|

जुम्ला : जिल्लाको कनका सुन्दरी -१ की बिनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो। उनी अहिले २० वर्षकी मात्र भइन्, तर उनले ६ वर्षअघि नै बिहे गरिसकेकी छन्। उनी दुई सन्तानकी आमासमेत भइसकेकी छन्।

गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। उमेर भर्खर १५ वर्षको थियो। गाउँकै १७ वर्षीय बलबहादुर भण्डारीसँग विवाह भयो। त्यतिखेर बिहे भनेको के हो उनलाई केही पनि थाहा थिएन। बाआमाको दबाबमा आफू बिहे गर्न बाध्य भएको उनले गुनासो गरिन्। ‘१६ वर्षको भएको वेला पहिलो सन्तानको रूपमा छोरा जन्माएँ। कलिलै उमेर भएकोले सुत्केरी हुन निकै कठिन भयो,’ उनले अतीत सम्झँदै भनिन्, ‘तीन वर्षपछि दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिए। श्रीमानले ८ कक्षासम्म पढेर छोड्नुभो। मेरो ६ कक्षामै पढाइ छुट्यो। न हातमा सीप छ न योग्यता नै। दुवैजना बेरोजगार । घरको आर्थिक अवस्था निकै नाजुक। कसरी जीन्दगी बिताउने?’

सानैमा बिहे गरेकोमा पछुतो

उनले सानैमा बिहे गरेकोमा पछुतो लागेको बताइन्। कलिलै उमेरमा बिहे गरेर बच्चा जन्माएको हुँदा उनको र बच्चाको स्वास्थ्य अवस्था कमजोर देखिएको छ। बच्चाहरूलाई कुपोषणले सताएको छ। आफ्नै बारीमा लगाएको अन्नले गुजारा नचलेपछि घर खर्च चलाउन भन्दै उनका श्रीमान् पाँच महिना अघि कामको खोजीमा कालापहाड (भारत ) गएका छन्। घरमा सासु ससुरा, देवर, नन्द, छोरा, छोरी र म छौँ बिहान बेलुकाको छाक टार्न पनि निकै मुस्किल पर्छ, उनले भनिन्।

सोही ठाँउकी पदमी बुढाको उमेर अहिले भर्खर १८ वर्षको भयो। उनको पनि तीन वर्ष अघि नै बिहे भइसकेको छ। उनको काखमा दुई वर्षकी छोरी छन्। श्रीमान् रामबहादुर बुढा वैदेशिक कामको सिलसिलामा एक वर्षदेखि भारतमा छन्। उनी ८ कक्षामा पढ्दै थिइन्। उमेर १५ वर्षको थियो। त्यतिखेरै पदमी र रामबहादुरका परिवारबीच कुराकानी चल्यो। उनीहरूको बिहे गरादिए।

बिहे गरेसँगै उनको पढाइ छुट्यो। बुहारीको रूपमा उनले घरमा खाना पकाउने, भाँडा माझ्ने, गाई बाख्राको गोठालो गर्ने, घाँस काट्ने काम उनको दिनचर्या बन्न थाल्यो। बिहे गरेपछि अझ खुसी हुने र आफ्नो र परिवारको सुन्दर भविष्‍यको कल्पना गर्ने अवस्था हो। तर, पवित्राका लागि बिहे साँच्चिकै बोझको रूपमा सावित भएको छ।

‘मलाई विवाह के हो ? किन विवाह गर्छन्? केही थाहा थिएन । बाआमाको आदेशले विवाह गरेँ। पढ्न पनि पाइनँ।’ उनले गुनासो गदै भनिन् ‘उमेर नपुगेर विवाह गर्नु र गराउनु दुवै बेठिक रहेछ। मैले गरेपनि मेरा सन्तानलाई उमेर नपुगेर बिहे गराउँदिन । केटाकेटीलाई राम्रोसँग पढाउँछु। शिक्षा नै ठुलो कुरा रहेछ।’

विनिता र पदमी मात्र होइन गाउँमा १५ वर्ष नपुग्दै बिहे गरेका तीन दर्जनभन्दा बढी आमाहरू छन्। यो गाँउमा मात्र होइन जिल्लाका ग्रामीण भेगमा उमेर नपुग्दै बिहे गर्न परिवारले नै प्रोत्साहन दिने गरेका छन्। केटीको उमेर नपुगे पनि केटा पक्षले कुरा चलाए आमाबाबुले नै बिहे गरिदिने गरेको पाइन्छ।

यो चलन संस्कारकै रूपमा चल्न थालेको छ। केही शिक्षित परिवारले छोराछोरीको पठनपाठनमा ध्यान दिने गरेको भए पनि अन्यले छोरीलाई घरमा (माइतीमा ) राख्यो भने बिग्रन्छन्। छिटै बिहे गरे पुण्य कमाइन्छ भन्ने रूढीवादी सोचले गर्दा पनि यहाँका किशोरीहरूको उमेर नपुग्दै बिहे हुने गरेको छ।

गरिब, दलित र निम्न आयस्तर भएका परिवारमा आमाबाबुले नै कलिलै उमेरमा बिहे गर्ने प्रवृत्ति बढ्दो भएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ। अलि पढेलेखेका र हुनेखाने घरका केटाकेटी पनि बढ्दो प्रविधिको प्रयोग र देखासिखीले गर्दा पढ्दापढ्दै बिहे गर्ने चलन धेरै रहेको स्थानीय शिक्षक कालीबहादुर भण्डारीले बताए। बढ्दो बालविवाह अहिले चुनौतीको रूपमा देखिएको उनको भनाइ छ। 

कलिलै उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ। उमेर नपुग्दै गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर हुनुका साथै त्यस्ता अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिने गरेको छ। उमेर नपुग्दै गरिने विवाहका कारण सम्बन्धविच्छेदका घटना पनि बढ्दै गएका छन्। सानैमा बिहे गर्ने केही वर्षपछि श्रीमानले सौता हाल्ने र त्यसपछि सम्बन्धविच्छेद हुने गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.