फिल्मबाट आएको पैसा समाजसेवामा

|

काठमाडौं : तरकारीवालीलाई नचिन्ने तपाई हामीमध्ये कमै छौँ होला। केही समयअघि तरकारी बोकेर पुल तर्दै गर्दा खिचिएको एक तस्‍बिरपछि रातारात ‘तरकारीवाली’ बनेर भाइरल भएकी थिइन्, गोरखाकी कुशुम श्रेष्ठ। सुन्दर रूपकी धनी कुशुमलाई तरकारी बोकेर हिँडेको देखेपछि उनको कामप्रतिको सम्मानको पनि उत्तिकै चर्चा भयो। एक फोटोले कुशुम हिट भइन्।

भाइरल भएपछि उनलाई धेरै म्युजिक भिडियो तथा फिल्मको अफर आए। उनले हरेक फिल्म तथा म्युजिक भिडियोलाई नकार्दै आइन्। उनी भन्छिन्, ‘म भाइरल भएपछि मलाई धेरै फिल्मको प्रस्ताव आए। तर, पढाइ बिग्रने डरले कुनैमा काम गरिनँ।’

‘लम्फु’ उनको रोजाइमा

तरकारीवाली कुशुमले बैशाख २८ बाट प्रदर्शनमा आउने फिल्म ‘लम्फु’बाट फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। फिल्ममा काम नगर्ने मुड बनाएको उनले लम्फुको प्रस्ताव भने स्विकारिन्। लम्फु निर्माण टिमले उनको सम्पूर्ण पढाइको खर्च व्यहोर्दिने भएपछि पनि उनी फिल्ममा काम गर्न तयार भइन्। ‘मलाई लम्फु टिमले मास्टरसम्मकै पढाइ खर्च व्यहोर्दिएको छ,’ उनी भन्छिन्, ‘अनि यो फिल्म गर्दा मेरो पढाइमा पनि खासै असर नगर्ने भएपछि फिल्ममा काम गर्न राजी भएँ।’

फिल्ममा आफ्नो निकै महत्वपूर्ण भूमिका रहेको कुशुम बताँउछिन्। आफूलाई सुहाउने क्यारेक्टर पाएकाले पनि उनले यस फिल्ममा काम गरेको उनको भनाइ छ। ‘लम्फु फिल्मको पूरा टिम आएर मलाई अफर गर्नुभयो। स्कृप्ट सुनाउनुभयो। मलाई त्यो स्कृप्ट मन पर्‍यो’, उनी भन्छिन् ‘मलाई सुहाउने क्यारेक्टर पाएपछि नै फिल्ममा काम गर्न तयार भएकी हुँ।’

अभिनय गर्न गाह्रो

फिल्ममा अभिनय गर्ने सोच कहिल्यै नबनाएकी कुशुमलाई अभिनयबारे केही थाहा थिएन। खासै चासो पनि थिएन। उनी सोच्ने गर्थिन् ‘यस्तो गाँउमा दु:ख गरेर बसेको मान्छेले कसरी फिल्ममा काम गर्न पाउँछ र!’ तर, जब उनको फोटो भाइरल भइदियो, फिल्मकर्मी उनको पछाडि परे। फिल्म तथा म्युजिक भिडियोको अफर कत्ति आए आए कत्ति। उनी भन्छिन्, ‘सोचेकै थिएन मलाई फिल्मको अफर आउला अनि फिल्ममा काम गरौँला भनेर।’

सुरुका दिनमा अभिनय गर्न निकै गाह्रो भएको कुशुम बताँउछिन्। ‘सुरु सुरुमा त केही थाहा थिएन। अभिनय गर्न पनि निकै गाह्रो भयो’, उनी भन्छिन् ‘ पछि निर्देशक सर र अरू टिमका मान्छेहरुले पनि सिकाउनुभयो, केही सहज भयो।’

‘लम्फु’बाट आशावादी कुशुम

फिल्ममा आफूले गरेको भूमिकाबाट निकै आशावादी छिन् कुशुम। फिल्ममा सानो रोल भए पनि धेरै राम्रो भूमिका रहेको कुशुम बताउँछिन्। भन्छिन् ‘मेरो भूमिका खासै लामो छैन। तर, जति भूमिका छ, एकदमै नोटिस हुनेछ। आशा छ दर्शकले मेरो भूमिकालाई रुचाउनुहुन्छ।‘

तरकारीवाली बनेर बनेको हाइटलाई यस फिल्मले अझ उचाइ थप्ने कुशुमको दाउ छ। ‘तरकारीवाली भनेर मलाई चिन्नुहुने सम्पूर्णले अब यस फिल्मपछि मलाई एक कलाकार भनेर चिन्नुहुनेछ,’ उनी भन्छिन्, ‘त्यो कुरामा निकै आशावादी छु।‘

समाजसेवामा रुचि

कुशुम आफूलाई समाजसेवा गर्न निकै रुचि भएको बताउँछिन्। भन्छिन्, ‘मैले लम्फु फिल्मबाट लिएको पैसा पनि समाजसेवामा खर्च गरेकी छु।' उनले यस फिल्मबाट पाएको पैसा अनाथ बलबालिकाका लागि खर्च गरेकी छिन्।

आफूलाई यो अवस्थासम्म पुर्‍याउने यही समाज भएका कारण आगामी दिनमा पनि समाजका लागि केही गर्ने कुशुम बताउँछिन्। भन्छिन्, ‘आगामी दिनमा पनि म अभिनयबापत पाएको पारिश्रमिक समाजसेवामा नै खर्च गर्नेछु।’

अबको योजना

कुशुमलाई धेरै फिल्मको अफर आइरहेका छन्। तर, उनले अहिल्यै कुनै फिल्ममा काम गर्ने मुड बनाएकी छैनन्। ‘मेरो पहिलो फिल्म रिलिज हुँदै छ’, उनी भन्छिन् ‘रिलिजपश्चात दर्शकले दिनुभएको प्रतिक्रियाका आधारमा अर्को फिल्ममा अभिनय गर्नेछु।

उनी आफ्नो पहिलो प्रथमिकता पढाइ भएको बताउँछिन्। भन्छिन्, ‘मेरो पहिलो प्रथमिकता भनेको पढाइ नै हो। पढाइलाई डिस्ट्रब गरेर फिल्ममा काम गर्दिनँ।‘ यदि पढाइमा असर नपर्ने गरी राम्रो फिल्मको अफर आए आफू त्यस विषयमा सोच्ने उनी बताउँछिन्। भन्छिन्, ‘राम्रो स्कृप्ट लिएर कोही आउनुहुन्छ भने मेरो पढाइ नबिग्रने गरी काम गर्ने सोच छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.