|

भक्तपुर : शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ।

परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित गर्नुपरेको आयोगका अध्यक्ष ताना गौतमले बताए।

आयोगले अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह)को परीक्षा चैत २३ गतेका लागि तोके पनि विभिन्न विद्यार्थी संगठनहरू र शिक्षक संगठनहरूले विरोध गर्दै आएका थिए। परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकको एक समूह र विद्यार्थी संगठनहरूको समर्थनमा एक समूह अनशनमा थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र अर्थ मन्त्री युवराज खतिवडासहित आयोगका पदाधिकारीलाई बोलाएर यसबारे छलफल गरेका थिए।

शिक्षा ऐनको आठौँ संशोधनका आधारमा पुरै खुल्ला विज्ञापन गर्ने कि नवौं संशोधनअनुसार विज्ञापन गर्ने भन्नेबारेमा छलफल भएको र अब आन्तरिक एवं खुल्ला विज्ञापनसँगसँगै गर्ने योजना भएकाले अहिलेको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी पाएको आयोगको भनाइ छ।

आयोगले परीक्षामा शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थाअनुसार १५ हजार ६८९ शिक्षक र नवौं संशोधनले सात हजार ५९७ थप कोटा गरी २२ हजार ७६ पदका लागि परीक्षा हुने र परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुने जानकारी गराएको थियो।

परीक्षा स्थगित भएसँगै अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित भएको अध्यक्ष गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.