|

रुकुम : यहि चैत्र ८ गतेदेखि सुरु हुने एसईई परीक्षामा सहभागी हुने रुकुम पूर्वका परीक्षार्थीहरू रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको परीक्षा केन्द्र सल्ले आउनु पर्ने भएका छ। आंशिक विषयका परीक्षार्थीहरू थोरै भएकोले उनीहरूको सहजताका लागि दुवै जिल्लाको परीक्षा एउटै केन्द्र रुकुम पश्चिममा नै हुनेभएकाले सदरमुकाम मुसिकोटमा आउनुपर्ने भएको हो। 

जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले दुवै रुकुम जिल्लाका १ सय २१ आंशिक परीक्षार्थीलाई रुकुम पश्चिमको एउटै परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको  बताए। नियमित तर्फका परीक्षार्थी भने आफ्नै जिल्लामा रहेका परीक्षा केन्द्रमा परीक्षा दिने छन्।

दुवै जिल्लाबाट नियमित र आंशिक तथा प्राविधिकतर्फका गरी ५ हजार ३ सय ९२ परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। ७४ विद्यालय रहेको रुकुम पश्चिममा नियमित ४ हजार २ सय ३८, प्राविधिकतर्फ ४८ र आंशिक तर्फ ८५ जना परीक्षार्थी सहभागि हुने भएका छन्। यस्तै २४ विद्यालय रहेको रुकुम पूर्वमा ९ सय ४३ नियमित, ४२ जना प्राविधिक र ३६ जना आंशिक तर्फका परीक्षार्थी सहभागी हुने छन्।

२२ वटा परीक्षा केन्द्र रहेको रुकुम पश्चिममा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। यसै गरी ५ वटा परीक्षा केन्द्र रहेको रुकुम पूर्वमा पनि सम्बन्धित बिद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरिएको छ।

यस्तै रुकुम पश्चिममा स्यालाखदी र मुसिकोटको सल्ले गरी २ वटा परीक्षा केन्द्र नयाँ कायम गरिएको छ। सल्ले परीक्षा केन्द्रमा रुकुम पूर्व र रुकुम पश्चिमका आंशिक तर्फका परीक्षार्थी सहभागी हुने छन्। परीक्षा शान्तिपूर्ण र मर्यादित बनाउन परीक्षार्थीहरूका लागि जिल्ला शिक्षा कार्यालय रुकुमले सचेतना कार्यक्रम समेत सञ्चालन गरेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.