|

दमक (झापा) : दमक नगरपालिकाको तेश्रो नगरसभा शनिबारदेखि सुरु भएको छ। तर नगरसभाको पहिलो दिन बजेटको अंक र कार्यक्रमभन्दा पनि डुवानको समस्यामा नै केन्द्रित रहयो।

नगरसभामा सहभागी सभाषदहरूले नगरमा वर्षेनी डुवानको समस्या बढी रहेको भन्दै यसलाई दिगो रूपमा समाधान गर्नु पर्नेमा जोड दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा वर्षायामको सुरुमा एक/दुई झर पानी पर्दैमा पनि डुवान सुरु भएपछि नगरसभाका सभासदको ध्यान यसैमा केन्द्रित भएको हो।

सार्वजनिक जमिन, खोला–खोल्सि मिचेर निजी संरचनाहरू बनाइएको, पानीको निकाश अवरोध गरिएको, डल तथा नाला व्यवस्थित नभएकोलगायतका कारण नगर क्षेत्र डुवानमा परेको भन्दै सभाषदहरूले यस्तो समस्या चाँडै समाधान गरिनु पर्ने बताए। नगरसभामा उठेका जिज्ञासा र प्रश्नको जवाफ दिने क्रममा नगर प्रमुख रोमनाथ ओलीले दमक डुवान हुने क्षेत्र नभए पनि मानव त्रुटी र गतिविधीकै कारण समस्या बढेको बताए। नगर क्षेत्रका सवै ढल तथा नाला बनाउन ४० करोड रुपैयाँभन्दा बढि लाग्ने भएकाले एशियाली विकास बैंक तथा विश्व बैंकमा परियोजना पेस गरी सकिएको उनले बताए।

‘पानीको बहावलाई रोक्ने काम कतै बाट हुनु हुँदैन, बिना अवरोध बग्न दिइयो भने क्षतिसमेत कम हुने देखिन्छ’ नगर प्रमुख रोमनाथ ओलीले भने–‘प्लटिङ क्षेत्रमा बनाइएका अव्यवस्थित बाटो, नालाहरूलगायतका कारण पनि डुवानको समस्या देखिएको हो, यस्तै नाला र ढललाई पूर्णता दिन पनि जरुरी छ, अब नगरले अल्पकालिन र दीर्घकालीन योजनासहित यसतर्फ लागिने छ।’

सवा अर्बको बजेट प्रस्ताव

नगरसभामा आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सवा अर्ब रुपैयाँ भन्दा बढिको बजेट भएको छ।  शनिबार सुरु भएको तेश्रो नगरसभामा नगरप्रमुख ओलीले १ अर्व २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाँको बजेट पेस गरेका हुन्। राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ र नगरको आन्तरिक आयको प्रक्षेपणका आधारमा बजेटको सीमा निर्धारण गरिएको उनले बताएका छन्। जनसंख्यालाई ५०, क्षेत्रलाई ३५ र गरिबीलाई १५ प्रतिशत अंकभार प्रदान गरी बजेट व्यवस्था गरिएको हो।

नगरसभामा विनियोजन ऐन प्रस्तुत गर्दै उपप्रमुख गीता अधिकारीले कर भुक्तानीलाई प्रोत्साहित गरिने, दरभन्दा दायरा बढाइने, समयमा कर बुझाउने र नबुझाउनेलाई पुरस्कार तथा दण्डको व्यवस्था गरिनेलगायतका विषय प्रस्तुत गरेकी थिइन्। नगरसभामा विनियोजन ऐन, करसम्बन्धी विधेयक र सञ्चित कोषसम्बन्धी विधेयक नगरसभामा पेस भएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिएका छन्। नगरसभामा सहभागी सभाषदहरूले बजेटमा कतिपय आवश्यक कार्यक्रम छुटेको भन्दै ती कार्यक्रमहरू समावेश गर्न सभाको ध्यानाकर्षण गराएका थिए। नगरपालिकाको बजेटमा विपन्नता पहिचान कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने उल्लेख छ। जसका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। अति विपन्न तथा प्रकोप वा अन्य कुनै कारणबाट आपत्तविपत्तमा परेका असाहाय, अपांगता भएका वा अनाथहरूको तत्काल राहत, उद्धार र व्यवस्थापन गर्न ‘कोही एक्लो छैन’ कार्यक्रम सञ्चालन हुने भएको छ।

प्राथमिकतामा २६ कार्यक्रम

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा २६ ओटा कार्यक्रमहरूलाई प्राथमिकताको सूचीमा राखेको छ।  नगर गौरवको योजनाको रूपमा रहेको दमक भ्यू टावरका लागि आवश्यक जग्गा नगरपालिकाको नाममा आई सकेको, दमक–३ मा संसारकै अग्लो बुद्धमूर्तीको डीपीआर तयार भएको र जमिनको भोगाधिकार प्राप्तिको प्रक्रिया अघि बढेको नगरसभालाई नगरप्रमुख ओलीले जानकारी गराए।

यस्तै दमक क्लिन इण्डस्ट्रियल पार्क निर्माणका लागि जग्गा अधिग्रहण प्रकृया अघि बढेको, भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी पूर्जा वितरण गर्ने प्रकृयाका लागि प्रारम्भिक काम थालिएको, पर्यटन प्रवर्द्धनका लागि छुट्टै नीति तयार गरिने, दमक मिनि ओलम्पिक सञ्चालन गरिने, २ वर्षभित्र दमकलाई वालमैत्री नगर बनाउनेलगायतका लक्ष्य तथा कार्यक्रमहरूसमेत नगर प्रमुख ओलीले सभामा पेश गरेका छन्।

एक झर्को पानीले अत्यावश्यकीय ठाउँ डुवानमा

शनिबार राति परेको झरीका कारण दमकका अत्यावश्यकीय स्थानहरू डुवानमा परे। दमकस्थित दमक अस्पताल, पशुहाट, रेडक्रसको सर्पदंश उपचार केन्द्र, किरात भवनलगायका क्षेत्र डुवानमा परे। रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्दै आएको रेडक्रस उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले भने–‘दमक डुवानमा पर्ने समस्या नौलो हुन छोड्यो, जबसम्म पानी निकासको दीर्घकालीन समाधान खोजिदैन तबसम्म यो समस्या वर्षेनी बढ्छ।’

डुवानकै कारण दमकको सरकारी अस्पताल दमक अस्पतालको सेवा प्रवाहमा पनि समस्या भयो। अस्पतालको तल्लो तला जलमग्न भएपछि बिरामीलाई अन्यत्र सारेर उपचार गरिएको निमित्त सुपरीटेण्डेन्ट डा. बिपीन पाण्डेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.