|

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि उनले सल्लाहकार र सचिवालय टिम निर्माण गरेका छन्। सल्लाहकार नियुक्तिको काम लगभग टुंगिएको छ भने सचिवालय आवश्यकताअनुसार बढाउने तयारी छ।

प्रधानमन्त्रीले अघि सारेका योजना र राखेका लक्ष्य हासिल गर्न सल्लाहकार र सचिवालयको भूमिका महत्वपूर्ण हुन्छ। साउन १९ गते दोश्रो पटक सत्ता आरोहण गरेका प्रचण्डले आफूले काम गर्न धेरै समय नरहेको बताएका छन्। उनको योजनामा सघाउन कस्तो छ त उनको सल्लाहकार र सचिवालयको टिम? 

चक्रपाणि खनाल (बलदेव), प्रमुख राजनीतिक सल्लाहकार

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल माओवादी केन्द्रका प्रभावशाली नेता हुन्। तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा उनी माओवादी सेनाका डेपुटी कमाण्डर थिए।

उनीसँगै डेपुटी कमाण्डर भएकाहरु वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्माहरु शान्ति प्रक्रियामा आएपछि पनि विभिन्न भूमिकामा रहे। तर उनले धेरै भूमिका पाएका थिएनन्। माओवादीभित्र बुद्धिजीवी वर्गमा पर्ने उनी यसअघि प्रदेश नम्बर ५ का इन्चार्ज तोकिएका थिए। राजनीतिक वृत्तमा भइरहेका हरेक गतिविधिका बारेमा जानकारी गराउनुका साथै महत्वपूर्ण विषय र क्षणमा उचित सल्लाह दिने काम उनको हो। 

रामदीप आचार्य, जनसम्पर्क सल्लाहकार

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामदीप आचार्य माओवादीबीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रमा उनी रामबहादुर थापा बादल समूहबाट आएका हुन्। तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वदेखि नै माओवादीमा लागेका उनी माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष समेत बनिसकेका छन्।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका उनी शालिन स्वभावका मानिन्छ। जनस्तरबाट प्रधानमन्त्रीलाई सुझाव तथा गुनासो राख्न आउनेहरुलाई आवश्यक सम्पर्क मिलाउने र उनीहरुको सुझाव प्रधानमन्त्रीसमक्ष पुर्‍याउने काम जनसम्पर्क सल्लाहकारको हो। 

 

गोविन्द आचार्य, प्रेस सल्लाहकार

माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार हुन्। जनादेश साप्ताहिक, जनदिशा दैनिक, संश्लेषण मासिकका सम्पादकको भूमिका निभाइसकेका उनी नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका आचार्य प्रेस काउन्सिलका पूर्व सदस्य समेत हुन्।

दाङ घर भएका आचार्यले सशस्त्र द्वन्द्वकालमा झण्डै डेढ वर्ष जेलजीवन बिताएका छन्। प्रधानमन्त्रीका गतिविधिलाई सञ्चारमाध्यममा जानकारी गराउनुका साथै प्रेस सम्बन्धी आवश्यक सल्लाह दिनु प्रेस सल्लाहकारको कर्तव्य हो। 

डा. ऋषिराज अधिकारी, परराष्ट्र सल्लाहकार

सन २००८ को जनवरी देखि २०१२ फेब्रुअरीसम्म चार वर्ष मलेसियाको लागि नेपाली राजदूतको जिम्मेवारी निभाएका डा.ऋषिराज अधिकारी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार हुन्। परराष्ट्र अध्ययन मामिला प्रतिष्ठानका कार्यकारी निर्देशकका रुपमा सन् २०१२ को अप्रिल देखि २०१६ सम्म जिम्मेवारी सम्हालिसकेका अधिकारीले युनिभसिर्टी अफ फिलिपिन्सबाट कृषि र व्यवस्थापनमा पीएचडी गरेका छन्। छिमेकी देशसँगको सम्बन्ध तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा प्रधानमन्त्रीलाई सल्लाह दिने काम परराष्ट्र सल्लाहकारको हो। 

 

डा. श्रीराम पौडेल, आर्थिक विकास सल्लाहकार

प्रधानमन्त्री प्रचण्डका आर्थिक विकास सल्लाहकार डा. श्रीराम पौडेल अर्थविद् हुन्। अर्थक्षेत्रमा विशेष दख्खल भएका पौडेलले यसअघि अर्थमन्त्रालयको आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन्। प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकारले प्रधानमन्त्रीलाई अर्थसँग सम्बन्धित विषयमा सल्लाह सुझाव दिने गर्छन्।

 

 

जोखबहादुर महरा, प्रमुख स्वकीय सचिव

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरा प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव हुन्। उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुअघि पनि प्रचण्डका स्वकीय सचिव नै थिए। प्रधानमन्त्रीका कार्यक्रम तथा कार्यतालिका निर्माण गर्नुका साथै आवश्यक योजनाबारे जानकारी गराउने काम प्रमुख स्वकीय सचिवले गर्छन्।

 

साकार दाहाल (प्रकाश) स्वकीय सचिव

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव साकार दाहाल (प्रकाश) सशस्त्र द्वन्द्वका एक छापामार हुन्। सशस्त्र द्वन्द्वदेखि नै माओवादीमा लागेका उनी प्रचण्डका पुत्र समेत हुन्। हाल उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन्।

 

रमेशकुमार मल्ल, स्वकीय सचिव 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेशकुमार मल्ल विद्यार्थी क्षेत्रमा लोकप्रिय नाम हुन्। माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष समेत बनिसकेका मल्लले हालै मात्र विद्यार्थी राजनीतिबाट बिदा लिएका हुन्। उनी प्रखर शालिन स्वभाव भएका व्यक्तिका रुपमा चिनिन्छ।

 

दिनेश श्रेष्ठ, स्वकीय उपसचिव

प्रधानमन्त्री प्रचण्डका फोटोग्राफर दिनेश श्रेष्ठ प्रधानमन्त्री सचिवालयका स्वकीय उपसचिव हुन्। उनी यसअघि प्रचण्ड र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि फोटोग्राफरको भूमिकामा थिए। 

 

मनहरि तिमल्सिना, स्वकीय उपसचिव

प्रधानमन्त्री प्रचण्डका स्वकीय उपसचिव मनहरी तिमल्सिना माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन्। विद्यार्थी जीवनकालदेखि राजनीतिमा लागेका उनी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य समेत भइसकेका छन्।

प्रेस सेन्टर नेपालका केन्द्रीय पार्षद समेत रहेका तिमल्सिना जनसाँस्कृतिक महासंघ ४ नम्बर प्रदेशका संयोजक हुन्। उनले प्रधानमन्त्रीका हरेक गतिविधिहरुलाई सञ्चारमाध्यममा पठाउने काम गरिरहेका छन्। 

पूर्ण कार्की, स्वकीय उपसचिव

माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य पूर्ण कार्की प्रधानमन्त्री प्रचण्डका स्वकीय उपसचिव हुन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि पनि उनी प्रचण्डका निजी सचिवालयमा थिए। उनको भूमिका खासै तोकिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.