|

बीस–बाइस वर्षअघिको कुरा।

नेपालगञ्जबाट कोही आफन्त राजधानी आउँदै थिए। तिनलाई 'रिसिभ' गर्ने जिम्मा आईपर्‍यो , नयनराज पाण्डेलाई। उनी मोटरसाइकलमा सुन्धारा हुइँकिए। तिनताका सुन्धारा नै राजधानी भित्रने लामो दूरीका बसको अन्तिम गन्तव्य हुने गर्थ्यो।

उनी बस कुरेर एउटा चिया पसलको छेउमा उभिइरहेका थिए।नेपागञ्जबाट आएको बसबाट एक युवक फुत्त ओर्लियो। सायद काठमाडौँ पहिलो पटक आएको थियो ऊ, त्यसैले अलमलियो। नयन उभिइरहेकै पसलको छेउमा गयो र साहुजीलाई सोध्यो– 'दाई, पुलचोक कता पर्छ?'

साहुजीले के सोच्यो कुन्नि! गुप्ताङ्ग देखाउँदै जवाफ दियो– 'यी याँ पर्छ। मूला मर्स्या।'

अनुहारभरि तनावको रेखा टाँसेर हिँडेको त्यो मधेसी केटोलाई के असर पर्‍यो? नयनलाई थाहा छैन, तर साहुजीको जवाफले उनी भने नराम्ररी रन्थनिए। सुन्धाराबाट डेरासम्म आइञ्जेल त्यही दृश्य सम्झिरहे। त्यही केटोको झल्को आइरह्यो। केटो नयनको नयनबाट त ओझेल भयो तर अहँ, कसै गरे पनि दिमागबाट उत्रनै मानेन।

त्यो किन काठमाडौँ आयो होला? त्यसको अनुहारमा टाँसिएको अवशादको कारण के होला? पुल्चोकमा उसका कोही आफन्त रहेछन् कि वा हुन सक्छ, मन्त्री क्वार्टरमा कोही मन्त्री भेट्न आएको होस्। 

मनमा यस्तै कुराहरू खेलिरहे। नयनलाई लाग्यो, 'मैले यसबारे लेख्नैपर्छ।'

त्यसो त नयनले त्यसअघि पनि कथा, उपन्यास नलेखेका होईनन्। तर उनले मधेसलाई केन्द्र बनाएर लेखेका थिएनन्। अलिअलि लेखे पनि टुक्रे लेखनमा सीमित थियो। यो त्यही घटना थियो, जसले नयनलाई मधेसबारे लेख्न घच्घच्याइरह्यो। 

र, उनले लेखे उपन्यास– 'उलार।'

उलारमा त्यसरी नै प्रेमललवा फुत्त बसबाट ओर्लन्छ, जसरी त्यो केटो ओर्लिएको थियो। 

नजिकैको पसलमा जान्छ र साहुजीलाई सोध्छ– 'पुल्चोक कता पर्छ?'

उलार छपाईको महाभारत

२०५३ सालमा यो पहिलो पटक प्रकाशित भयो- साहित्यिक पत्रिका तन्नेरीमा। त्यसबाट ठिकठिकै प्रतिक्रिया आयो। केही समयपछि नयनलाई लाग्यो, यसलाई पुस्तककै रूपमा छाप्नुपर्छ। पुस्तकका लागि श्यामलले भूमिका पनि लेखे, तर पुस्तक निकाल्नु त्यति सहज थिएन। आफ्नै खर्चमा छाप्न उनलाई त्यति रुचि भएन।

उलार थन्किन पुग्यो।

तन्नेरी पत्रिकामा उलार पढिसकेका पाठकहरूले निकै घचघच्याएपछि नयनले धरै पाएनन्। उनी छपाइको मेलोमेसोमा जुटे। तर बुझ्दै जाँदा थाहा भयो, उलार कम्पोज भएको प्लेट कतै हराइसकेछ। त्यसै-त्यसै मन मरेर आयो। 

