|

दार्चुला : नेपालको उत्तरपश्चिम क्षेत्र सधैँ गुमनाम जस्तै हुन्छ। यो क्षेत्रमा सुरक्षा उपस्थिति नै नहुने कुरा पटक पटक सार्वजनिक भए पनि यस क्षेत्रका स्थानीयको जीजिविषाका बारेमा मानिसहरू विरलै जानकार होलान्। कडा, भिराला र उच्च पहाडहरू छिचोल्दै पुगिने व्यास गाउँपालिकाको राप्लाका स्थानीयलाई भारत सरकारले रोजगारी दिएको छ।

भारत सरकारको उच्च प्राथमिकतामा परेको धारचुला-लिपुलेक सडक खण्डको निर्माण कार्य तीब्र भएकाले नेपालीहरूले पनि उक्त क्षेत्रमा रोजगारी पाएका हुन्। व्यास गाउँपालिका- २ राप्लाका धुन्चे धामी प्रत्येक सोमबार बिहानै भारतको खण्डेरा क्षेत्रमा मजदुरीका लागि निस्कन्छन्। प्रत्येक शनिबार काम सकेर घर फर्किन्छन्। आफ्नो घर (राप्ला)बाट काम गर्ने स्थान (भारत पिथौरागढ जिप्ती ग्रामपञ्चायतको खण्डेरा)तिर निकै टाढा पर्ने भएकाले उनी एक साता मजदुरी गर्ने स्थलतिर बस्छन्। महिनाको एक साता काम गरेर उनी मासिक साढे ११ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउँछन्। 

पहाडै पहाड, चट्टानै चट्टान, सडक निर्माणको काम तर पनि चार छोराछोरीको पढाइ र घर परिवारको खर्चको जोहो गर्न उनीसँग अर्को विकल्प छैन। ‘काम गर्दै गर्दा कति बेला मरिने हो, पत्तो हुँदैन तर पेट र परिवारका लागि काम गर्नै पर्छ’, ३९ वर्षीय धुन्चे धामी भन्छन्। धामीले भारतीय सडक निर्माण गरेर परिवार मात्रै पालेका छैनन्, दुई तले पक्की घर पनि बनाएका छन्। 

करिव तीन वर्षदेखि लगातार उक्त क्षेत्रमा काम गर्दै आएका उनलाई ठेकेदारले इमान्दारी साथ काम गरेको भन्दै घर बनाउने सिमेन्ट र रड पनि उपलब्ध गराए। ‘ठेकेदारले घरपारि (महाकालीपारि) सम्म सिमेन्ट र रड ल्याइदिए। बालुवा आफैँले जोहो गरेँ अनि दुई तले घर बनाएँ।’ सडक निर्माण कार्यबाट थकित शरीर लिएर घर फर्किंदै गरेका धामीले घर बनाउन पाएकामा आनन्द मान्दै भने।

भारत सरकारले निकै प्राथमिकताका साथ निर्माण गरिरहेको धारचुला-लिपुलेक सडकखण्ड निर्माण कार्य गर्न खण्डेरा, माल्पा र बुँदी क्षेत्रमा भारतीय कामदारसँगै नेपाली कामदार पनि काम गर्छन्। भारतीय सडक निर्माणले नेपालीलाई पनि रोजगारी दिएकाे छ। धुन्चे जस्तै उक्त क्षेत्रसम्म काम गर्न जाने २९ वर्षीय जीवन धामी पनि खुसी छन्। ‘निकै गाह्रो काम भए पनि घर परिवारको व्यवस्था गर्न सकिएको छ। खेतबारीले वर्षभरि खाने अन्न दिँदैन। देशले रोजगारी दिँदैन’, अलि खिन्न हुँदै धामीले भने, ‘आइतबार काम गर्न पायो भने थप पारिश्रमिक पाइन्छ तर साताको एक दिन घर परिवारको अवस्था हेर्न घर फर्किनै पर्छ।’

दार्चुला सदरमुकामबाट १४ कोष टाढा उत्तरतिर पर्ने राप्लाका धुन्चेका मात्र नभएर ११ जना नेपाली युवा भारतको सोही क्षेत्रमा सडक निर्माणको काममा जान्छन्। एक साता उतै बस्छन्। सोमबार बिहानै सडक निर्माणस्थल पुग्छन् र शनिबार बेलुका घर फर्किन्छन्। भारतीय सडकले राप्ला, दुम्लिङ, धौलाकोट र सुन्सेराका स्थानीयबासीलाई रोजगारी मात्रै दिएको छैन, पीडा पनि दिएको छ।

