जाजरकोट : जाजरकोट सदरमुकामदेखि तीन घण्टा गाडीमा हिँडेपछि पाँचकाटिया पुगिन्छ। पाँचकाटियाबाट तीन घण्टाभन्दा वढी पैदल हिँडेपछि कुशे गाउँपालिका वडा ९ स्थित पैक मष्टा मन्दिरमा पुगिन्छ। दैनिक सयौं सर्वसाधारणले पूजा र दर्शन गदै आएको काठमाडौंको महांकाल देवीको उत्पतिस्थल पनि जाजरकोटको कुशे गाउँपालिका-९ पैंक स्थित मष्टा देवताको मन्दिर रहेको पैककै योगेन्द्र आरसीले बताए।
यहाँ दैनिक मानिसहरु आफ्नो बारेमा, आफन्तको बारेमा के हुन्छ भन्दै भविष्य हेराउन र विगतका भएका समस्याका विषयमा हेर्न लगाउनका लागि पैंकको मष्टा मन्दिरमा आउँनेको संख्य ठूलो छ। सवैको भाग्य रेखा हेर्ने दायित्व वोकेको ऐतिहासिक तथा धार्मिक महत्वका दृष्टिले निकै लोकप्रिय मष्टा मन्दिर क्षेत्रको उचित संरक्षण र सम्वर्धन गर्न सके ठूलो धार्मिक पर्यटकीय क्षेत्र बन्न सक्ने जानकारहरु बताउँछन्।
सडक र विजुली अनि सन्चारको पहुँच नभएको मष्टा मन्दिर उचित प्रचारप्रसार नहुँदा त्यति धेरै चर्चामा छैन। आरसीका अनुसार निकै महत्पूर्ण धार्मिक इतिहास बोकेको छ। मष्टा मन्दिर जाजरकोट राज्यको इतिहाससँग समेत जोडिएको स्थानीय राजनीतिज्ञ अमृत गौतम बताउँछन्।
मष्टा देवताको उतपत्ति
सुरुमा मष्टाको उत्पति जुम्लाको ढडार भन्ने स्थानमा भएको गौतमले बताए। ढडारबाट मुगु र बाजुराको बीचमा पर्ने कौवा भन्ने ठाउँमा पूर्ण मष्टा देवता देखा परेको उनको भनाइ छ। कौवाबाट ६ सय वर्षअघि जुम्लाको वुडु हुँदै बाजुरा र मुगुको सिमानाबाट मष्टा देवता जाजरकोट पैक पैंकमा आएको पुजारी पृथ्वीवहादुर रोकायले बताए। रोकायका अनुसार पैंकको मष्टा मन्दिरमा अहिलेसम्म धामीहरुको पुस्ता २६ पुगेको छ। स्वर्गका राजा भगवान् इन्द्रका चेलाको रुपमा चिनिने मष्टा देवताका १२ भाइ हुने गर्दछन्।
तीमध्ये जाजरकोटमा तीन भाइहरु रहेको रोकायले बताए। उनका अनुसार पैंकका तीन स्थानमा रहेका मष्टाहरुमा हारे मष्टा देवता पैंकमा, लाटो मष्टा देवता पैंककै विजुलडाँडामा र दूधे मष्टा पैंककै कफल्लामा रहेका छन्। अहिले पनि मन्दिर भित्र आगोको ज्वालाको प्रतिको रूपमा फटीकशिला (संकेत)रहेको र सवैले सधै देख्न नपाए पनि कुनै विशेष दिनमा कोहि कोहिले मात्र देख्ने गरेको उनले बताए। २०३४ सालमा मन्दिरमा रहेको महत्वपुर्ण मूर्ति चोरी भएको र कसैले पनि उक्त मूर्ति खोजी नगरेको स्थानीयवासीको दुखेसो छ।
अहिले पनि पूर्णिमाको दिन वा अन्य कुनै विशेष दिनमा मष्टा मन्दिरका धामी र पूजारीले केही चमत्कारपूर्ण काम गर्ने गरेको अर्का स्थानीय दीपेन्द्र आरसीले बताए।
भदौं पूर्णिमा, इन्द्रजात्रा, विभिन्न पूर्णिमाहरुमा यहाँ निकै ठूलो मेला लाग्ने गर्दछ। स्थानीयहरुको मष्टा मन्दिरप्रति निकै ठूलो आस्था र विश्वास रहेको छ। मन्दिरमा बोकाको बली चढाउने, धामीहरु देवता चढेको बेला नाँच्ने, तथा अन्य रमाइला तथा धार्मिक क्रियाकलाप हुने गरेका छन्। पैंकको मष्ठा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वबारे बाहिर प्रचारप्रसार नहुनुले मन्दिर ओझेलमा परेको स्थानीयवासीको गुनासो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।