उलार फेरि थन्कियो।

त्यसको डेढ दुई बर्षपछि फेरि छपाको मेलो शुरु भयो। त्यतिञ्जेलसम्म श्यामलले लेखेको भूमिका पनि हराइसकेको थियो। नयनले उनलाई दोहोर्‍याएर भूमिका लेखिदिन अनुरोध गरे। श्यामलले लेखिदिए पनि। कम्प्युटर प्रिन्टमा छपाउँदा पुस्तकको आकार निकै सानो हुने भएपछि अन्तत: लेटर प्रेसमार्फत पुस्तक छापियो- ०५५ सालमा।

'उलारको प्रकाशन नेपाली उपन्यास फाँटको एक महत्त्वपूर्ण घटना हो। यसमा हाम्रो युगको भयानक वास्तविकतालाई सरल र छोटा तर आकर्षक वाक्यहरूमा प्रस्तुत गरिएको छ।' भूमिकामा श्यामलले लेखे, 'म प्रेमललवा र द्रौपदीको संवाद शिष्ट छन् भन्ने मान्यता राख्छु। अश्लील त राजेन्द्रराज, शिलाबाबु र शान्तिराजाको राजनीति हो। अश्लीलता कुनै शब्दविशेषमा हुँदैन, अर्थविशेषमा हुन्छ।'

निकै सानो काँटको त्यो लघुउपन्यास यति सशक्त भैदियो कि त्यसपछि नयनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। छापिएको बीस बर्षपछि अहिले पनि 'उलार' पाठकहरूले उत्तिकै प्रेमका साथ पढिरहेका छन्। यसको चर्चा भई नै राखेको छ। 'आजसम्म मैले उलारबारे नकारात्मक प्रतिक्रिया पाएको छैन।' नयन भन्छन्, 'कुनै पनि रचनाको आयु पाठकहरूको मायामा निर्भर हुँदोरहेछ।' 

'उलार'लाई पाठकले किन यतिविघ्न रुचाए होलान् त?

नयनलाई लाग्छ, 'लेखकीय इमानदारी पनि एउटा कारण हुनसक्छ। मैले मधेसबारे जे बुझें, जसरी बुझें, त्यसरी नै प्रस्तुत गरेको छु। यसमा कुनै बनावटीपन छैन र कस्मेटिकको प्रयोग गरिएको छैन।'

उलारको एक जबर्जस्त प्रशंसकले त उनलाई भनिछन् पनि, 'नयनजी, उलार यति राम्रो छ कि तपाईंले अब केही नलेखे पनि हुन्छ। उलारमा एउटै पनि अनावश्यक शब्द परेको छैन।'
नियमित भन्दा फरक खालको यो प्रतिक्रिया नयनलाई रोचक लागेछ। फेरि किताब पल्टाएछन्। साँच्चै, तिनै पाठकले भनेजस्तै नयनलाई पनि कुनै पनि शब्द अनावश्यक लागेनन् रे!
'चार दिनमा लेखेको हुँ। सामान्य सम्पादनसम्म पनि गरेको होइन', उनी सम्झन्छन्।

'उलार' सवाल्टर्नहरूको कथा मात्र होइन, ०४६ सालको आन्दोलनपछि विकसित राजनीतिक चरित्रको दृष्टान्त पनि हो। टाँगा चलाएर जीवन चलाइरहेको प्रेमललवा र देहव्यापार गरेर सास धानिरहेकी द्रौपदीको मात्रै कथा होइन, तिनकै नाममा राजनीति गर्ने राजेन्द्रराज र शान्तिराजाको कथा पनि हो। 

धेरैलाई जस्तै नयनलाई पनि लाग्थ्यो, बहुदल आएपछि जनता–राज स्थापित हुन्छ। सबै जातजातिको उत्थान हुन्छ। सबैले समान अवसर पाउँछन्। जनजीविका त्यतिबिघ्न कष्टसाध्य हुँदैन र नेपाल एउटा सुन्दर देश हुन्छ। 