स्काभेटर चलाउने लाइसेन्स भएका सुन्सेराका त्रिलोक विष्टले सडक निर्माणको काममा स्काभेटर नै चलाउने काम पाए। तलब पनि महिनाको करिब २५ हजार भारतीय रुपैयाँसम्म पुग्थ्यो। तर चैत १३ गते स्काभेटर चलाउँदै गरेका बेला माथिबाट चट्टान छुट्टिएर आएर विष्टलाई पनि घरपरिवारबाट छुटाएर लग्यो। ‘उनले स्काभेटरबाट हाम्फाले तर तलतिर भिरैभिर भएकाले महाकाली नदी किनारामै बजारिए। ‘हामीले उनलाई उठाएर अस्पतालतिर लग्यौँ। तर आधा बाटोमै उनकाे प्राण गयाे’, स्काभेटर खसेको ठिक वारीतिर (नेपालतिर) पालमा पसल थापेकी गंगोत्री भण्डारीले भनिन्। ‘विष्टले काम सुरु गरेको धेरै भएको थिएन। घर परिवारले निकै आशा गरेका थिए तर खै दैवले अर्कै चाहेको रहेछ’, उनकी गाउँलेसमेत रहेकी भण्डारीले भनिन्।

विष्टले स्काभेटर चलाउँदै गर्दा ज्यान मात्रै गुमाएनन्, उनको घर परिवारलाई निर्माण कम्पनीले क्षतिपूर्तिसमेत दिएन। ‘किरिया खर्च तत्कालै ठेकेदारले दिए। कागज पत्रहरू बनाएका छन्। रकम दिन्छन् कि भन्ने आशामा छौं’, उनको पारिवारिक स्रोतले बतायो। व्यास गाउँपालिका- ४ का प्रेमसिंह विष्टका महिला छोरा त्रिलोक विष्टले ज्यान गुमाउँदासमेत क्षतिपूर्ति नपाएको अवस्थामा अन्यले भारतीय पक्षबाट क्षतिपूर्ति पाउने कुरै भएन। 

भारतीय पक्षले सडक निर्माण गर्दै गरेको क्षेत्र वारि-पारि निकै भिराला पहाडहरू छन्। महाकालीवारिबाट हातले ढुंगा हाने पारि सहजै पुग्छ। सन् १९९८ को साउनतिर व्याँस गाउँपालिकाको थिंको भिरमा पहिरो जाँदा पारिपट्टि गस्तीमा रहेका दुई जना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानको ज्यान गएको थियो। सडक निर्माण गर्दा भारततिर अहिले प्रत्येक दिनजसो बिस्फोटकहरू पड्काइन्छ। नेपालतिरको बाटो र बस्तीसम्म बिस्फोटनले क्षति पुर्‍याउँछ। त्यसको क्षतिपूर्ति न भारत सरकारले गर्छ, न नेपालले नै।

व्यास गाउँपालिका- २ आक्तक्ती घर भएका करिव ४५ वर्षीय पुनी महराको घर भारतमा पड्काइएको बिस्फोटक पदार्थले क्षति गर्‍याे। ‘क्षतिपूर्ति कसले दिने? कागज त बनाएकाे छु। जिल्ला प्रशासनसम्म पुगेँ। कतैबाट सहयोग भएन’, व्यास गाउँपालिका- २ थिंको भिरमा पसल गरी बस्ने महराले भने।

राप्लाको दुम्लिङमा रहेको प्रहरी चौकी, स्थानीय जनप्रतिनिधिहरूले समेत मुचुल्का बनाएर जिल्ला प्रशासनसम्म पहल गरेको भए पनि उनले कतैबाट सहयोग पाएका छैनन्। ‘भारततिर सडक निर्माण गर्दा कयौँले रोजगारी पाएका छन् भने कतिपयले दु:ख पनि पाएका छन्’, व्यास गाउँपालिका- २ का अध्यक्ष धीरनसिंह बुढाथोकीले भने, ‘वारिपारि नजिक रहेको ठाउँमा पारि फाेरिएकाे ढुंगा वारि आइपुग्छ, कसले रोक्ने?’ भारततिर सडक बन्दा व्यास र राप्लाका बासिन्दालाई निकै सजिलो भएकाले पनि सानातिना दु:ख बिर्सिने गरेको उनको भनाइ छ।

दार्चुला-तिंकर सडक खण्ड निर्माण कार्य समयमै गर्नसके भारतीय सडकमा भर पर्नुपर्ने बाध्यताकाे अन्त्य हुने बताउँदै वडाध्यक्ष बुढाथोकी यसका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.