|

झापा : २०२४ सालको बैशाखमा धनकुटाको ताङ्खुवामा जन्मिएका शैलेन्द्र श्रेष्ठको परिवार त्यस बेलाको हुनेखाने नै थियो। खान लाउन दुःख थिएन तर सानैमा बसाइँ सरेकाले बाल्यकाल र प्रारम्भिक शिक्षा भने झापाको दमकबाटै सुरु भयो। चार वर्षकै उमेरमा उनी परिवारसहित बसाइँ सरेर आए। ईन्द्रबहादुर र ईन्द्रकुमारीका पाँच छोरा र एक छोरीमध्येका काइँला उनी। दमकका तत्कालीन पृथ्वी प्रावि हुँदै हिमालय मावि र विराटनगरको महेन्द्र क्याम्पसबाट अध्ययन गरेका उनको पहिचान भने अन्तर्राष्ट्रिय खेलाडी हो। 

२०३९ सालमा हिमालय माविबाट सहभागी टोलीले वीरेन्द्र सिल्डमा झापा प्रथम भएपछि उनी निरन्तर भलिबलमा लागिरहे। २०४२ सालमा भलिबलको राष्ट्रिय टिममा सहभागी उनी पाँचौँ र छैठौँ सार्क भलिबलमा पनि नेपालको तर्फबाट सहभागी भए। एसियन गेमका लागि भने आइसकेको टिकट नै फुत्किएपछि भने उनको अवसर गुम्यो। ‘एसिएसन गेमका लागि मलाई पनि टिकट त आएको रहेछ’, उनले गुनासो पोखे, ‘तर त्यस्तै हो नि! अरू नै गए मैले मौका पाइनँ।’ उमेरले पाँच दशक काटे पनि उनी अझै भलिबलमा सक्रिय छन्। बेलाबेला हुने प्रतियोगितामा भाग पनि लिइरहेका छन्। स्विमिङ पुल संचालन गरेर व्यावसायीक रूपमा क्रियाशील रहे पनि उनी भलिबलबाट औपचारिक रूपमा अझै पनि सन्यास नलिएको बताउँछन्।

प्रहरीलाई झुक्याएर जागिर

राम्रा खेलाडीहरूलाई अझै पनि विभागीय टिमहरूले तान्ने चलन छ। उनी क्रियाशील रहेको बेला संस्थानहरू पनि शक्तिशाली टिमका रूपमा थिए। त्यसैले विभिन्न संस्थानले पनि खोजीखोजी खेलाडी अनुबन्ध गर्थे। त्यही क्रममा उनी २०४४ सालतिर नेपाल आयल निगमको नजरमा परे। संस्थानहरूले राम्रो तलब पनि दिन्थे। तीन दशकपछि ती दिन सम्झँदै उनले भने, ‘ठ्याक्कै त बिर्सें तर महिनाको १८ सयजति तलब थियो, खेलाडीका लागि त्यो राम्रो हो।’ तर उनले चलाखी गरे। केही समय पुलिस क्लबमा पनि खेलाडीको रूपमा अनुबन्ध भए। पुलिस क्लबलाई आयल निगम र आयल निगमलाई पुलिसको खेलाडी भन्ने थाहै भएन। ‘तर डेढ वर्षपछि पुलिस क्लबले थाहा पायो आयल निगमको खेलाडी भन्ने’, उनले भने, ‘त्यसपछि आयल निगमका मात्र केही समय रहेपछि विद्युत प्राधिकरणको टिमबाट खेल्न अफर आयो अनि त्यता लागियो।’ 

विद्युत प्राधिकरणको टिममा रहेर एक वर्ष खेल्दा महिनाको तलब २४ सय पुगेको थियो। तर घर दमक, बसाइ काठमाडौँ भएकाले सधैँ उतै रहने अवस्था थिएन। उनले दमकमै बसेर विद्युत प्राधिकरणकै टिमबाट खेल्ने व्यवस्था मिलाइदिन आग्रह गरे तर त्यो सम्भव भएन अनि दमक फर्किए शैलेन्द्र।

