कालिकोट : जिल्लाका छ गाउँपालिका र तीन नगरपालिकाका ८२ मध्ये ५२ वडा स्वास्थ्य क्षेत्रको पहुँचबाहिर छन्। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका तथ्याङ्क अनुसार ३० वटा वडामा मात्र स्वास्थ्य संस्था छन्।
कार्यालयका अनुसार खाँडाचक्र नगरपालिकामा ११ वडामध्ये १ मा जिल्ला अस्पताल छ। यहाँ दुई वडामा स्वास्थ्य चौकी छन्। रास्कोट नगरपालिकाका नौ वडामध्ये तीन वडामा मात्र स्वास्थ्य चौकी छन्। तिलागुफा नगरपालिकाका ११ वडामध्ये पाँच, पलाता गाउँपालिकामा नौ वडामध्ये पाँच र पचाल झरना गाउँपालिकाका नौ वडामध्ये तीन वटामा मात्र स्वास्थ्य चौकी छन्।
यस्तै सान्नीत्रिवेणी गाउँपालिकाका नौमध्ये तीन, नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच, शुभकालिका गाउँपालिकाका अाठमध्ये तीन र महाँवै गाउँपालिकाका सात वडामध्ये दुईवटा वडामा मात्र स्वास्थ्य चौकी छन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा साविकका ३० वटा गाविसमा रहेका ३० वटा स्वास्थ्य संस्थाले नै अहिलेको नयाँ संरचना अनुसार सेवा प्रवाह गरिरहेका छन्। ‘नयाँ संरचना अनुसार स्वास्थ्य चौकी स्थापना भएका छैनन्’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.विवश पराजुलीले भने, ‘पुरानै संरचना अनुसार साविकका गाविस रहेका ३० स्वास्थ्य संस्थाले नै सेवा प्रवाह गरिहरहेका छन्।’
जिल्लाका अधिकांश स्थानीय तहहरूमा नजिकमा स्वास्थ्य संस्था नहुदाँ भौगोलिक विकटताका कारण घण्टौं हिँडेर अर्को वडामा आधारभूत स्वास्थ्य सेवा लिन जानुपर्ने बाध्यता रहेको नरहरिनाथ गाउँपालिका– ६ का लालवीर बटालाले बताए। उनले भने, ‘नजिक स्वास्थ्य संस्था नहुँदा औषधी लैजान पनि घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ।’
जिल्लाका सबै वडामा स्वास्थ्य चौकी नहुँदा गर्भवती जाँच तथा प्रसूति सेवा लिने महिलालाई थप समस्या भएको तिलागुफा नगरपालिका–१० का रहेको चिल्खाया स्वास्थ्य चौकीका इन्चार्ज दुर्गा आचार्यले बताए। ‘नजिक स्वास्थ्य चौकी नहुँदा सामान्य बिरामीले पनि उपचार पाउँदैनन्’, उनले भने, ‘प्रसूति जाँच गर्न पनि समस्या भएको छ।’
यहाँका स्थानीय तहहरुले सबै वडामा स्वास्थ्यको पहुँच पुर्याउन सामुदायिक स्वास्थ्य सेवाको ल्याउन लागेका छन्। सामुदायिक स्वास्थ्य सेवा माध्यमले सबै नागरिकहरुलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने लक्ष्य स्थानीय तहहरुले राखेका छन्।
स्थानीय तहले नागरिकमा स्वास्थ्य संस्थाको पहुँच कम भएपछि सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेर काम अगाडि बढाएर कर्मचारी व्यवस्था गर्न थालिएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘सबै वडामा स्वास्थ्य पहुँच पुर्याउन सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएका छन्।
स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउन सबै स्थानीय तहले काम गरिहरहेको सबै वडामा आगामी आर्थिक वर्षमा सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गर्ने सान्नीत्रिवेणी गाउँपालिकाका प्रमुख डम्बरबहादुर शाहीले बताए। ‘आगामी आर्थिक वर्षभित्र सबै वडाका नागरिकहरुले स्वास्थ्यको पहुँच पुर्याउन सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याइने छ’, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।