|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामको बाह्रविघामा हुने नागरिक अभिनन्दन समारोहमा झण्डै पाँच लाख मानिस सहभागि गराउने योजनासहित प्रदेश सरकार प्रचारप्रसारमा लागेको बताएका छन्। मंगलवार मन्त्रीपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतीय प्रमको जनकपुर भ्रमणलाई भव्य र सभ्य बनाउने योजनाका साथ ८ जिल्लाका झण्डै पाँच लाख मानिसलाई उपस्थित गराउन लागिएको जानकारी दिए।

‘भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनको कार्यक्रम तय गरिएको हुँदा उहाँलाई नागरिक अभिनन्दनका साथै सम्मान दर्शाउने अभिप्रायले बढी संख्यामा जनताको उपस्थिति गराउन लागिएको हो’, मुख्यमन्त्री राउतले भने –‘उहाँलाई नागरिक अभिनन्दन गरिन लागिएको हुँदा यस प्रदेशको ८ वटै जिल्लाबाट जनताको सहभागिता गराउन सकिए सबैले अपनत्व महसुस गर्ने तथा प्रदेशका लागि सबै जिल्लाहरु उत्तिकै महत्त्वपूर्ण रहेकोले ८ सबै जिल्लाबाट आम नागरिकलाई सहभागि हुन अनुरोध गर्दछौँ।’

मुख्यमन्त्री राउतले मोदीको जनकपुर विभानस्थलमा बिहान १० बजे आइपुग्ने र विमानस्थलबाटै सिधै जानकी मन्दिरमा ४५ मिनेट पूजाआजा गर्ने कार्यक्रम तय भएको जानकारी दिए। उनका अनुसार पूजा पश्चात् सोही स्थानबाट रामायण सर्किट र बससेवा उद्घाटन गर्नेछ। जानकी मन्दिरबाट बाह्रविघामा हुने नागरिक अभिनन्दनका लागि प्रस्थान गर्दा १०५ साधुसन्तद्वारा शंखनाद गर्ने छन्।

जनकपुरमा नागरिक अभिनन्दन हेर्न सर्वसाधारणका लागि बाह्रविघामा मैदानको उत्तरतर्फको गेटबाट प्रवेशका लागि खुल्ला गरिने भएको छ, जसमा कुनै पासको आवश्यकता नहुने जनाइएको छ। साथै धनुषा तथा महोत्तरी जिल्लाको राजमार्ग तथा जनकपुर आउने मार्गमा पर्ने नगरपालिका तथा गाउँपालिकालाई स्वागतद्वार बनाइ सहयोग गर्न समेत आग्रह गरे।

यसैबीच जनकपुरको बिमानस्थतलबाट जानकी मन्दिर आउने बाटोमा सर्वसाधारणलाई सफासुग्घर राख्न तथा घरको द्वारमा स्वस्तिकसहितको कलश राख्नसमेत मुख्यमन्त्रीले आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.