काठमाडौं : सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए। उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं। तर, काम रोकिएको छ। काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ।’
आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन। अहिलेसम्म ३।६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ। सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ।
इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको छ। चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो। सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ। अहिलेसम्म हेडवर्क्स (इन्टेक) का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन।
आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताए। उनले भने, ‘ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्छु भनेको छ। भुक्तानीको चिन्ता छैन। काम अगाडि बढ्यो भने पैसा दिन सकिन्छ।’ आयोजनाका लागि चालु आवमा विनियोजित चार अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च हुन सकेको छैन। अहिलेसम्म ठेकेदारले भुक्तानी पाउनेभन्दा ७० करोड रुपैयाँ बढी लिइसकेको समितिले जनाएको छ।
रोकिएको काम कसरी अगाडि बढाउने भन्ने विषयमा आयोजना विकास समिति र ठेकेदारबीच पटक–पटक वार्ता भइसकेको छ। ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्ने वचन दिएको सिनियर डिभिजन इन्जिनियर पन्तको भनाइ छ।
सुरुङको काम सकिएपछि मात्र पानी फर्काएर इन्टेकको काम अगाडि बढाउन सकिन्छ। यसका लागि अस्थायी पाइप राखेर पानी टनेलमा खसाल्ने सोचमा आयोजना छ। वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले हिउँदभन्दा पहिला अस्थायी रूपमा पानी टनेलमा खसाल्न सक्ने अवस्था छैन।
सुरुङ खन्ने काम सकिएको अवसरमा खानेपानीमन्त्री बिना थापामगरले दसैंमा काठमाडौंंमा मेलम्चीको पानी आउने बताए पनि दाता एसियाली विकास बैंकले भने पुस १५ मा मात्र आयोजनाको पानी आउने जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।