कञ्चनपुर ः प्राचीनकालमा ढाल तरवारले लडिने युद्धको प्रतीकका रूपमा देखाइने प्रदेश ७ को छलिया नृत्य युवा पुस्ताबीच लोकप्रिय बनेको छ। चाडपर्व, विवाह, व्रतबन्ध, जात्रा तथा पर्वमा देखाइने नृत्य हाल विभिन्न साँस्कृतिक कार्यक्रममा देखाउन थालिएको छ।
प्राचीन सैनिकहरुको वेशभूषा धारण गरेका नर्तकहरुले दमाहा, नरसिंह र सहनाइको तालसँगै ढाल तरबारको करतव देखाई दर्शकलाई मन्त्रमुग्ध पार्ने गरेका छन्। प्राचीनकालमा युद्धमा सहभागी हुने सैनिकले छलकपट गरी युद्ध जित्ने कला नै पछि नृत्यका रूपमा देखाउन थालिएको संस्कृतिका जानकार टेकबहादुर हमालले बताए। युद्ध जितेपछि राजमहलमा सैनिकहरुको हौसला बढाउन वीरताको वर्णन गरी देखाइने नृत्य विस्तारै बाह्य समाजका लागि खुला गरिएको उनले बताए।तर व्यावसायिक रूप लिएपछि यसको मौलिकता हराउँदै गएको छ', उनले भने, ‘सांस्कृतिक धरोहरका रूपमा रहेको नृत्यलाई बचाउन आवश्यक छ।’
छलिया नृत्यमा युद्ध लड्दा देखाइने कलाबाजी, वाद्यवादनको समायोजन र परम्परागत वीरवीरांगनाहरुको जीवनीको जीवन्त वर्णन गरिन्छ। छलिया नृत्यमा परम्परागत पहिरनमा सजिएर दुई जनाले तरवारबाजी गर्ने, पाँच जनाले गीत गाउँदै वाद्यवादन बजाउने गर्छन्। छलिया नृत्य विशेष गरी दलित समुदायका औजी, दमाई लगायतले देखाउने गर्छन्। भारतको कुमाउँ–गढवाल लगायतका क्षेत्रमा समेत छलिया नृत्य लोकप्रिय रहेको छ।
तर 'ब्याण्डबाजा' र अत्याधुनिक 'साउण्ड सिस्टम'लाई अँगालेका युवाहरुले समेत वैवाहिक समारोहमा अनिवार्य छलिया नृत्यको माग गर्न थालेको एक दशक देखि छलिया नृत्य देखाउँदै आएका वीरमान दमाइले बताए। ‘विवाहमा छलिया नृत्य देखाएवापत १० हजार देखि १५ हजार रुपैयाँ कमाउँदै आएका छौं,’ उनले भने। छलिया नृत्य देखाएर गतिलो कमाइ हुन थालेपछि दलित समुदाय पुरानै पेशामा फर्किन थालेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।