|

काठमाडौं : इतिहास त्यसैको लेखिन्छ, जो सफलताको शिखरमा पुगेको हुन्छ। हार्नेहरूको पनि यदाकदा हामीले जीवन नपढेको होइन। शोक, अभाव, रोगसँग लडेका हरिभक्त कटुवाल अन्तत: आफ्नै समकालीन साथीहरू र रोगसँग हारे, जसका कारण आजका पुस्तामा रक्सी र हरिभक्त कटुवाल पर्यायवाची शब्द हुन् कि भन्ने भ्रम सिर्जना भएको छ।

एउटा सर्जक उसको सिर्जनाले बाँच्छ। एउटा सर्जक सर्जक मात्र होइन, ऊ कसैको साथी हो, कसैको आधार हो र समाजको एक हिस्सा पनि। लत आफैँमा खतरनाक चिज हो। अपवादबाहेक हरेक मान्छेको लत हुन्छ। ऊ उक्त लतबाट बिमुख हुन सक्दैन। के हरिभक्त कटुवाललाई हाम्रो पुस्ताले जँड्याहाको रूपमा मात्र बुझ्दा उनीमाथि न्याय होला? कटुवाल नेपाली साहित्यका त्यस्ता नक्षत्र हुन्, जसले आफ्नो जीवनकालमा कालजयी गीत र कविता कोरे। तर उनीमाथि लागेको खराब लतलाई लिएर उनका सुन्दर सिर्जनामाथि अन्याय भएको यादाकदा सुन्न र देख्न पाइन्छ।

भारतबाट २०२३ सालमा नेपाल आएका उनी २०३७ सालमा कहिल्यै नफर्कने गरी आसाम फर्किए। १४ वर्ष नेपाली भूमिमा बसेर नेपाली गीत, कविता र साहित्यको उन्नयन र प्रवर्द्धनमा लागेका उनी खाली हात रोग र शोक लिएर आसाम फर्केका थिए। आसाम हुँदासम्म रक्सीसमेत सुन्न नचाहने कटुवाल नेपालको बसाइमा रक्सीका अम्मली बने। उनले आफ्नो जीवनकालमा के कस्ता कठिनाइहरू भोगे? को हुन् उनी? उनको बाल्यकालदेखि मृत्युपर्यन्तका अनेकन उतारचढावहरू कस्ता थिए? कटुवालको विषयमा लामो समय खोज अनुसन्धान गरिरहेका गजलकार तथा नाट्यकर्मी पुरु लम्सालले केही समयअघि कटुवालको जन्मदिनको अवसरमा  'अनि हरिभक्त फर्किएनन' भन्ने वृत्तचित्र राजधानीमा देखाए। 'अझै पनि हाम्रो समाजमा जो निर्धो छ, जो आर्थिक रूपमा विपन्न छ, जसको पारिवारिक धरातल कमजोर छ, उसको बारेमा अनेक खाले टीकाटिप्पणी गरिन्छ। त्यसको मारमा कटुवाल परेका छन्। के त्यति बेला अरू साहित्यकारले रक्सी खाँदैनथे?, उनी भन्छन्, ' के अरू साथीले खाने रक्सी र उनले खाने रक्सीमा अन्तर थियो ? उनका बारेमा अनेक टिप्पणी गरिरहँदा अरू लेखक पानीमाथिको ओभानो किन भइरहेका छन्?'

उक्त कार्यक्रममा लम्सालले हरिभक्त कटुवालको अर्को जन्मदिनसम्म उनको नाममा प्रतिष्ठान खोल्ने उद्घोष गरिसकेका छन्।

यस कारण बन्यो 'अनि हरिभक्त फर्किएनन्'

