कञ्चनपुर : कञ्चनपुरका थारू समुदायले परम्परागत रूपमा विवाहमा दुलहा र दुलहीलाई बोक्न प्रयोग हुने डोलीको चलन हराउँदै जान थालेको छ। कलात्मक ढंगले निर्माण गरिएका दुलहा बोक्नका लागि चँडोल र दुलही बोक्नका लागि प्रयोग गरिने डोली हराउँदै गएको हो। बाह्य संस्कृतिको प्रभावका कारण डोलीको सट्टा दुलहा–दुलही बोक्नका लागि आधुनिक यातायातका साधन ट्रयाक्टर, बस र जीपको प्रयोग हुन थालेपछि विवाहमा चँडोल र डोली हराउँदै गएको थारू अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए।
विवाहमा दुलहा–दुलहीलाई चँडोल र डोलीमा बोक्ने र जन्तीहरुका लागि गोरुगाडाको प्रयोग हुने गरेको थियो। तर, यातायातका साधनको सहज उपलव्धताले थारू समुदायको पहिचान बोकेको चँडोल र डोली लोपोन्मुख अवस्थामा पुगेको छ।
डोलीमा रंगीचंगी कपडाको मोहोरी, खिल्वार, छौना, मचिया, पर्गेहनी, लाखक चुनरिया, वहन्वार, घारा, लोटा, घण्टी, पघा र स्याँठाको प्रयोग हुने समाजसेवी रेवन चौधरीले बताए। डोली दुलही पक्षकाले निर्माण गर्ने उल्लेख गर्दै उनले भने, ‘दुलहा पक्षबाट दिइएको वहन्वार खिलवारको डोलीमा प्रयोग गर्नु पर्ने चलन छ।’ यसरी बनाइएको डोली बोक्नका लागि दुई जना व्यक्तिको आवश्यकता पर्ने पर्दछ। दुलहीको घरमा जन्ती लगेर जाँदा भने विशेष प्रकारले बनाएको चँडोलको प्रयोग गर्ने हुने गर्दछ।
दुलहाको इज्जत र पहिचान बेग्लै बनाउनका चँडोलको महत्त्वपूर्ण भूमिका रहने गरेको समाजसेवी चौधरीले बताउँछन्। चँडोल बनाउन छाजन, वहन्वार, घण्टी, घारा, स्वाँठा, खटिया, पर्नेहनी र पनहीको आवश्यकता पर्ने गर्दछ। चँडोलमा दुलहालाई सवार गराएर चार जनाले बोक्ने गरी बनाइएको हुन्छ। तर, पछिल्लो समय डोली र चँडोलमा राखेर लैजाने प्रचलन विरलै मात्र देख्न पाइन्छ।
मौलिक संस्कृति झल्कने चँडोल र डोली हराउँदै जान थालेपछि थारू अगुवाहरु चिन्तित छन्। थारू संस्कृतिका जानकार रामकृष्ण चौधरी संस्कृतिले पहिचान झल्काउने भएकाले यसलाई बचाउन थारू नै अग्रसर हुनु पर्नेमा जोड दिन्छन्। थारू समुदायमा परम्परागत रुपमा चल्दै आएको प्रथालाई बचाइराख्नु पर्छ भन्ने भावना हराउँदै गएकाले माैलिक संस्कृति हराउँदै गएको उनको तर्क छ। उनी भन्छन्, 'पहिचान बचाउन थारू अगुवाहरुले संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने भावना नयाँ युवा पिढीमा जागरण गराउन आवश्यक छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।