|

काठमाडौं : काभ्रेको माकुरीस्थित महेन्द्र माविमा अध्ययन गर्दै गर्दा उनीहरू अनेरास्ववियुमा आवद्ध भए। सँगै काम गरे। सँगै काम गर्दै गर्दा नजर जुध्यो, भावना मिल्यो अनि उनीहरू प्रेममा परे। त्यो प्रेम यति लामो चल्यो कि डेढ दशक हुँदासम्म उनीहरू प्रेमिप्रेमिका नै रहिरहे। उनीहरू अर्थात् नविना लामा र प्रवीण श्रेष्ठ।

काभ्रेको माकुरीडाँडामा हुर्किएको प्रेमले काठमाडौंमा झाँगिने मौका पायो, जब उनीहरू २०५६ सालमा एसएलसी पास गरेर काठमाडौं आए। काभ्रेबाट राजधानी आएकी नविनाले केही समय फिल्म ‘म्हेन्दोला माया'मा समेत अभिनय गरिन् तर उनलाई हिरोइन होइन, नेता बन्नु थियो।

प्रारम्भिक कमिटीमार्फत् अखिलमा संगठित भएकी नविना अनेरास्ववियुको २२औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइन्। यसले उनलाई युवा नेत्रीका रूपमा स्थापित गरिदिएको छ भने अभिनेत्री बन्ने सपनाको बाटो भने छेकिदियो ।

'सांसद भए पनि नभए पनि विवाहको सोच लगभग अध्यक्ष भएपछि नै आइसकेको थियो। बीचमा लामो समयपछि हुने स्ववियु निर्वाचनका कारणले पछाडि सार्नुपर्ने अवस्था आयो।'

अभिनेत्री हुँदै उनी विद्यार्थी राजनीतिमा सक्रिय भइन्। खासगरी बानेश्वर क्याम्पसको स्ववियु राजनीतिमा नविनाको सक्रियता कायमै रह्यो। २०५८ सालमा स्ववियु सभापतिमा पराजित भएपछि उनको राजनीतिक यात्राले थप गति लियो। उनको राजनीतिसँगै प्रेमले पनि गति लियो।

'राजनीतिका कारण विहे पछि सर्‍यो'

संगठनको कामको सन्दर्भमै उनीहरूको भेट भयो र प्रेम झाँगियो। राजनीतिमा लागिसकेपछि उनको करिअरले गति लिँदै गयो, जिम्मेवारीहरू पनि बढ्दै गए। अनेरास्ववियुका विभिन्न भूमिकामा रहेर उनले काम गरिन्। त्यो बेलाको विद्यार्थी संगठनको नेतृत्व निकै शक्तिशाली हुने गरेको उनले स्मरण गरिन्। 'त्यो बेला संगठनमा काम गर्ने संगठित टिमहरू थिए। ती टिमहरू एकदमै बलिया थिए। ती भावनात्मक पनि थिए र अलिकति शक्तिशाली पनि', उनी भन्छिन्, 'गाउँबाट एसएलसी दिइसकेपछि हामी उच्च शिक्षा पढ्न काठमाडौं आयौँ। त्यसले गर्दा एकले अर्काको भावनामा नजिकिने मौका प्राप्त भयो।'

त्यतिञ्जेल आफ्नो व्यक्तिगत जीवन व्यवस्थित गर्ने कुरा ढिलो भइसकेको थियो। परिवार, साथीभाइ सबैको चिन्ता उनले विवाह गरे हुन्थ्यो भन्ने थियो। नविनाले भनिन्, 'संगठनको अध्यक्ष भएपछि विहे गर्छु।' काममा व्यस्त हुनुपरेकाले विवाह अलिकति ढिलाइ भएको महसुस भएको उनी बताउँछिन्।

संगठनको नेतृत्वमा आइसकेपछि व्यक्तिगत जीवनलाई व्यवस्थापन गरेर लैजानुपर्ने हुन्छ। सामाजिक क्षेत्रमा काम गर्नेहरूको व्यक्तिगत जीवन त्यति सहज हुँदैन। सोही कुरा नविनाले पनि भोगिन्, जसले गर्दा व्यक्तिगत जीवनलाई कम प्राथमिकता दिएर संगठनको कार्यकारी जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आयो। अध्यक्ष भएपछि विवाह गर्ने भने पनि लगत्तै लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन, स्थानीय निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन आए। यसले गर्दा उनको विवाह झन पर सर्‍यो।