परिवारबाट सधैँ साथ

कुनै पनि क्षेत्रमा सफलता पाउन सबैभन्दा दर्विलो साथ परिवारको चाहिने उनको धारणा छ। धारणा मात्रै होइन, अनुभव पनि उस्तै रहेको सुनाए उनले। उनको परिवारमै खेलकुदको माहोल थियो। साहिँला दाइ खड्गबाहादुरसमेत भलिबलका राष्ट्रिय खेलाडी र अरू दाजुभाइको पनि खेलकुदमा रुचि भएकाले उनले खेल्नकै लागि परिवारमा विद्रोह गर्नुपरेन। २०५० सालमा झापा बाहुनडाँगीकी रीता बस्नेतसँग विवाह गरेका उनलाई श्रीमतीबाट पनि उस्तै साथ रह्यो। विद्यालय तहसम्म भलिबलकै खेलाडी रहेकी उनले भनिन्, ‘उहाँलाई जहाँ गएर खेल्न पनि कहिल्यै रोकटोक भएन। खेलले व्यक्तिलाई मात्रै होइन, समाजलाई पनि स्वस्थ बनाउने भएकाले उहाँ सधैँ खेल्न स्वतन्त्र रहनुभयो।’ श्रीमती यसो भनिरहँदा सँगै रहेका शैलेन्द्र भने मुसुमुसु हाँसी मात्र रहे।

खुट्टामा काँटीले घोचेपछि भलिबलमा
परिवारमा दाजुहरू फुटबल खेलाडी थिए। उनी पनि सुरुमा भलिबलकै खेलाडी थिए। साल त बिर्सिए रे तर एक दिन झापाकै गौरीगंज फुटबल खेल्न गएका थिए उनी। त्यसबेला काँटे जुत्ताको खुब फेसन थियो। उनले पनि त्यस्तै जुत्ता लगाएका थिए।

फुटबलका राम्रै खेलाडी थिए उनी तर खेल खेल्दै जाँदा उनको काँटे जुत्ताले नराम्रोसँग खुट्टामा घाउ पारिदियो। ‘फुटबल राम्रैसँग खेलिँदैथ्यो, जुत्ताको काँटीले यसरी घोच्यो कि पूरै खुट्टा रक्ताम्य भयो। त्यसपछि मेरो फुटबलप्रतिको मोह छुट्यो, भलिबलतर्फ लागेँ।’ छ फुट दुई इन्चको उचाइले उनलाई भलिबलमा राम्रै साथ पनि दियो। राष्ट्रिय, अन्तर्राष्ट्रिय मैदानसम्म पुगेर आफ्नो खेल कौशल प्रदर्शन गर्ने मौका पाए उनले। अझै पनि फाट्टफुट्ट हुने खेल प्रतियोगितामा भाग लिँदै आएका उनी खेल क्षेत्रमा लागेर कुनै पछुतो नभएको बताउँछन्।

‘यही पाइयो भन्दा पनि एउटा चिनारी बन्यो। साँच्चै भन्नुपर्दा हामीले खेल्न थाल्दा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका खेलाडीको ठूलो ‘चार्म’ थियो। गाउँघरमा पुग्दा पनि सबैले हेर्थे, घेर्थे । मलाई पनि त्यसले आकर्षित गर्‍यो। खेलाडी भएर देश विदेश घुम्न पाइन्छ भन्ने लाग्थ्यो। अलिअलि त्यो पनि पाइयो’, आफ्नो खेल जीवनको आफैँ समीक्षा गर्दै उनले थपे, ‘राष्ट्रिय टिममा सहभागी भएर थाइल्याण्डमा टे«निङ लिन पाइयो, इन्डोनेसियामा मैत्री खेल खेलियो। श्रीलंका पुगेर पाँचौँ र बंगलादेश पुगेर छैठौँ सार्क गेम खेलियो। यसरी हेर्दा त धेरै थोक पाएको जस्तो लाग्छ।’ उनले कमाउनेतर्फ भने नलागेको बताए। ‘खेलकुदमा नलागी पैसै कमाउन लागेको भए त धेरै कमाइन्थ्यो होला तर त्यसप्रति रुचि नै भएन।’