२०५४/०५५ सालतिर रेडियोमा गीत बज्यो- "मलाई नसोध कहाँ दुख्छ घाउ।' यो गीत सुनेका लम्सालले त्यसपछि मात्र थाहा पाएका हुन्, लेख्ने, गाउने र संगीत भर्ने फरक फरक मान्छे हुन्छन् भनेर। त्यसपछि लम्साल काठमाडौं आए अनि हरिभक्त कटुवालको खोजीनीति गर्न थाले। तर विडम्बना! लम्साल जन्मनुभन्दा दुइ वर्षअघि कटुवालको मृत्यु भइसकेको रहेछ। त्यसपश्चात् उनका बारेमा उनका समाकालीन साथीहरूसँग बुझ्न थाले। हरेक उनका साथीहरूले ऊ एक जँड्याहा मात्र हो भन्ने  जवाफ दिएपछि पक्कै केही गडबड छ भन्ने लाग्यो उनलाई। उनको मृत्युपश्चात् उनको सम्झना रक्सीको किस्सा आउँदा मात्र हुन थालेपछि लम्साल आफैँले आफ्नो खर्च गरेर उनको वृत्तचित्र बनाए। कार्यक्रम पनि उनले आफैँ गरिरहेका छन्। उनी भन्छन्, 'म प्रमाणित गर्न चाहन्छु, नेपाली साहित्यमा हरिभक्त कटुवालको योगदान कति थियो भनेर। उनको रक्सीको जिन्दगी मात्र होइन, उनले जिन्दगीमा भोगेका तीता मीठा अनुभव, उनीमाथिका आरोप के कति सत्य छन्, के कति गलत छन् भनेर देखाउन चाहन्छु। ' यही कारण पनि आफूले  कटुवालको बारेमा गम्भीर रूपमा अनुसन्धान गरिरहेको बताउँछन् लम्साल।

कटुवालको नाममा प्रतिष्ठान स्थापनाको आवश्यकता

'त्यो डायरी डायरी मात्र होइन, उनको जीवनको एक महत्त्वपूर्ण दस्तावेज थियो, जहाँ उनले आफ्ना जीवनका महत्त्वपूर्ण विषयको बारेमा रोचक प्रसंगहरू लेखेका छन्।'

नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपालका धेरै पुराना स्रष्टाहरूका नाममा मृत्युपश्चात् प्रतिष्ठान खोलिएका छन्। उनीहरूको जन्मजयन्ती र समृति दिवसका दिन उनीहरूको सम्झना गरिएको देखिन्छ। तर आजसम्म कटुवालको योगदानको चर्चा कहीँ भएको छैन। के उनी रक्सीले मात्र चिरपरिचित छन् त? लम्साल भन्छन्, 'अर्को वर्ष उनको जन्मदिनसम्ममा कानुनी विधि र विधान पुर्‍याएर उनको नाममा प्रतिष्ठान खोल्ने तयारीमा छौँ। केही सहयोगी हातहरूले हाम्रो यो कामलाई सहयोग गर्ने बताइसकेका छन्।'

गत असार १८ गते कथाकार माया ठकुरीले उनको नाममा वार्षिक १५ हजार रुपैयाँ सहयोग गर्ने बताइसकेकी छन्। प्रतिष्ठानको आवश्यकता किन? भन्ने प्रश्नमा लम्साल भन्छन्, 'उनका आजसम्मका कृतिहरूको रोयल्टी उठाएर उनको परिवारलाई दिने कुरा छ। केही रकम प्रतिष्ठानमा राखेर कटुवालको बारेमा खोज अनुसन्धान गर्ने व्यक्तिहरूलाई सहयोग गर्ने मूल उद्देश्य रहेको छ।' उनी थप्छन्, 'आजसम्म रत्न पुस्तक भण्डारले कटुवालको परिवारलाई ३० हजार रुपैयाँ दिएको छ। के उनका कृतिको मूल्य ३० हजार मात्र हो? साझा प्रकाशन र रेडियो नेपालमा बज्ने उनका गीतको रोयल्टी कहाँ गयो?' यसको एकएक हिसाब गर्ने लम्साल बताउँछन्।

आखिर के थियो रातो डायरीभित्र?

