|
फोटो : दीपक केसी

काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पछिल्लो समय राजतन्त्र पक्षधरहरु सत्ता कब्जाको रणनीतिमा रहेको दावी गरेका छन्। सोमबार सुरु भएको पार्टीको राष्ट्रिय भेलाको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै वैद्यले राजतन्त्र पक्षधर हाबी भए सबै माओवादी मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन्। ‘

पछिल्लो समय राजतन्त्र पक्षधरहरुले आफ्नो सक्रियता बढाउँदै सत्ता कब्जा गर्ने रणनीति लिएको बुझिन्छ’ उनले आफ्नो प्रस्तावमा लेखेका छन्, ‘राजतन्त्रका विरुद्ध हामी सबै माओवादी र अन्य राजनैतिक दलसँगको सहकार्यमा अघि बढ्छौं।’

प्रचण्डसँगको एकताको ढोका बन्द

रामबहादुर थापा समूहले पार्टी छाडेपछिको पहिलो राष्ट्रिय भेलामा वैद्यले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता हुने ढोका बन्द भइसकेको बताएका छन्। राजनैतिक प्रतिवेदनमा उनले माओवादी केन्द्रले जनवादी क्रान्तिको कार्यदिशालाई त्यागेकाले एकताको ढोका बन्द भएको उल्लेख गरेका हुन्। उनले जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न पार्टीले जुनसुकै खालको आन्दोलन पनि गर्ने बताएका छन्। वैद्यले त्यसका निम्ति आवश्यक परे बन्दुक समेत उठाउन तयार हुनुपर्ने प्रस्ताव गरेका छन्।

आगामी निर्वाचनमा भाग नलिने

नेकपा क्रान्तिकारी माओवादीले आगामी स्थानीय, प्रादेशिक तथा केन्द्रीय निर्वाचनमा भाग नलिने प्रष्ट पारेको छ। वैद्यले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा जनवादी क्रान्तिको कार्यभार पूरा नभएसम्म निर्वाचनमा नजाने उल्लेख गरिएको छ। त्यससँगै उनले राष्ट्रिय स्वाधीनता र जनजीविकाको विषयमा जारी आन्दोलनमा भाग लिनुका साथै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पार्टी संघर्षमा उत्रिनुपर्ने बताएका छन्। वैद्यले संघीय गठबन्धनको आन्दोलनमा आफुहरु पनि सहभागी हुने बताएका छन्।

बन्दसत्रमा अध्यक्ष वैद्यले आफ्नो प्रतिवेदन पेश गरेसँगै प्रतिवेदनमाथिको छलफल सुरु भएको छ। काठमाडौंको ओम साई पार्टी प्यालेसमा जारी बन्दसत्रमा प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्न थालेका केन्द्रीय सदस्य कान्छाराम तामाङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.