|

विराटनगर :  मोरङमा शल्यक्रिया (अप्रेसन) गरेर शिशु जन्माउने क्रम बढेको छ। मोरङका विभिन्न अस्पतालबाट प्राप्त २७ महिनाको तथ्यांकअनुसार ३२ प्रतिशत अर्थात् १३ हजार १७ गर्भवतीले पेट काटेर शिशु जन्माएका छन्। यस्तै झण्डै ६८ प्रतिशत अर्थात् २७ हजार ५ सय ३० महिलाको शिशु सामान्य अवस्थामा जन्मिएको पाइएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकअनुसार २०७२\०७३ मा १७ हजार ७२८ मध्ये पाँच हजार ९५९ गर्भवतीले शल्यक्रिया गरेर शिशु जन्माएका थिए। यस्तै २०७३\०७४ मा १७ हजार ४ सय ११ मध्ये ५ हजार ५२९ जनाले  शिशु शल्यक्रियामार्फत जन्मिएका थिए। ७४\७५ को असोजसम्म पाँच हजार ४०८ मध्ये १ हजार ५२९ शिशु शल्यक्रिया गरी निकालिएको जनस्वास्थ्य कार्यालयका तथ्यांक शाखाका कर्मचारी दिपक भट्टराईले जानकारी दिए। 

अवस्था राम्रो होइन

विश्वव्यापी मान्यताअनुसार १० प्रतिशत गर्भवती महिलाले शल्यक्रिया गरेर शिशु जन्माउनुलाई सामान्य मानिन्छ। तर, मोरङमा बच्चा जन्माउनेको दरमा ३२ प्रतिशत हुनु असामान्य भएको विशेषज्ञहरू बताउँछन्। ‘सामान्यतया विश्वव्यापी मान्यता भनेको १० प्रतिशत मात्रै महिलाले 'अप्रेसन' गरेर बच्चा जन्माउनु ठीकै हो,’ प्रसूति रोग विशेषज्ञ डाक्टर साह भन्छन्, ‘त्योभन्दा माथिलाई सहज मानिँदैन।’

डाक्टर साहको भनाइमा विराटनगरमा बाहिरी जिल्लाबाट 'क्रिटिकल केस'का गर्भवतीलाई ल्याउने गरेका कारण प्रतिशत बढेको हुनसक्छ। ‘अझै पनि ग्रामीण क्षेत्रका कतिपय गर्भवती महिला अस्पतालसम्म आउँदैनन्। घरमै बच्चा जन्माउँछन्,’ साहले भने, ‘यसकारण पनि यो संख्या र प्रतिशतमा धेरै अन्तर छैन।’

डाक्टर साहका अनुसार दुखाइ हुने भएको कारण अप्रेसनका लागि गर्भवती महिला र आफन्तको दबाब आउने गरेको बताए।  ‘सामान्य अवस्थामा 'डेलिभरी' हुने खालका गर्भवती महिलाले पनि दुखाइ कम हुने भन्दै अप्रेसन गर्न दबाब दिन्छन्,’ डाक्टर साहले भने, 'ज्याेतिषीले दिएको साइतमा बच्चा जन्माउन खोज्नेले पनि अप्रेसनका लागि दबाब दिने गरेका छन्।'  सामान्य अवस्थामा डेलिभरी गर्न सकिने महिलालाई भने 'काउन्सिलिङ' गर्ने गरेको उनले बताए। 

मोरङ सहकारी अस्पतालमा मात्रै गत वर्ष झण्डै ६२ प्रतिशत गर्भवती महिलाले शल्यक्रिया गरी बच्चा जन्माएका थिए। ‘स्वास्थ्यको दृष्टिकोणले प्राकृतिक हिसाबले नै बच्चा जन्माउनु राम्रो हो,’ साहले भने, ‘अप्रेसन गर्दा संक्रमण हुनसक्छ, अस्पतालमा साता दिनसम्म बस्नुपर्ने बाध्यता हुन्छ, अर्कोतिर पुनः गर्भवती भएमा 'नर्मल' हुने अवस्था कम भएर जान्छ।’ साहका अनुसार सामान्य अवस्थामा डेलिभरी हुने महिला भन्दा अप्रेसन गरेर बच्चा जन्माउने महिलाको शारीरिक अवस्था पनि कमजोर हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.