कालिकोट : आगामी आर्थिक वर्षको ०७५/७६ वर्षको बजेट सार्वजनिक भएसँगै व्यापारीले उपभोग्य वस्तुको मूल्य चर्को रूपमा बढाएका छन्। बजेट आएलगत्तै व्यापारीहरूले दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक सामाग्रीको मूल्य बढाएका हुन्।
बजेट साउन १ गतेदेखि लागू हुने भए पनि व्यापारीले बजेट भाषण भएसँगै बजारमा पाइने दैनिक उपभोग्य वस्तुसहित अत्यावशक वस्तुहरूको मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन्।
खाद्यान्नलगायत अत्यावश्यक सामाग्रीको थोक मूल्य बढेको कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए। ‘बजार भाउ छोइनसक्नु गरी बढेको छ।’ उनले भने,‘यसको नियन्त्रण माथिबाट नै गर्नु पर्ने हो तर कसैले चासो देखाएको छैन।’
बजारमा चामल, तेल, दाललगायतका वस्तुहरूको मूल्य २० देखि ४०० रुपैयाँ बढाएको र ग्याँसलगायतका वस्तुहरूमा पनि त्यत्तिकै मूल्य बढाएकोले उपभोक्ता कालिकोट उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कालीबहादुर बिष्टले बताए। ‘बजारमा मूल्य निकै आकासिएको छ। एउटै वस्तुको मूल्य २० रुपैयाँदेखि ४०० सम्म बढेको छ।’ उनले भने,‘बजार मूल्य नियन्त्रण नगर्ने हो भने अझैँ बढ्ने सक्ने अवस्था आएको छ।’
बजार मूल्य बढ्नुको कारण उपभोग्य वस्तु बिक्री गर्ने डिलरहरूले नै मूल्य बढाएका कारणले उपभोक्ताहरूलाई आफूले त्यही आधारमा बिक्रि गर्नुपर्ने अवस्था आएको शुभकालिका गाउँपालिका-१ जितेगडा बजारका व्यापारी राधा शाहीले बताइन्। ‘उपभोग्य वस्तु बिक्री गर्ने डिलरहरूले हामीले मूल्य बढाएर सामान हालेका छन्।’ उनले भनिन्, ‘मूल्य बढेका कारणले आजकाल उपभोक्ताहरू मूल्य किन बढेको भनेर प्रश्न गर्छन्।’
बजार मूल्य बढेका कारणले स्थानीयस्तरमा पाइने तरकारीलगायतका वस्तुहरूको मूल्य पनि व्यापारीहरूले बढाएका छन्। स्थानीयस्तरमा उत्पादन हुने तरकारीको बजार मूल्य पनि अहिले पाँचदेखि ४० रुपैयाँसम्म बढेको कालिकोट खाँडाचक्र नगरपालिका-१ का स्थानीय रामबहादुर शाहीले बताए। ‘सबै वस्तुको मूल्य बढेका कारणले अहिले बजारमा तरकारीको मूल्य पनि बढेको छ।’ उनले भने, ‘तरकारीको मूल्य पनि पाँचदेखि ४० रुपैयाँसम्म बढेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।