|

जनकपुरधाम ः चिनी उद्योगीेले समयमै उखुको भुक्तानी नगरेको भन्दै महोत्तरीका किसानहरू चिनीमिलमा तालाबन्दी गरेका छन्। नेपाल सरकारले नगदेबालीको रूपमा उखुबालीलाई घोषणा गरे पनि मिलले उखुको भुक्तानी नदिएको भन्दै महोत्तरीका किसानहरू आन्दोलित हुँदै मिलमा तालाबन्दी गरेका हुन्। 

उखु ‘क्रसिङ सिजन’ सकिएको झण्डै दुई महिना बितिसक्दासमेत एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालि रामनगरले उखु किसानलाई भुक्तानी नदिएपछि बाध्य भएर किसानहरु आन्दोलनमा उत्रिएका छन्। चिनी उद्योगले उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरेपछि किसानहरू बाध्य भएर चरणवद्ध रूपमा आन्दोलनमा उत्रिएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए। 

आन्दोलनको कार्यक्रम अन्तर्गत किसानहरुले एभरेष्ट सुगर मिलको मुल गेट (निकासी र पैठारी)मा ताला बन्दी गर्दै धर्ना बस्दै आएका छन्। किसानहरूले मिलको प्रशासन शाखा, वाणिज्य विभाग, उखु विभाग, स्टोर शाखा, मिल हाउस र चिनी गोदाममा समेत ताला लगाएका हुन्। 

एभरेष्ठ सुगर एण्ड केमिकल ईण्डष्ट्रिज लिमिटेडले ४२ लाख ५९ हजार ७७४ क्विन्टल उखु खरीद गरेवापत् किसानलाई दुई अर्ब २२ करोड १५ लाख ६७ हजार ४०० रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म ४४ करोड १५ लाख ९४ हजार ६०९ रुपैयाँ मात्र भुक्तानी दिएको छ। उखु क्रसिङ सिजन सुरु भएको गत पुस ६ गतेदेखि पुस २९ गतेसम्मको सवा ४४ करोड रुपैयाँ उपलब्ध गराए पनि एक अर्ब ७७ करोड ९७ लाख ७२ हजार ६५७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। 

उद्योगले समयमा भुक्तानी नदिएपछि किसानहरूले ऋण काढेर उखु काट्ने कामदार र ढुवानीकर्तालाई पैसा दिनुपरेपछि किसानहरू दोहोरो मारमा परेको गौशाला नपाका किसान देवकुमार महतो बताए। उनले भने, ‘समयमा भुक्तानी नदिँदा उखु किसानलाई जनमजदुर, ढुवानीका लागि ट्रयाक्टर, खाद्य मल, विषादी समेतको भुक्तानी गर्न समस्या भएको छ।’

यता उद्योगले जेठ १ गते सार्वजनिक सूचना मार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो। सूचनामा हाल स्टकमा ९० प्रतिशत चिनी बिक्री गर्न बाँकी रहेकाले सोबाट करीब २०० करोड रुपैयाँ आम्दानी हुने भन्दै हालका लागि भने किसानलाई उखु भुक्तानी दिन असमर्थ रहेको जनाइएको छ।

एभरेष्ट सुगर चिनी मिल र उखु उत्पादक कृषक संघ समितिबीच नियमित भुक्तानी दिने पटक–पटक सहमति गर्दै आएको भए पनि किसानलाई ठगी गर्दै आएको छ। उखु किसानको रकम भुक्तानी गर्न मिल सञ्चालकले रकम नदिँदा भुक्तानी गर्न नसकिएको महाप्रबन्धक युगल किशोर चौरसियाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.