|

उदयपुर : गएको दुई वर्षदेखि उदयपुरमा बजार अनुगमन भएको छैन। चाडपर्वको समयमा मात्र हुने बजार अनुगमन पनि गएको २०७३ देखि २०७५ सालसम्म आइपुग्दा कतै भएको देखिँदैन। बजार अनुगमन नहुँदा सदरमुकाम गाईघाटका व्यापारीले खुलेआम मिसावट गरिएका अखाद्य वस्तुको बिक्री वितरण गरिरहेका स्थानीय उपभोक्ता बताउँछन्। जिल्ला प्रशासन कर्यालयको अगुवाइमा हुने बजार अनुगमन ठप्प जस्तै बनेको छ। दशैँ, तिहार, छठ जस्ता पर्वमा मात्र हुने बजार अनुगमन पनि ठप्प भएपछि उपभोक्ता मारमा परेका हुन्।

अधिकांश पसलहरूमा मूल्य सूची नभएको, होटल तथा मिठाई पसलको भान्छा सफा नभएको, पसलमा म्याद गुज्रिएका उपभोग्य सामान खुलेआम बिक्री वितरण भइरहेकाे हुँदा पनि प्रशासन मौन बसेको आरोप उपभोक्ता नीरबहादुर तामाङले लगाए। ‘अखाद्य वस्तुको खुलेआम बिक्री वितरण हुँदा पनि सम्बन्धित निकायलाई चासो छैन’, तामाङले भने, ‘बजार अनुगमन गर्ने मुख्य काम भनेको जिल्ला प्रशासनको हो। अहिले त्यसले गर्छ कि गर्दैन, त्यो त थाहा छैन।’

बजारमा पाइने पेय पदार्थदेखि चामल, दाल, हरियो तरकारी र पसलबाट बिक्री गरिने खाजासमेत गुणस्तरहीन भेटिने गरेको उपभोक्ताको गुनासो छ। ‘अहिले धेरै सजिलो छ। म्याद गुज्रेको सामान भए गाउँका व्यापारीलाई पठाइदिने चलन सुरु भएको छ’, अर्का गाईघाटका स्थानीय उपभोक्ता पदम राईले भने, ‘जिल्ला प्रशासन जस्ता सम्बन्धित निकाय मौन भएपछि उपभोक्ताको मर्का कसले बुझिदिने?’

यता, नापतौल विभागअन्तर्गत पर्ने ढक, तराजुसमेत ढुंगा र काठको प्रयोग हुँदै आएको उपभोक्ताको आरोप छ। ‘चामल, दाल, दालमोठ, भुजिया, चकलेट, बिस्कुटलगायत तौल गरेर बिक्री हुने वस्तुमा समेत उपभोक्ता ठगिने गरेका छन्’, घुर्मी बजारका उपभाेक्ता महेश धमलाले भने, ‘बजारमा अनुगमन प्रभावकारी रूपमा नहुँदा होटलवाला र खुद्रा पसलहरूले उपभोक्ताको हितविपरीत काम गरिरहेका छन्। हाम्रा लागि बोलिदिने कोही छैन।’

उपभोक्ता अधिकारको ज्ञान र चेतना नहुँदा गुणस्तरहीन वस्तुहरू उपभोग गर्नुपर्ने उपभोक्ताकाे बाध्यता छ। ‘होटलमा गएर एउटा उपभोक्ताले पाँच दिनको बासी सिंगडा किनेर खान्छ’, गाईघाट बजारका स्थानीय शिव दाहालले भने, ‘बिरामी परे पनि कसैलाई नभनी त्यही उपभोक्ता फेरि औषधि पसल पुग्छ। उपचार गर्छ। घर फर्किन्छ।’

दुई वर्षदेखि बजार अनुगन टोली आउन छाडेका कारण गाईघाट, कटारी, घुर्मी, नेपालटार, बेल्टार, बसाहाका बजारमा व्यापारीले मनपरी गर्दै आइरहेका छन्। ‘उदयपुरका मासु पसलमा धेरै फोहोर भेटिन्छ’, अर्का उपभोक्ता सरलसिंह राईले भने, ‘विशेष गरेर मासुबाट उपभोक्ता तौलमा ठगिने गरेका छन् भने सडेगलेको मासु खान बाध्य छन्।’

त्रियुगा उद्योग बाणिज्य महासंघ गाईघाटका अध्यक्ष गजेन्द्र भगवतले पछिल्लो समयमा बजार अनुगमन नभए पनि व्यपारीहरू नै सचेत हुँदै गएको बताए। ‘अहिले व्यापारीहरूले कुनै अखाद्य वस्तु भेटे बिक्री गर्न छाडेको पाएकाे छु’, उनले भने, ‘कहीँ कतैबाट जनगुनासो आए सम्बन्धित निकायले हेर्छ।’ प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले निरन्तर रूपमा बजार अनुगमन भइरहेको बताए। कार्कीले भने, ‘दुई दिन अगाडि पनि हामीले बजार अनुगमन गरेका थियौँ।’

कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले निरन्तर रूपमा अनुगमन भए पनि प्रचार प्रसार नहुँदा समस्या भएको बताए। ‘निरन्तर रूपमा बजार अनुगमन गरिरहेका छाैँ’, उनले भने, ‘यो छ, सात महिना अगाडिदेखि बजार अनुगमनचाहिँ नभएको हो।’  माओवादी केन्द्रका जिल्लास्तरीय नेता ज्ञानबहादुर बस्नेतले प्रशासन कार्यालय उदयपुरले अनुगमन गरिरहेको भने पनि बजार अनुगमन नभएको दाबी गरेका छन्। ‘बजार अनुगमन टोली आउन छाडेको धेरै भएको छ’, बस्नेतले भने, ‘अनुगमनचाहिँ  हुन्छ तर के अनुगमन हुन्छ, थाहा छैन।’

ठगी गर्दै सुन पसलेहरू

दुई दिनअघि केन्द्रीय आपूर्ति विभागले गाईघाटका सुन पसल संचालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको फेला पारेको थियो। सुन पसल अनुगमन गर्दा पसलमा सुन तौलने काँटाकिला र तराजु बिग्रिएको र कृत्रिम तथा मापदण्डविरुद्ध भेटिएर जफत गरी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको थियो।

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खेमराज थापाले गल्ती सच्याउने मौका दिएको बताए। यस्तै, अनुगमनका क्रममा त्रियुगा नगरपालिकाको देउरी बजारमा पनि मापदण्डविपरीत अवैध रूपमा संचालित केही पसल र एक पेट्रोल पम्प सिल गरिएको थियो। तर ती पसललाई पनि एक पटकलाई छुट दिइएको थापाले बताए। केन्द्रीय आपूर्ति विभाग अनुगमनको टाेली आएको बेला मात्र जिल्ला प्रशासन कार्यालयले अनुगमनमा भाग लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.