|

कञ्चनपुर : मापदण्ड विपरीत खोटो संकलन गरिँदा डडेल्धुराको आलिताल गाँउपालिका–३ कुलेडीमा रहेको बैजनाथ सामुदायिक वन मासिँदै जान थालेको छ।

दिव्या रोजिन एण्ड टर्पेन्टाइन कम्पनी, कैलाली अत्तरियाले जथाभावी खोटो संकलन गर्दा वन क्षेत्रमा रहेका दश प्रतिशत सल्लाका रुख सुकेका छन्। वनमा रहेका करिब डेढ लाखभन्दा बढी रुख सुक्ने अबस्थामा पुगेका छन्। खोटो संकलन कार्यविधि निर्देशिका २०६४ ले निर्धारण गरे अनुरुप रुखको छनौट नगर्दा वन मासिँदै जान थालेको वैजनाथ सामुदायिक वनका कोषाध्यक्ष लक्ष्मीराज शर्माले बताए।

अध्यक्ष शर्माका अनुसार ३० सेन्टिमिटर डायमिटरभन्दा सानो रुखबाट पनि खोटो संकलन गरिएको छ। यस्तै, एकै सिजनमा एकै रुखमा दुईदेखि चार स्थानसम्म ब्लेज बनाई रिल काटेर खोटो संकलन गरिएको छ। जुन मापदण्ड विपरीत छ। रुखको पुरानो घाउ नलिइएको, खोटो संकलन गरिएको रुखको वरिपरि एक मिटर अर्धव्यासमा सरसफाइ नगरेको, खोटोका कुपी जंगलमा छरिएर राखेको र अधिक खोटो संकलनका कारणले रुखहरु सुक्दै गएको अध्यक्ष शर्माले बताए।

सामुदायिक वनका पदाधिकारी, जिल्ला वन कार्यालयका कर्मचारी, सेक्टर वन कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहितको टोलीले वनको निरीक्षण गर्दा वन क्षेत्रमा मापदण्ड विपरीत खोटो संकलनको कार्य भैरहेको पाइएकाले वन विनास हुँदै गएकाले निष्कर्ष निकालिएको छ। उक्त टोलीले खोटो संकलनको कार्य बन्द गर्नुपर्ने सुझाव दिएको छ।

अध्ययनका क्रममा एकै रुखमा चारदेखि १५ वटासम्म कुपी राखिएको पाएको छ। प्रतिहेक्टर पाँच वटा स्वास्थ्य रुख नछाडी सबै रुखबाट खोटो संकलन गरेको, टुप्पो भाँचिएको र घाइते रुखबाट समेत खोटो संकलन गरिएको पाइएको छ।

वन क्षेत्रमा व्यापक रुपमा खोटो चुहिएकाले आगलागी प्रवल सम्भावना रहेको सामुदायिक वनका अध्यक्ष बासुदेव भट्टले बताउँछन्। ‘वन संरक्षण गरेर यहाँसम्म पुर्यायौं,’ उनले भने, ‘जथाभावी खोटो संकलन हुँदा रुख नै सुकेर भू–क्षयको समस्या समेत उत्तिकै बढेको छ।’

खोटो संकलनका कारण वन विनास बढदै गएपछि पुनः उत्पादन नहुने र वन पैदावार, जैविक विविधता नष्ट भई मानव तथा प्राणी जीवनमा ठुलो असर पर्ने उनको भनाइ छ। यसबारे पटक–पटक जिल्ला वन कार्यालय र खोटो संकलन गर्दै आएको कम्पनीलाई सचेत गराए पनि कुनै सुनुवाइ नभएको उनले बताए।

सामुदायिक वन समूहले जिल्ला वन कार्यालय डडेल्धुरा, दिव्य रोजिन एण्ड टर्पेन्टाइन प्रा.लि., प्रा.लि.का प्रोपराइटर र प्रबन्धकविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट निवेदन दर्ता गरेको छ। रिटमा निवेदनको अन्तिम टुङ्गो नलागेसम्म विपक्षीलाई अवैध रुपमा खोटो संकलन गर्ने कार्य नगर्नु, नगराउनु र संकलति खोटो ढुवानी नगर्नु, नगराउनु भनी आदेशको माग गरिएको छ।

रिट दर्तापछि जिल्ला वन कार्यालय डडेल्धुराका कर्मचारीले फोन गरी धम्क्याउने गरको सामुदायिक वनका पदाधिकारीले बताए। सामुदायिक वनका पदाधिकारीले भने, ‘हामीलाई नसोधी अदालतमा मुद्दा किन हाल्यौ, यसको परिणाम ठिक हुने छैन भनेर धम्की आउन थालेको छ’

यस्तो छ खोटो संकलन कार्यविधि

खोटो संकलन कार्यविधि निर्देशिका २०६४ मा कार्यविधिले निर्धारण गरेको व्यवस्था अनुरुप मात्रै खोटो संकलन गर्ने प्रावधान राखिएको छ।

निर्देशिकाको दफा ७ (१) मा खोटो संकलनका लागि रुखको छनौट गर्दा जमिनको सतहबाट एक मिटर ३० सेन्टिमिटरमा मा ३० सेन्टिमिटर वा सोभन्दा बढी व्यास भएका रुखहरुको छनौट गर्नु पर्ने, चोटपटक लागेको, टुप्पो भाँच्चिएको रुख र भू–क्षय हुन सक्ने स्थानमा रहेका रुखहरुको छनौट गर्न नपाइने व्यवस्था रहेको छ।

यसैगरी, दफा ७ को(२) मा पुनः उत्पादनमा असर नपर्ने गरी भविष्यमा कुनै किसिमको रोग, किराको आक्रमण वा दैवी प्रकोप वा अन्य कुनै कारणबाट सल्लाको वनमा पर्ने सक्ने प्रतिकूल प्रभाव नपर्ने गरी प्रतिहेक्टर पाँच वटा स्वास्थ्य रुख छोडनु पर्ने, नम्बर लगाइएका रुखमा मात्र रिल निर्माण गरी खोटो संकलनकर्ताले वृक्षरोपण गर्नु पर्ने, खोटो वनमा जथाभावी भुइँमा फाल्न नहुने, कुपी एकत्रित गरेर राख्नु पर्ने र कुनै पनि किसिमले वन विनास हुन नदिने प्रावधानका साथ खोटो संकलन गर्नु पर्ने व्यवस्था छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.