|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्ट्रेलिया भ्रमण अन्तिम समयमा स्थगित भएपछि राजनीतिक वृत्तमा अनेक टिकाटिप्पणी सुरु भएको छ। 

अस्ट्रेलियामा माओवादी केन्द्रको भातृ संगठन जनप्रगतिशील मञ्चको अधिवेशन उद्घाटन गर्न बुधबार दिउँसो १ बजे जान लागेका प्रचण्डको भ्रमणको सबै तयारी पूरा भइसकेको थियो। तर उनको भ्रमण अन्तिम समयमा किन स्थगित भयो त? त्यसको कारण भ्रमणअघि प्रचण्डले प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको भेटलाई मानिएको छ।  

किन भयो भ्रमण स्थगित ?

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा छलफल गर्नुपर्ने बताएपछि प्रचण्डले भ्रमण स्थगित गरेका हुन्। राष्ट्रिय सरकार गठनका लागि ओली र देउवा दुवै तयार भएपछि प्रचण्डले भ्रमण स्थगित गरेका हुन्। ‘अस्ट्रेलिया भ्रमणपछि राष्ट्रिय सरकार गठनका निम्ति म र हाम्रो पार्टी गम्भीर भएर लाग्ने मेरो सोँच थियो’ भ्रमण स्थगनपछि थाहा खबरसँगको टेलिफोन संवादमा प्रचण्डले भने, ‘प्रधानमन्त्री ओली र देउवाजीले राष्ट्रिय सरकार लगायतका समसामयिक राजनीतिका विषयमा छलफल गर्नुपर्नेमा जोड दिएपछि भ्रमण स्थगित गरेको हुँ।’

भेटमा देउवाले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल आवश्यक रहेको बताएका थिए। ‘तपाईंले भन्नुभएजस्तै जसको नेतृत्वमा सहमति जुट्छ उसैको नेतृत्वमा सरकार गठन गर्न हाम्रो पार्टी तयार छ, त्यसैले भ्रमणपूर्व राष्ट्रिय सरकारमा जुटौं' देउवाले प्रचण्डसँग भनेको कुरा उधृत गर्दै श्रोतले भन्यो।

प्रचण्डले सरकार परिवर्तनका विषयमा देउवा र प्रधानमन्त्री ओलीसँग छलफल भएको पार्टीका नेताहरुलाई पनि जानकारी गराएका थिए। त्यसपछि प्रचण्डलाई भ्रमण स्थगनका लागि पार्टीभित्रैबाट पनि सुझाव आएको थियो। 

देउवाले अहिले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। तर प्रचण्डले भने राष्ट्रिय सरकारको नेतृत्व गर्ने चाहना राखेका छन्। 

के भने प्रधानमन्त्रीले? 

प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको प्रसंग उठाउने बित्तिकै प्रम ओलीले राष्ट्रिय सरकार निर्माण भएको खण्डमा आफु सरकार छाड्न तयार रहेको बताएका थिए। ओलीले राष्ट्रिय सरकार निर्माणका लागि छलफल आवश्यक रहेको औल्याएका थिए। 

प्रचण्ड सचिवालयका अनुसार ओलीले देशको वर्तमान परिस्थितिका कारण अध्यक्ष प्रचण्ड लामो समय बाहिर बस्न उपयुक्त नभएको भन्दै सुझाएपछि भ्रमण स्थगित गरेका हुन्। पार्टीभित्रका आन्तरिक किचलो मिलाउनुका साथै पार्टीका कामको चाप भ्रमण स्थगनको अर्को कारण भएको कारण भएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले बताए। 

यस्तो थियो प्रचण्डको अस्ट्रेलिया भ्रमण तालिका

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्ट्रेलियामा जनप्रगतिशील मञ्चको अधिवेशनसँगै जुन २३ तारेखमा मेलबर्नमा रहेका नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम थियो। त्यस्तै जुन २४ मा उनी सिडनी पुग्ने कार्यक्रम तय भएको थियो। 

प्रचण्ड सचिलालयका अनुसार अस्ट्रेलियाका स्थानीय कृषि फार्म, विकास निर्माणस्थलको भ्रमण गरी प्रचण्ड जुन २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.