|

काठमाडौं : दिया पुन अभिनित एकमात्र फिल्म प्रदर्शनमा आएको छ, 'वीर विक्रम'। दिया 'वीर विक्रम'मा गाउँले केटीको भुमिकामा देखिएकी थिइन्। तर त्यो पात्र उनको वास्तविकता भन्दा विलकुलै भिन्न छ। बेलायतमा हुर्किएकी दियालाई गाउँले केटीको भूमिकामा प्रस्तुत हुन पनि सहज त भएन। दिया सम्झिन्छिन् 'सुरुमा त डर लागेको थियो, तर मेरो मिहिनेत र टिमको सहयोगले सफल बनायो।'

दियालाई मुख्य समस्या भनेको डबिङमा थियो। 'आफूलाई त नेपाली राम्रै बोल्छु जस्तो लाग्थ्यो' उनी भन्छिन् 'तर पछि सुन्दा त आफैलाई हास उठ्ने हुँदोरहेछ।' उनले नेपाली बोल्नको लागि पनि निकै मिहिनेत नत गरेको बताउँछिन्।

उनी अभिनित फिल्म 'मिस्टर झोले' प्रदर्शनको तयारीमा छ, र त्यसैको प्रचारप्रसारमा व्यस्त छिन् उनी। मिस्टर झोलेमा पनि उनी गाउँले केटीकै भूमिका छिन्। दिया भन्छिन्, 'मलाई त्यस्तै सुहाउने भएर होला उहाँहरुले मलाई त्यस्तै भूमिकामा प्रस्ताव गर्नु हुन्छ।' बाहिरी आवरण 'वीर विक्रम'मा जस्तै देखिए पनि मिस्टर झोलेमा आफ्नो भूमिका फरक रहेको दिया बताउँछिन्। 'मिस्टर झोले' दियाको दोस्रो फिल्म हो। उनले 'ह्याप्पी डेज' र 'बमकाजी' पनि अभिनय गरिसकेकी छिन्।

सानैदेखि अभिनयमा रुचि राख्ने दिया गुडियाहरुसँग पनि फिल्मको पात्र बनाएर खेल्ने गर्थिन्। सम्झिन्छिन् ‘म दिमागमा नयाँ कथा कल्पना गर्थेँ अनि गुडियाहरुलाई क्यारेक्टर बनाएर उनीहरुसँग खेल्ने गर्थेँ।’ तर, अभिभावकको चाहना त्यो रहेन। उनी अभिभावकको चाहना अनुसार पढाइतिर लागिन्। तर बाल्यकालको प्रभावले गर्दा पनि होला कलाकारिताको मोह उनीमा थियो नै।

बेलायतमा बस्दा पनि दिया नेपाली फिल्म हेरिरहन्थिन्। युट्युबमा उनी प्राय: पुराना फिल्महरु हेर्ने गर्छिन्। 'म खासमा पुरानो क्लासिकल फिल्महरु हेर्ने गर्छु।' दियालाई राजेश हमाल र करिश्मा मानन्धर अभिनित फिल्म 'साथी' मन पर्छ। उनी भन्छिन् ' मैले सबैभन्दा धेरै हेर्ने फिल्म भनेको नै 'साथी' हो।'

बेलायतमै हुँदा दियाले केही म्युजिक भिडियोमा काम पनि गरिन्। यसै क्रममा एक दिन दियाको भेट म्युजिक भिडियो निर्देशक मिलन चाम्ससँग भयो। दियाको अभिनयबाट प्रभावित भए मिलन। 

केही समयपछि दियालाई मिलनको फोन आयो। ‘दिया एउटा फिल्म छ, तिमीलाई एकदमै सुहाउने, गर्छौं ?’ मिलनले वीर विक्रम फिल्मका लागि दियालाई प्रस्ताव गरेका थिए। दियाले उक्त प्रस्ताव स्वीकारिन्। ‘ला मैले राम्रो गर्न नसक्ने हो कि!’ प्रस्ताव आउँदाको क्षण सम्झिदै दियाले भनिन् ‘सकेसम्म सानो रोल गरेर मात्र ठूलो रोल गर्ने सोच थियो मेरो। एक्कासी मेन रोलको अफर आउँदा डर लागेको थियो।' आफ्नो मिहिनेत र लगनशीलताका कारण राम्रो प्रतिक्रिया पाएको दिया बताउँछिन्।

दियालाई हिट हुने लोभ छैन। राम्रो काम गर्न पाए आफू सन्तुष्ट हुने उनी बताउँछिन्। भन्छिन् 'मलाई हिट हुनुपर्छ भन्ने लाग्दैन। मेरो कामबाट दर्शक सन्तुष्ट हुनुहुन्छ भने म त्यसैमा खुसी हुनेछु।'  

दियाले तीनवटा फिल्ममा अभिनेता दयाहाङ राईसँग काम गरिन्। दयासँग काम गर्न एकदमै सजिलो हुने दियाको अनुभव छ। 'दयाजी एकदमै मिहिनेती, लगनशील र इमान्दार हुनुहुन्छ त्यसैले पनि उहाँसँग काम गर्न सहज लाग्छ' उनले भनिन्। 

अहिले दियालाई फिल्मको प्रस्ताव गर्ने धेरै छन्। तर, सीमित फिल्म मात्र काम गर्ने सोच दियाको छ। भन्छिन् 'धेरै फिल्म गर्न भन्दा थौरै तर स्तरीय फिल्ममा काम गर्ने मन छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.