तर्फबाट शान्तीदेवी बर्मा सोनारको नाम पछि सिफारिस गरेको थियो। सोनार थपिएपछि खसआर्यबाट सिफारिसमा परेकी रूपन्देहीकी सूर्यमति उपाध्यायको नाम भने काटिएको छ।

सांसदको सिफारिसमा परेका एक महिला कांग्रेस नेतृ हुन् भने दुई सामान्य कार्यकर्ता मात्र हुन्। ४० वर्षीया रिना नेपाल विकले जिल्लामा संघसंस्थामा आवद्ध रहेर महिला र दलितका क्षेत्रमा काम गर्दै आएकी छन्। उनी कांग्रेस भ्रातृ संगठन नेपाल दलित संघ र महिला संघकी जिल्ला सचिव हुन्। तरुण दल र पार्टीको विभिन्न तहमा बसेर उनले काम गरिसकेकी छिन्। समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरेकी रिनाले सांसद बन्नुपूर्व पनि पछाडि पारिएका समुदायको लागि काम गरेकाले अब अझै बढी तल्लिनका साथ काम गर्ने बताइन्। ‘अवसर पाउनुपर्‍यो, औंला ठाडो नगर्ने गरि काम गर्छु,’ उनले भनिन्। उत्पीडित तथा पछाडि पारिएका जनताको पक्षमा काम गर्दै समग्र जिल्लाको विकासका लागि पनि योगदान गर्ने बताइन्।

अर्का सांसद रुन्धावती दुवे शर्माले राजनीतिक पदमा नबसे पनि ४ दशकदेखि पति सुरेश शर्मालाई राजनीतिमा लागेर जनताको सेवा गर्न उत्प्रेरित गरेको बताइन्। ‘मधेसी समुदायमा बाहिर निस्केर काम गर्दा राम्रो मान्दैनन्’, ५३ वर्षीया उनले भनिन्, ‘भित्रै बसेर श्रीमानलाई सहयोग गरी लोकतन्त्रका लागि योगदान गरेकी थिएँ।’ उनका पति शर्मा लामो समय कांग्रेस जिल्ला सचिव र क्षेत्र १ का क्षेत्रीय सभापति थिए। ‘अब बाहिर निस्केर काम गर्ने बेला आएको छ’, उनले भनिन्, ‘पिछडिएको महिलाका क्षेत्रमा आवाज उठाउछु।’ एसएससी उत्तीर्ण उनले सिक्दै अघि बढ्ने र पछाडि पारिएका महिलाको सशक्तिकरणमा लाग्ने बताइन्।

सांसद शान्तिदेवी बर्मा सोनार पनि आफू सक्रिय राजनीतिमा नरहे पनि पतिलाई लोकतन्त्रका लागि लाग्न सधैं ऊर्जा दिने गरेको बताइन्। ५२ वर्षीय उनका पति देवी प्रसाद बर्मा दुई कार्यकाल क्षेत्र ३ को क्षेत्रीय सभापति र ३ दशकयता महासमिति सदस्य छन्। उनका पति कपिलवस्तु सुनचाँदी ब्यवसायी संघका अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय प्रतिनिधिसमेत हुन्। सामान्य लेखपढ गर्न जानेकी सोनारले अशिक्षित र पिछडिएको महिलाका भलाइका लागि काम गर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Really happy to all of you and I recently prayers for you all be got success yo planning