कटुवालको एउटा रातो डायरी थियो, जुन उनी बिरामी भएर अस्पतालमा छँदा हराएको थियो भन्ने थुप्रै साहित्यकारहरूको मुखबाट सुन्ने गरिन्छ। लम्सालले कटुवालका नजिकका मित्रसँग उनको रातो डायरीभित्र के थियो भन्नेबारेमा सोधखोजसमेत गरेको बताए। उनी भन्छन्, 'त्यो डायरी डायरी मात्र होइन, उनको जीवनको एक महत्त्वपूर्ण दस्तावेज थियो, जहाँ उनले आफ्ना जीवनका महत्त्वपूर्ण विषयको बारेमा रोचक प्रसंगहरू लेखेका छन्।'

आखिर त्यो डायरीभित्र महत्त्वपूर्ण विषयहरू छन् भन्ने ग्यारेन्टी के छ? भन्ने प्रश्नमा लम्साल निश्चिन्त भएर भन्छन्, 'उनको गीत मलाई नसोध कहाँ दुख्छ घाउ उक्त डायरीभित्रबाट च्यातेर दिएको भन्ने नजिकका मित्रहरूको जवाफ रहेको छ। अर्को कुरा, यदि त्यसभित्र केही थिएन भने किन कसले बिनाकारण कसैको घरभित्र पसेर चोरेर लग्यो त?' उनी प्रतिप्रश्न गर्छन्। कतै उनले हराउन पनि सक्छन् भन्ने कुरा पनि आम जनमानसमा आएको तर उनी जब बिरामी परे, तब उनले उक्त रातो डायरी सिरानीमा नै राखेको र वीर हस्पिटलको बेडमा बसेर आफ्नो रातो डायरी घरमा नै रहेको बताइरहने कुरा पनि उनका समकालीन साथीहरू पत्रकार तथा सम्पादकद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरेले बताएको लम्साल बताउँछन्।

कटुवालका जम्मा १३ मलामी

कटुवालको जन्म सन् १९३५ जुलाई २ अर्थात् वि.सं.१९९२ असार १८ मा  आसामको वर्डविल ख्वान्ग्गा गेरगरीमा भएको थियो। वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको कोखबाट उनको जन्म भएको थियो।

कटुवालका रचनाहरू त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा रहेका छन्। आसाममा पनि उनको साहित्य रचनालाई उच्च सम्मानका साथ लिने गरिन्छ। उनको मृत्यु भने नेपालबाट फर्किएको तीन महिनापछि २०३७ भदौमा डीर्बुगढ मेडिकल कलेजमा भएको थियो। अन्तिम संस्कार चौकीढिङको मसानघाटमा गरिएको थियो।

उनको शवयात्रामा मलामीको संख्या जम्मा १३ जना थियो भन्ने उनीमाथि बनेको उक्त वृत्तचित्रमा समेत देख्न पाइन्छ। राजा महेन्द्रले 'केही जग्गा दिन्छु, त्यसैमा बस' भन्दा 'होइन हजुर, म साहित्यको खेती गर्ने मान्छे हुँ। मलाई यो जग्गाको के काम?' भन्न सक्ने मान्छे हुन् कटुवाल। कटुवाल र अभाव पनि पर्यायवाची शब्द बन्न पुगे। प्रज्ञाप्रतिष्ठानबाट अनेक जालसाजी गरेर कटुवाललाई निकालिनु नै नेपाली साहित्यको महाभूल ठान्छन् नगेन्द्रराज शर्मा।

आफ्नो स्वाभिमान र इमान्दारीबाट नचुकेका कटुवालले मलामीसमेत कमाएनन् अन्तत:। के कारण थियो त उनको मलामी जम्मा १३ जना हुनुमा? लम्साल गम्भीर हुँदै भन्छन्, 'किनकि उनी क्षयरोग र अल्सरबाट ग्रस्त थिए एकातिर भने आफ्नो ऊर्जाशील समय नेपाली भूमिमा बिताएका हुनाले आसाममा उनका साथी भएनन्।' क्षयरोग आफैँमा सरुवा रोग भएकाले पनि धेरै मान्छे उनका नजिक जान डराएको उनी बताउँछन्। बजारमा रक्सीका कारण धेरै मान्छेसँग झगडा गरेर व्यक्तिगत सम्बन्ध बिगारेको आरोप पनि उनीमाथि लाग्दै आएको छ। लम्साल भन्छन्, 'सम्बन्ध बिगारेको आरोपचाहिँ नीच र कुण्ठितहरूको अभिव्यक्ति हो, यसमा कुनै विश्वसनीयता छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.