'मैले सांसद भएपछि त होइन, अखिलको अध्यक्ष भएपछि विवाह गर्छु भनेकी थिएँ। कामको कारणले गर्दा ढिलो भयो', नविनाले भनिन्, 'सांसद भए पनि नभए पनि विवाहको सोच लगभग अध्यक्ष भएपछि नै आइसकेको थियो। बीचमा लामो समयपछि हुने स्ववियु निर्वाचनका कारणले पछाडि सार्नुपर्ने अवस्था आयो।'

हामीकहाँ केही सानो समस्या आयो, केही सानो गलत बुझाइ हुनेबित्तिकै सम्बन्धमा दरार आउँछ। यतिसम्म कि सानो घटनाकै कारण सुन्दर जोडी छुट्टिएको पनि हामीले देखेका छौँ तर नविना र प्रवीणको प्रेम लामो समयसम्म निरन्तर चल्यो।

केही सानातिना झगडा भए पनि उनीहरूको सम्बन्धमा त्यस्तो ठूलो समस्या कहिले पनि नआएको बताउँछिन् उनी। एकअर्कामा विश्वास, प्रेम भएमा त्यस्तो ठूलो समस्या नहुने उनको भनाइ छ। भन्छिन्, 'प्रेम भनेको एकले अर्कालाई माया गर्नु मात्र होइन, त्यससँगै जुनसुकै परिस्थितिमा पनि त्याग पनि गर्न सक्नुपर्छ। संघर्ष, त्याग, विश्वास, माया भन्‍ने कुरा एउटा सफल प्रेमका निम्ति आवश्यक कुरा हुन्।'

सांसद बुहारी

नविना र प्रवीणको विवाह भएको तीन महिना पूरा भयो। विवाहपछि उनी आफ्नो जन्मघर बानेश्वरबाट पेप्सिकोला सरेकी छन्। विवाह भएर बुहारी भएकी नविनाको दैनिक जीवनमा भने खासै परिवर्तन भएको भने छैन। उनी अनेरास्ववियुकी अध्यक्षसँगै प्रतिनिधिसभा सांसदसमेत हुन्। यसले गर्दा उनको व्यवस्तता उस्तै छ।

'संगठनको कामले गर्दा मेरो दैनिकीमा खासै फरक आएको छैन। संगठनको काममा नहिँडेर घरको काममा व्यस्त भएको भए केही फरक हुने थियो होला। अहिले पनि संगठनको काममा हिँडिरहेकी छु। त्यसैले हिजो र आजमा केही फरक छैन', उनी भन्छिन्।

तर विवाहपछि भने उनी चाँडै घरमा पुग्‍ने गर्छिन्। संगठनको बैठक, भेला, भेटघाटसँगै साथीहरूसँग भुलेर घर ढिलो पुग्ने नविना हिजोआज समयमै घर पुग्ने गरेकी छिन्। 'अरू कुरामा समय दिन नसके पनि घर छिटो पुग्ने कुरामा, सोच्‍ने कुरामा चाहिँ फरक आएको छ', नविनाले भनिन्, 'पहिले त साथीहरूसँग फुर्सदको बेलामा भेटघाट गरेर ढिलो गरिन्थ्यो। त्यो कुरामा चाहिँ अहिले परिवर्तन आएको छ। छोटो मीठो भेटघाट गरेर घरमा कुदिहाल्नुपर्ने हुन्छ।'

कामको व्यस्तताअनुसार बाहिर निस्कने गरेकी नविना कहिलेकाहीँ भान्सामा पनि छिर्ने गरेकी छन्। फुर्सदमा उनी खानासमेत बनाउने गर्छिन्। अहिलेसम्म हरेक काममा परिवारबाट सहयोग पाइरहेको उनी बताउँछिन्।

घरबाहिर गइरहने हुँदा कहिलेकाहीँ परिवारका सदस्यले घरमै बस्ने अनुरोध गर्ने गरेको नविनाको भनाइ छ। घरकी बुढी हजुरआमाले गुनासो गर्ने गरेको उनले बताइन्। 'घरमा बुढी सासुआमा पनि हुनुहुन्छ', उनी भन्छिन्, 'उहाँले कति व्यस्त हो, हामीसँग बस्‍ने फुर्सद छैन? कहिलेकाहीँ छेउमै बसिराख्‍नु भन्‍नुहुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.