रौतहट : रौतहटका स्थानीय तहमा सडक निर्माण गर्दा दायाँ र बायाँ ठूल्ठूला खाडल खन्ने क्रम बढेपछि जोखिम बढेको छ। सडक निर्माणको क्रममा ठेक्का सम्झौतामा बाहिरबाट माटो ल्याउनुपर्ने उल्लेख भए पनि ठेकेदारले दायाँबायाँ खेतमा स्काभेटर प्रयोग गरी धमाधम खाडल बनाएर सडक निर्माण गरिरहेका छन्।
गरुडा नगरपालिकामा सडक निर्माणको क्रममा निजी जग्गामा बनाइएको खाडलमा जमेको पानीमा डुबेर गत वर्ष साउनमा चार बालबालिकाको ज्यान गएको थियो। लगत्तै स्थानीय प्रशासनले ठेकेदारलाई सडक निर्माणको नाममा खाडल नबनाउन पत्राचार गरेको थियो । खाडल बनाइएको स्थानमा सम्याउने भनेर मौखिक सहमति जनाए पनि ठेकेदारले काम गरेका छैनन् । ‘सम्झौतामा नयाँ बाटो निर्माण गर्दा त्यहीँको जग्गा खन्नु भन्ने हुदैन,’ सडक डिभिजन प्रमुख सुमन योगेशले भने, ‘ठेकेदारले सम्झौताअनुसार काम गर्नुपर्छ ।’
अधिकांश ठेकेदारले बाहिरबाट माटो ढुवानी गर्दा महँगो पर्ने हुँदा नजिकको जमिनमा खाडल बनाएर माटो ल्याउने गरेका छन्। रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा सडक विस्तारको काम भइरहेको छ । सडक निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीय जग्गाधनीसँग विवाद हुने गरेको छ। केहीमा ठेकेदारले मौखिक समझदारी गरे पनि पालना नगरेको भन्दै विवाद हुने गरेको गौरका समाजसेवी शम्भु साहले बताए।
सडक निर्माणका क्रममा मेसिनले ठूला खाडल बनाउदा त्यहीँ पानी जम्छ र वर्षाका बेला यस्तै खाडलको पानीमा बालबालिका डुब्ने खतरा हुने समाजसेवी साहले बताए। साह भन्छन्, ‘ठेकेदारले अर्काको जमिन खनेर बाटो बनाउँछ, पछि सम्याउन चाहँदैन र त्यही पानी जमेर डुब्ने जोखिम बढ्छ।’ उनले सम्बन्धित निकायले समयमा ध्यान दिनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको करिब ५२ किमी लामो विभिन्न सडक योजनाको निर्माणमा ठेकेदारले निजी जग्गा खनेर खाडल बनाएपछि केही दिनअघि स्थानीयले अवरोध गरी काम रोकेका थिए । काठमाडौंको वसुन्धरा ३ को स्वच्छन्द ढुकुछु आश्रय जेभीले ठेक्का लिएर निर्माण गरिरहेको सडकमा पहिलो प्याकेजको काममा व्यक्तिको जग्गाको दुवैतर्फ खाडल बनाई माटो निकाल्न थालेपछि विवाद भएको हो । स्थानीय बासिन्दाले अवरोध गरेपछि ठेकेदार रामाश्रेय साहले बाहिरबाट माटो ल्याएर बाटो बनाउने मौखिक सहमति जनाएका थिए । साथै उनले जग्गाको क्षतिपूर्ति दिने सहमति जनाएका थिए ।
सम्झौतामा निर्माणस्थल भन्दा १० मिटर टाढाबाट माटो ढुवानी गर्ने उल्लेख छ । निर्माण हुँदै गरेको अधिकाश सडकको काममा ठेकेदारले लापरबाही गरेको पाइएको छ । ठेकेदारले जग्गामा धनीको सहमति बेगर खाडल बनाई जोखिम बढाउन माटो काट्न नपाइने सहरी विकास तथा भवन निर्माण कार्यालय पर्साका डीई सुरेश वाग्लेले बताए । ‘माटो कहाँबाट ल्याउने भन्ने त्यो ठेकेदारको विषय हो,’ उनले भने, ‘अर्काको खेतबाट माटो उठाउन अनुमति माग्नुपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।