भालाले गोल फुटाएर नयाँ माग

दमक– २ को हिमालय माविमा अध्ययन गर्दा उनी राम्रो भलिबल खेलाडीका रूपमा चिनिएका थिए। शिक्षकहरूले पनि उनलाई खेल्न सधैँ प्रोत्साहन गर्थे तर सधैँ पुरानो भलिबल। ‘नयाँ गोल कहिले पाइन्छ र खेल्नु जस्तो हुन्थ्यो’, किशोरावस्थाका कुरा सुनाउँदा उनले अहिले ५० वर्ष नाघेको बिर्सेर किशोर खेलाडीझँै जोसिएर भने, ‘जति माग्दा पनि नदिएपछि एक दिन त ज्याभलिन थ्रोको भालाले हानेर पुरानो भलिबल फुटाइदियौँ अनि मात्र छविलाल हेडसरले नयाँ भलिबल ल्याइदिनुभयो।’ उसबेलाको उटपट्याङ सुनाएपछि भने, ‘त्यो बेलाको बुद्धि नि केके आउँथ्यो आउँथ्यो।’

भलिबलबाटै घरजम

पुराना कुरा सुनाउँदै जाँदा उनले भने, ‘२०५० सालको जेठमा बिहे गरियो। उनीचाहिँ बस्नेत क्षेत्रीकी छोरी, इन्टरकास्ट गरियो।’ तर लभ म्यारिज हो कि क्या हो? भन्दा निकै शर्माए उनी। ‘खै त्यस्तै भनौँ न। त्यसबेला नेवार र क्षेत्रीको मागी विवाह गर्ने त कसको आँट!’ विवाह प्रसंगबारे कुरा गर्दा उनी नवदुलाहाझैँ गरी लजाउँदै थिए। त्यही बेला श्रीमती रीता आइपुगिन् र प्रस्ट पारिन्, ‘लभ नै परेको हो नि! २–३ वर्ष लभ परेपछि उहाँले माग्न आउँछु भन्नुभएको हो तर मागी विवाह गर्ने अवस्था थिएन। त्यसैले हामी भाग्यौँ र आफ्नै ढंगबाट विवाह गर्‍यौँ। पछि परिवारबाट पनि विवाह भयो।’ रीता कक्षा ९ मा पढ्दै थिइन् त्यसबेला। 

भलिबलमा उनको पनि रुचि। विद्यालयस्तरकी खेलाडी नै थिइन् उनी। ‘उहाँ भलिबल खेल्न बाहुनडाँगी आउनुभएको थियो। मन पर्न धेरै समय नै नचाहिँदोरहेछ’, विवाह र प्रेम प्रसंगबारे भने रीताले नै खुलाइन्, ‘भलिबलबाटै हाम्रो सम्बन्ध जोडियो, विवाह भयो, घरजम चलिरहेको छ। दुई भाइ छोरा हुर्किसके।’

खेलाडी टिकाउनै कठिन

जिल्ला भलिबल संघका अध्यक्ष र नगर खेलकुद विकास समितिका सदस्य पनि रहेका उनी अहिले राम्रा खेलाडीलाई खेल क्षेत्रमा टिकाउनै कठिन देख्छन्। ‘नयाँ पुस्तामा खेलप्रतिको आकर्षण नभएको होइन, छ तर उनीहरूको भविष्य सुनिश्चित हुँदैन। त्यसैले उनीहरूले अध्ययनसँगै भविष्य पनि सुनिश्चित राख्न खोज्छन्’, खेलाडी नटिक्नु कारण खोतल्दै उनले थपे, ‘त्यसैले ससाना उमेरका खेलाडीहरू छनोट गरी उनीहरूलाई सानैदेखि अध्ययनसँगै खेलकुदको तालिम दिलाउन सकियो भने राम्रो टिम तयार पार्न सकिन्छ।’ क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीहरूलाई केही प्रोत्साहन भत्ताको व्यवस्था गर्न सकियो भने क्षमतावान् खेलाडीहरू बाहिरिने अवस्था नआउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.