‘सकुन्जेल बाँसको काम छाडिन्न’
‘सकुन्जेल बाँसको काम छाडिन्न’
मकवानपुर (सिलिंगे) : लालबहादुर र झगडीमाया चेपाङ, त्यस ठाउँकै लागि यस्ता जोडी हुन्, जो बुढेसकालमा पनि हाँसखेल र ख्याल ठट्टा गर्न पछिपर्दैनन्। पेसा गर्न पनि गाउँमा अरू तन्नेरीभन्दा कम छैनन्। आफैँ कमाएर आफ्नो खर्चको जोहो गर्छन् उनीहरू।
मकवानपुर जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिका- ५ सिलिंगेका ६७ वर्षीय लालबहादुर चेपाङ एउटा घरको एक छेउमा बसेर प्यार (चिउरीबाट तेल निकाल्न प्रयोग गर्ने बाँसको भाँडो) बुन्दै थिए। ‘अदर (अर्डर) गर्या छ, त्यही बुनेको’, लालबहादुरले भने। चाउरिएर अनुहार मुजा परेकी श्रीमती झगडीमाया घरको पिँडीमा बसेर मान्द्रो बुन्दै थिइन्। उनीहरूको झण्डै चार दशक यसैगरी बाँसको काम गरेर बितेको छ। ‘अझै सकुन्जेल बाँसको काम छाडिन्न पो’, लालबहादुरले भने। उनीहरू मुख्य गरी प्यार, मान्द्रो, डोको, नाम्लो ,चाल्नु, नाङ्लो, जावी (झोला) बुन्न सिपालु छन्।
आँखा कमजोर भइसक्दासमेत उनीहरूकहाँ यस्ता सामान बुन्न अर्डर आउने गरेको छ। एघारवटा बच्चा जन्मिए। अहिले उनीहरूका तीन छोरी र दुई छोरा जीवित छन्। अधिकांश छोराछोरीले आआफ्नो काम सुरु गरिसकेका छन्। सँगै भएको छोरा पनि पसल गरेर बसेका छन्। तन्दुरुस्त देखिने उनीहरू अझै बाँसको पेसा छाड्न चाँहदैनन्। एकछिन गफिएपछि झगडीमायाले भनिन्, ‘कानै सुन्दैन, आँखाले राम्ररी देख्न सक्दैन, अब त गाह्रो पो छ।’ तैपनि उनले बाँसबाट जावी र मान्द्रो बुन्न भने छाडेकी छैनन्।
झगडीमायाले यो बुढेसकालमा पनि वर्षमा १२ /१५ वटा मान्द्रो बुन्छिन्। जावी कति बुन्छिन्, हिसाबै छैन। जवानीमा धेरै बुनेर कमाएको उनको अनुभव छ। एउटा मान्द्रो सक्न उनलाई कम्तीमा तीन दिन लाग्छ। ‘बसिबियाँलो, केलाई बस्नु भनेर पो’, झगडीमायाले मान्द्रोमा चोया थप्दै प्रतिक्रिया दिइन्।
उनले बोलुञ्जेल सिधा हेर्नुभएन। हात चलाउन पनि रोकिनन्। बेलाबेलामा श्रीमानले उनकै भाषामा जिस्क्याउँथे अनि उनी पनि चेपाङ भाषामा जवाफ फर्काउँछिन्। 'के भन्या?'
‘उही त हो नि रमाइलो’ लालबहादुरले चाउरिएका गाला खिस्स पार्दै भने। लालबहादुर हक्की स्वभावका छन्। झगडीमाया भने लजालु। चउरिएकोअनुहारमा प्रेमको चमक अझै देखिन्थ्यो।
दुई छेउमा बसेर काम गर्दै थिए। ‘सँगै बसेर काम गर्दा हुन्न?’ वृद्ध जोडीको तस्वीर लिने चाहनाका साथ गरेको प्रश्नमा दुवै जना मुर्छा परेर हाँसे। लालबहादुरले मुस्काउँदै भने, ‘बुढेसकालमा पनि के सँगै र!’
अलि आग्रह गरेपछि बुन्दै गरेको प्यार र बाँसको चोया बोकेर बुढी भएतिर आए लालबहादुर। बुढा नजिक आएकोमा झगडीमाया खुबै लजाइन्। दुवै जनाले बाँसको काम गर्न थालेको एउटा तस्वीर क्यामरामा कैद भयो तैपनि झगडीमायाले लालबहादुरलाई नजिक नआउन भनिन्।
लजाउँदै थिइन् उनी। अलि विस्तारमा कुरा सुरु भयो। अर्डरमा प्यार बुन्न थालेका लालबहादुर एउटाको २०० रुपैयाँ लिन्छन्। अब अर्काे वर्ष त्यसको मूल्य ५०० रुपैयाँ बनाउने उनको चाहना छ। अघिल्लो वर्ष २०० का दरले १५ वटा प्यार बेचेँ। अरू पनि बाँसका सामान बेचेँ तर हिसाब किताब छैन। पैसाले के गर्ने? ‘उही हो, नुन मसलो, कहिलेकाहीँ जाँड, रक्सी, चटपट खाने’, लालबहादुरले खुलेर भने।
चेपाङ गाउँमा चटपटे खाने लहर चलेको छ। उमेर पुगेकाहरू झन् मनपराउँदा रहेछन्। खाजा नै चटपट हुने रहेछ। बुढेसकालमा पनि बाँसको काम नछाडेका उनले भने, ‘हिँड्न सकुन्जेल त गर्नुपर्यो नि!’ उनले बाँसको काम सिकेको ४२ वर्ष भयो। बुबा ताक्सिङ प्रजाबाट बाँसको काम सिकेका थिए उनले। ताक्सिङ बाँसको कामका लागि गाउँकै अगुवा मानिन्थे। अहिले उनी छैनन्। उनको बिँडो थाम्दै छन् यी जोडी।
मान्द्रो,जावी बुन्न झगडीमायालाई पनि ताक्सिङले नै सिकाएका थिए। विहे भएर आएपछि झगडीमायाले सिकेको बताइन्। उनीहरूमा सकुन्जेल छोराछोरीबाट आश गर्नुहुन्न भन्ने अठोट छ। नसकेपछि जे हुन्छ, हुन्छ भन्ने सोच यो दम्पत्तीमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।