|
जीर्ण अवस्थामा रहेको डिभिजन सडक कार्यालय शिवपुर।

कपिलवस्तु : दशवर्षे युद्धका वेला विस्थापित भएको कपिलवस्तुको शिवपुरस्थित डिभिजन सडक कार्यालय हालसम्म पनि पुनः स्थापित भएको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिभिजन सडक कार्यालयलाई साबिककै स्थानमा पुनःस्थापन गर्न निर्देशन दिए पनि अहिलेसम्म पुनः स्थापना नभएको हो।

मुलुकमा शान्ति स्थापना भएको एकदशक बितिसक्दा पनि शिवराज नगरपालिका, १ साविक शिवपुर गाविसस्थित सडक डिभिजन कार्यालय अहिले बेवारिसेजस्तै भएको छ। करौडौँको भौतिक संरचना जीर्ण बन्दासमेत सरकार मौन छ। तत्कालीन माओवादीले ०५८ मा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरमा आक्रमण गरेका थिए। आक्रमणबाट कार्यालयमा आंशिक क्षति पुगेको भए पनि असुरक्षाको कारण देखाउँदै बुद्धभूमि नगरपालिका, गोरुसिंगेस्थित सेनाको क्याम्पनजिक कार्यालय सारिएको थियो।

कार्यालय एकातिर काम अर्कैतिर

डिभिजन सडक कार्यालय शिवपुरले अहिले जिल्लाको गोरुसिंगेमा कार्यालय स्थापना गरी कामकारबाही गरिरहेको छ। कागजपत्रमा पुरानै ठेगाना लेखिए पनि काम भने गोरुसिंगेबाट भइरहेको छ। यसले कार्यालयको वैधानिकतामा समेत प्रश्न उब्जिएको छ। पटक–पटक कार्यालयलाई शिवपुरमै पुनःस्थापन गर्न माग गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीय कृष्ण थापाले बताए। ‘जिल्लादेखि केन्द्रसम्म पटक–पटक जानकारी गराउँदासमेत पुनःस्थापनाको लागी ठोस पहल भएन,’ थापाले भने ।

दुई जिल्लाका कार्यरत सडक कार्यालय गाभ्ने सरकारी योजना

कपिलवस्तुको शिवपुरस्थित डिभिजन सडक कार्यालयले हाल अर्घाखाँची र कपिलवस्तु गरी दुई जिल्लामा काम गर्दै आएको छ। प्रादेशिक सरकारले बुटवलस्थित डिभिजन सडक कार्यालयसँग मर्ज गर्ने तयारी थालेको डिभिजन सडक कार्यालय शिवपुरका कार्यालय प्रमुख रमेश प्रसाद पौडेलले बताए।

सडक विभाग आफैँले कार्यालय व्यवस्थित गर्न शिवपुरको भवनको पुनःस्थापना गर्न पहल गरेको डिइ पौडेलले बताए। आगामी आर्थिक वर्ष ०७५/०७६ मा सरकारले हाल कपिलवस्तु र अर्घाखाँची जिल्लामा सेवारत डिभिजन सडक कार्यालय गाभ्ने तयारी गरी प्रतिवेदन तयार पारिँदै गरिएको छ।

‘आगामी आवमा अर्घाखाँचीतर्फको कामकारबाही पाल्पास्थित डिभिजन सडक कार्यालयले हेर्ने र कपिलवस्तुको बुटवलस्थित डिभिजन सडक कार्यालय रुपन्देहीले हेर्ने गरी कार्यालय गाभिने सरकारी योजना रहेको छ, उनले भने। सोहीबमोजिम सडक विभागले प्रतिवेदन तयार पार्दै गरिएको समेत डिभिजन सडक कार्यालय शिवपुरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.