कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा मापदण्ड विपरीत मासु पसल सञ्चालन गरेको पाइएको छ। नगरपालिकाको पशु सेवा शाखामा पसल दर्ता गरी सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यहाँका धेरै पसल दर्ता नगरी सञ्चालन गरिएको भेटिएको हो।
नगर प्रमुख दिलबहादुर ऐरले मापदण्ड विपरीत सञ्चालन गरिएका मासु पसल बन्द गर्न पशु सेवा शाखाका प्रमुखलाई निर्देशन दिएको बताए। ‘नगरवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी मासु पसल सञ्चालन गर्नेमाथि तत्काल कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘मापदण्ड पूरा नगरी बजार क्षेत्रमा सञ्चालन गरिएका पसल बन्द नै गरिन्छ।’
मापदण्डअनुरुप नगरपालिकामा मासु पसल दर्ता, व्यवस्थित र निश्चित ठाउँमा बधशाला, मासु काटेपछि डि फ्रिजमा राख्नु पर्ने र सरसफाइमा यथोचित ध्यान दिनुपर्ने हुन्छ। पशु सेवा शाखाका प्रमुख तारादत्त अवस्थीले मापदण्डविपरीत सञ्चालित मासु पसललाई कारबाहीको दायारमा ल्याउने प्रकृया सुरु गरेको बताए। ‘सार्वजनिक स्थल र सडक छेउमै मासु पसल खोल्नै मिल्दैन,’ प्रमुख अवस्थीले भने, ‘त्यस्ता पसल सञ्चालकमाथि कारबाही प्रकृया तत्काल अगाडि बढाउँदैछौं।’
मासु पसल सञ्चालनका लागि प्राविधिकले निरीक्षण गरेर मापदण्ड पूरा गरेका पसललाई मात्रै अनुमति दिने व्यवस्था गरिएको छ। ग्रामीण क्षेत्रमा रहेका मासु पसललाई समेत व्यवस्थित गर्न अनुगमन गरिने पशु सेवा शाखाका प्रमुख अवस्थीको भनाइ रहेको छ। अटेर र कानुन विपरीत कार्य गर्ने मासु पसल सञ्चालकमाथि हदैसम्मको कानुनी कारबाही हुने चेतावनी दिए।
झलारी बजार क्षेत्रमा गैरकानुनी रुपमा ४० भन्दा बढी मासु पसल सञ्चालनमा रहेका छन्। राजमार्ग छेउमै खुला ठाउँमा माछा, कुखुरा, खसी–बोका, काटेर मासु बिक्री हुने गरेको छ। धुलो परेको र झिंगा भन्केको गुणस्तरहीन मासु निर्वाध रुपमा बिक्री वितरण हुँदै आइरको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।