काठमाडौं : शान्ति प्रक्रियामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान जारी गर्दा सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभामा पराजय व्यहोर्नुको मुख्य जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने आवाज पार्टीभित्र र बाहिरबाट आइरहेको छ।
पार्टीले दुवै निर्वाचनमा पराजय व्यहोर्नुपरेको सन्दर्भमा समीक्षा गर्न केन्द्रीय कार्यसमितिका सदस्यहरूले माग गरे पनि सभापति देउवा त्यस्तो मागलाई सहजै संबोधन गर्न टसको मस पनि देखिँदैनन्। पराजको कारण नै सत्तामा बसेर देउवाले लिएका निर्णय अलोकप्रिय हुनु हो भनेर आलोचना भइरहेको छ तर सभापति देउवा निर्वाचनको समीक्षा र कमजोरी केलाउन लाग्नुभन्दा आगामी साताभित्रै आह्वान हुने संघीय संसदको अधिवेशनअघि नै संसदीय दलको नेता भएर ‘पावर इन्ज्वाय’को तयारीमा छन्।
निर्वाचनको मत परिणामलाई असफलताको रूपमा ग्रहण गरी पद त्याग गर्न युवा नेताले निरन्तर दबाब दिए पनि देउवा पुनः संसदीय दलको नेता हुने पक्का छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जम्मा २३ स्थानमा विजय हासिल गरेको कांग्रेसले समानुपातिकमा ४० सिट पाएको छ। प्रत्यक्षतर्फ जितेका २३ मध्ये ९ जना देउवा निकटका छन् तर समानुपातिकतर्फका भने ४० मध्ये २२ जना देउवा समूहकै छन्।
पार्टीभित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि उनको समूहबाट कसले देउवालाई ‘काउण्टर’ दिने भन्ने निश्चित छैन। पार्टीको मर्यादाक्रममा तेस्रो नम्बरमा महामन्त्री डा. शशांक कोइराला रहेका छन् तर पार्टीका पूर्वउपसभापति तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवालाई चुनौती दिने घोषणा गरेका छन्। उनको यो घोषणा आकांक्षा मात्र होला भन्न सकिन्छ।
‘पार्टी सभापतिसमेत रहेकाले शेरबहादुर देउवाले आफैँ दलको नेता बन्न चाहँदा उहाँ नै निर्वाचित हुनेमा कुनै शंका छैन’, देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले थाहखबरसँग भने, ‘पार्टीभित्रको गुटबन्दीको अन्त्य, विवाद समाधान र सबै साथीहरूलाई संयोजन गर्न पनि उहाँ नै दलको नेता हुनुपर्छ भनेर बहुसंख्यक संसद सदस्यको भावना छ।’ उनले पार्टी सभपाति देउवाले संसदीय दलको नेता फलानो उठ्नुपर्छ भनेर प्रस्ताव नगरेसम्म अन्य साथीहरूले उनीसँग प्रतिस्पर्धा नगरे उचित हुने बताए।
देउवाको पक्षमा ६३ जना सांसदमध्ये ३१ जना खुलेर समर्थनमा छन्। तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलासँग ३, प्रभावशाली नेता खुमबहादुर खड्कासँग ३ र निर्वाचनको संघारमा मात्र कांग्रेसमा पुनर्आगमन गरेका विजयकुमार गच्छदार १ जना छन्। ४ सांसदहरू कतै पनि खुलेका छैनन्। पौडेल समूहमा भने २२ सांसद खुलेर पक्षमा उत्रने देखिन्छ।
देउवा आफैँ वा उनले खडा गरेको संसदीय दलको नेताको उम्मेदवारलाई टक्कर दिन पौडेल समूहले खड्का, सिटौला, गच्छदार र हालसम्म कतै नखुलेका सबै सांसदलाई आफ्नो पक्षमा ल्याउनुपर्छ। तर पौडेल समूहमा त्यस्तो सर्वसम्मत उम्मेदवार अहिलेसम्म देखिएको छैन। पार्टी महामन्त्री डा. शशांक कोइराला हालसम्म मौन बसेका छन् तर प्रकाशमान सिंहले भने देउवासँग दलको नेतामा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन्।
कुन सांसद कता?
देउवा निकट सांसदहरू
रामचन्द्र पौडेल समूहका
सिटौला समूहका
खुमबहादुर समूहका
गच्छदार समूह
कुनै पनि समूहमा नखुलेका
तपाईंको ईमेल गोप्य राखिनेछ ।