|

सोलुखुम्बु : वसन्त ऋतुमा सगरमाथासहितको हिमाल आरोहणका लागि ३८३ जना आरोही नाम्चेबाट उकालो लागेका छन्। एक्सपिडिसनहरूको पूर्व तयारीसँगै यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हुँदै आधार शिविर पुगिसकेका छन्।

बिहीबारसम्म आरोहीका ४० समूह सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपीसीसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन्। तीन वटा हिमाल आरोहणका लागि एउटै आधार शिविर प्रयोग गर्ने गरिएको छ। जसका लागि ३८३ जना आरोहीले नाम दर्ता गराएर आधार शिविरतर्फ गइसकेको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए।

एसपीसीसीका अनुसार विभिन्न हिमाल आरोहणका लागि दर्ता गराएका ४० समुहमध्ये ३३ समूहका ३०८ जना सगरमाथा आरोहण दलका सदस्य रहेका छन्। यस्तै, ल्होत्से हिमाल आरोणका लागि छ समुहका ६४ र नुप्त्से हिमाल आरोणका लागि एक समुहका ११ जना सदस्य रहेको कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए। 

आधार शिविर जाने क्रम जारी

पर्यटन विभागमा अनुमति लिएका आरोहीको तथ्यांकलाई हेर्दा सगरमाथा आरोहणका लागि पाँच समूहका ३८ जना आरोही नाम्चे पुग्न बाँकी छन्। पर्यटन विभागमा बुधबारसम्म विदेशी ३४ र नेपाली चार समूहले सगरमाथा आरोहणका लागि अनुमसत लिएको विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए।

विदेशी ३४ समूहका ३२६ जना र नपाली चार समूहका २० जना आरोहीले अनुमति लिएका छन्। नेपाली आरोहणदलमा २० जनामध्ये १५ जना महिला रहेका छन्।

यस्तै, आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये दुई समूहका २४ जना आरोही नाम्चे पुगेका छैनन्। सात हजार ८१६ मिटर उचाइको नुप्त्से हिमाल आरोणका लागि अनुमति लिएका दुई समूहका २६ जनामध्ये एक समूहका १५ जना आधार शिविरतर्फ जानेक्रममा रहेका छन्। 

सलामी दस्तुर कति ?

सगरमाथा आरोहणका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डरल सलामी दस्तुर तिर्नुपर्छ भने नेपालीले प्रतिव्यक्ति नेपाली ७५ हजार रुपैयाँ तिर्नुपर्छ।

यस्तै, आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि विदेशीले एक हजार ८०० अमेरिकी डलर र नेपालीले नेपाली १० हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने प्रावधान रहेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए। सोलुखुम्बुमै रहेको अर्को हिमाल नुप्त्से आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ६०० अमेरिकी डलर र नेपालीले छ हजार रुपैयाँ सलामी दस्तुर बुझाउनु पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.