नयन परिवर्तनप्रति उत्साहित थिए। लेखकको रूपमा आन्दोलनका विभिन्न मोर्चामा सामेल पनि भए। 

अन्तत: आन्दोलन सफल भयो र देशमा बहुदल आयो।

'तर त्यो उत्साह तोडिन केहि महिना पनि लागेन', नयन भन्छन्, 'नेताहरूको व्यवहारका कारण सबै सपना तोडियो। आममान्छेको स्थिति जस्ताको तस्तै रह्यो।' 

उलार तिनै अभागी आममान्छेको भोगाइ हो, जो आफ्नो दु:ख चिन्छन्, कारण चिन्दैनन्।

प्रेमललवा तिनै अभागीमध्येको हो, जसको जीन्दगी बारबार उलार भइरहन्छ। 

आफू पाँच छ, बर्षको छँदा आफ्नो बाबुले भनेको प्रेमललवालाई धमिलो सम्झना छ– 'बेटा, हाम्रो घर त मेन बजार थियो।' 

तर बाबुले त्यसो भनिरहँदा उनीहरू सुर्खेतरोडमा सरिसकेका थिए।  त्यतिखेर ऊ कारण सोध्न सक्ने उमेरको थिएन। हुँदाहुँदा आफ्नो पालामा त प्रेमललवा सुर्खेतरोडबाट कोरियनपुरवा र कोरियनपुरवाबाट परसपुर धकेलियो।

'किन यस्तो भइरहेछ, किन ऊ लगातार किनार लागिरहेको छ?', प्रेमललवा सोचिरहन्छ।

तर क्यै गरे पनि कारण पत्ता लगाउन सक्दैन। खालि परपर धकेलिइरहन्छ मात्र। उल्टै राजेन्द्रराज र उसका परिवारलाई 'फिरिमा' टाँगामा सयर गराइरहन्छ।
तर अहिले स्थिति त्यस्तो छैन। 

०४६ सालदेखि ०७३ सालसम्म आइपुग्दा मधेसको चेतनामा धेरै परिवर्तन आइसकेको छ। प्रेमललवाहरूले  आफु किनार पर्नुको धेरथोर कारण पनि पहिल्याइसकेका छन्।बेलाबखत भइरहने मधेस विद्रोहले त्यही संकेत गर्छ।

उलारबारे समालोचक पुरुषोत्तम सुवेदीको प्रतिक्रिया नयनलाई असाध्यै चित्तबुझ्दो लाग्छ।

'उलार मधेस आन्दोलनको पूर्वपेटिका हो। मधेस विद्रोह किन भयो भन्ने कुराको संकेत उलारमा पाउन सकिन्छ', सुवेदी भन्छन्, 'मधेसलाई उपेक्षित गरियो। राजनीतिमा उनिहरूको उपस्थितिलाई गौण बनाइयो। सधैँ भोट बैंकको रूपमा प्रयोग गरियो। तसर्थ मधेसमा एक प्रकारको असन्तुष्टि जन्मिइराखेको थियो।' 

कुनै समयमा कुनै राज्यसत्ताले अख्तियार गरको नीतिबाट पुस्तौंपुस्ता प्रताडित भइरहनुपर्ने अवस्थाले नयनलाई खुब पिरोल्छ। उनलाई लाग्छ, 'मधेस पछाडि पर्नुको कारण अशिक्षा पनि हो। अशिक्षाको चुरो भाषासँग जोडिएको छ।'

यसको व्याख्या गर्न उनको आफ्नै अनुभव छ। 

नयन प्राथमिक तहमा पढ्दै गर्दा उनका प्रशस्त मधेसी सहपाठी थिए। तर कक्षा चढ्दै गर्दा उनीहरूको संख्या बर्षैपिच्छे घट्दै गयो। पन्ध्र–बीस जना मधेसी साथीमध्ये एसएलसी दिने बेलासम्म त एक दुई मात्रै रहे। 

नेपाली भाषाको पाठ्यक्रम उनीहरु सहज महसुस गर्दैनथे। 

'यति चर्को ड्रप आउट दरको मूल कारण भाषा नै थियो। आजको स्थिति पनि त्यो भन्दा खास फरक छैन', उनी भन्छन्, 'तत्कालिन सत्ताको खराब नीतिको परिणाम आज पनि मधेसी विद्यार्थीहरूले भोगिरहेका छन्।'

उनले मुजफ्फर रजमीको पंक्ति सम्झिए,

लम्हों ने खता कि थी

सदियों ने सजा पाई...

