|

बिर्तामोड : ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए।

न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको थाहा पाइन्। उपप्रमुखले ती युवालाई सल्लाह दिँदै भनिन्, ‘पहिले उपचार गरेर तपाईं निको हुनुस्। अनि समितिमा यसबारे कुरा गरौंला।’

उपप्रमुख प्रसाईंले दुःख मान्दै सुनाइन्, ‘मुटुका बिरामी ती युवकको उपचारकै क्रममा मृत्यु भयो। उनको समस्याबारे समितिमा छलफलको विषय नै बन्न पाएन।’

१९ वर्षअघि रोजगारी सिलसिलामा अफगानिस्तान गएका आचार्यसँग उनकी श्रीमतीले वकिलको मिलेमतोमा आठ वर्षअघि नै सम्बन्धविच्छेद गराउन सफल भएकी थिइन्। आचार्यकी श्रीमतीले अदालतमा आफ्ना पतिको सबन्धविच्छेदको स्वीकृति पत्र पेस गरेकी थिइन्।

‘ श्रीमान् विदेश गएपछि वृद्धा सासूको स्याहारसुसार गरेर बसेकीश्रीमतीले त्यस्तो गर्छिन् भन्ने मैले सोचेको पनि थिइनँ तर विदेशमा दुःख गरेर कमाएको सम्पत्ति पनि सकियो, रोगले पनि थला पार्‍यो’, स्थानीय सरकारले केही गर्छ होला भन्दै आफूसमक्ष पीडा पोखेको न्यायिक समिति संयोजक प्रसाईंले भनिन्।

निको भएपछि समितिमा छलफल गरौंला र न्यायको बाटो खोजौंला भनेर गएका युवकको मृत्यु भएको सुन्दा आफूलाई निकै दुःख लागेको प्रसाईंले सुनाइन्।

ती युवक मात्र होइन, बिर्तामोड नगरपालिका–९ का एक युवक वैदेशिक रोजगारी सिलसिलामा साउदी अरबमा रहेका बेला सम्पत्ति लिएरश्रीमती अर्कै केटासँग हिँडिन्। यो थाहा पाउनासाथ नेपाल आएका ती युवकले न्यायिक समितिमा उजुरी गरे। तर, युवतीलाई पक्राउ गरी आधा सम्पत्ति समितिले युवकलाई फिर्ता गराई न्याय दिलाइदियो।

पछिल्लो समय न्यायिक समितिमा वैदेशिक रोजगारमा गएका युवाबाट उजुरी दिने क्रम बढ्न थालेका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित घटनामा महिलाभन्दा पुरुष बढी पीडित बनेको उजुरी आउने गरेको छ।

अधिकांश यस्ता उजुरीमा विदेश गएको समयमा श्रीमती सम्पत्ति लिएर अर्र्कैसँग गएको, सम्पत्ति सकेर श्रीमती नै हराएको जस्ता उजुरी अधिक आउने गरेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन्। उनले भनिन्, ‘न्यायिक समितिमा वैदेशिक रोजगारीका मुद्दा नआएको दिन हुँदैन।’ दमकमा महिलाबाट पीडित पुरुषका झन्डै दुई दर्जन मुद्दा आएको अधिकारीले बताइन्। अधिकांश उजुरी विदेश जाने पुरुषका छन्।

कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन्। कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन्।

वैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको देखिए पनि श्रीमान् रश्रीमतीको सम्बन्ध र सम्पत्तिमा ठूलो असर पारेको देखिएको उपप्रमुख अधिकारीको भनाइ छ। दमक नगरपालिकामा श्रीमतीको नाममा जग्गा भएकाहरू धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन्।

श्रीमती विदेश गएपछि नफर्किने, उतै अर्कैसँग विवाह गरेर घरजम गरेका र श्रीमान्\श्रीमतीको संयुक्त नाममा रहेको अचल सम्पत्ति रोकिएकाले फुकुवा गरिपाऊँ भनी नगरपालिकामा केही उजुरी परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.