'मधेसमा आज पनि समस्या छ। प्रशस्त छ। लेखकले त आफ्नो ठाउँबाट औंल्याउने मात्रै हो', नयन भन्छन्, 'फेरि पनि समाधानको पहल गर्ने जिम्मा राजनीतिज्ञकै हो।' 
प्रेमललवा र द्रौपदी नयनले देखेजानेकै पात्र हुन्। 

दुवैको उमेर ढल्किसक्यो। सन्तान दरसन्तान पनि भइसके। 

'तर मेरो स्मृतिमा ती त्यही उमेरमा छन्, जस्तो उपन्यास लेख्दा थिए। लेखकको दिमागमा पात्रहरू स्थिर भएर बस्दा रहेछन्', नयन भन्छन्, 'स्वरूप बदलियो होला, तर तिनको दु:ख आज पनि त्यस्तै छ, जस्तो पहिले थियो।' 

उनीहरू अहिले के गर्दै छन्, नयन जान्दछन्।

कहिलेकाहीँ प्रेमललवासँग भेट हुन्छ। ऊ अझै टाँगा चलाउँदैछ। नेपालगञ्जमा दिनानुदिन टाँगाको संख्या घट्दैछ। इलेक्ट्रोनिक रिक्सासहितका आधुनिक साधनहरूले टाँगालाई विस्थापित गर्दै छन्। यसले गर्दा प्रेमललवाको रोजगारी संकटमा पर्दै गएको छ। 

द्रौपदीको दु:ख लेख्ने हो भने त अर्को उलार तयार हुन्छ। 

उलार छापिएको केही वर्ष नबित्दै द्रौपदीमाथि महाविपद् आइलाग्यो। द्रौपदीहरूका कारण टोलको बदनाम भएको भन्दै स्थानीयले दुर्व्यवहारपूर्ण तवरले गाउँ निकाला गरे। प्रशासन र राजनीतिक दलसमेतले द्रौपदीहरूलाई विस्थापित गर्ने कार्यमा स्थानीयलाई सघाए। 'नेपालगञ्जमा अहिले त्यो टोल छैन। तर द्रौपदीहरू अहिले पनि देहव्यापारमै छन्', नयन भन्छन्, 'नेपालगञ्जबाट निस्किएपछि उनीहरू हाईवेकै विभिन्न ठाउँमा छरिन पुगे।'

नयनको बुझाइमा प्रेमललवा र द्रौपदीहरूको जीवनमा कुनै तात्त्विक अन्तर आएको छैन। विकास के हो ? उनिहरूलाई थाहै छैन। बरु समस्याहरू थपिएका छन्। २० बर्षको अन्तरालमा पनि सिंगो समुदायको जीवन जस्ताको तस्तै रहनु बिडम्बना नै हो। 

'विकासको प्रतिफल सबैले महसुस गर्ने अवस्था नआएसम्म उनीहरूको जीवनस्तर त्यस्तै रहनेछ, जस्तो उलारमा थियो', नयन भन्छन्, 'म उनीहरूलाई सुखी देख्न चाहन्छु। आफ्ना पात्रहरू संमृद्ध बनून्, सुखी बनून् भन्ने कुन लेखकलाई लाग्दैन र!' 

(थाहा सञ्चार नेटवर्कको कार्यक्रम 'सुन्नेलाई सुनको माला' बाट।)

सुन्नुहोस् उपन्यास उलार। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.