अनुभवबिना 'नाइँ नभन्नू ल' बन्दैन

|

काठमाडौं : नेपालमा सिक्वेल फिल्म निर्माणको क्रम बढिरहेको छ। पहिलो फिल्म हिट भएसँगै निर्माता/निर्देशकहरूले त्यहीँ नामलाई ब्राण्ड मान्दै सिक्वेल फिल्म निर्माण गर्छन्। नेपालमा मात्र होइन, विदेशमा पनि सिक्वेल बनिरहेका हुन्छन्।

नेपालमा सिक्वेल फिल्म सम्झिनुपर्दा पहिलो नम्बरमा आउने नाम हो, 'नाइँ नभन्नू ल।' नाइँ नभन्नू लका पाँच सिरिज बनिसकेका छन्। चार सिरिज प्रदर्शन भइसकेका छन् भने पाँचौँ सिरिज प्रदर्शनको तयारीमा छ।

'नाइँ नभन्नू ल' आफैँमा एउटा ब्राण्ड बनिसकेको नाम हो, जसका कुनै पनि सिरिज असफल भएका छैनन्। 'नाइँ नभन्नू ल' हिट भएपछि विकासराज आचार्यले 'नाइँ नभन्नू ल २' निर्माण गरे, जहाँ बाल कलाकार अनुभव रेग्मी मुख्य भूमिकामा प्रस्तुत भए। फिल्मको गीत/संगीत पनि एकदमै राम्रो भयो। फिल्म सुपर हिट भइदियो।

'नाइँ नभन्नू ल २' को सफलतालाई देखेर विकासले 'नाइँ नभन्नू ल ३' बनाए। 'नाइँ नभन्नू ल ३'ले २ को जति सफलता पाउन सकेन। उनले पुन: 'नाइँ नभन्नू ल ४' बनाए। ४ ले पनि सोचेअनुरूप व्यापार गरेन तर फिल्म व्यापारिक रूपमा भने सफल नै ठहरियो।

अहिले निर्देशक विकासराज आचार्य 'नाइँ नभन्नू ल ५' को प्रचार प्रसारमा दैडिरहेका छन्। फिल्मको रिलिज मिति नजिकिँदै गर्दा उनमा एक किसिमको उत्साह पनि थपिएको छ। दर्शकले फिल्मप्रति देखाएको चासोबाट पनि उनी दंग छन्। भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म 'नाइँ नभन्नू ल ५' का निर्देशक विकासराज आचार्यसँग थाहाखबरकर्मी दिप्सन लुइटेलले गरेको कुराकानी प्रस्तुत छ।

दर्शकले कहिलेसम्म नाइँ नभन्ने हो विकासजी?

जबसम्म मैले काम गर्न सक्छु, त्यो बेलासम्म मेरा दर्शकले मलाई नाइँ भन्नुहुन्न जस्तो लाग्छ।

किन 'नाइँ नभन्नू ल' मात्र?

'नाइँ नभन्नू ल' मा मेरो छुट्टै इमोश्नल अट्याचमन्ट छ। मैले फिल्म बनाउने भनेपछि सुरुमा आउने नाम भनेको नै 'नाइँ नभन्नू ल' हो। अनि अर्को कुरा, म सधैँ नाइँ नभन्नू ल भन्छु। किनभने आफूले सक्ने कुराहरूसम्म गर्नै पर्छ जस्तो मलाई लाग्छ। त्यही भएर पनि दर्शकका लागि नाइँ भन्नुहुन्न भनेर 'नाइँ नभन्नू ल' गरिरहेको हुँ। दर्शकले पनि यसलाई मनपराउनुभएकाले यसलाई निरन्तरता दिइरहेको छु।

एउटा ब्राण्ड बनेको नाम भएर त्यसलाई बेचिरहनुभएको हो?

हो। 'नाइँ नभन्नू ल' एउटा ब्राण्ड हो। दर्शकले पनि रुचाउनुभएका कारण र हामीले पनि केही राम्रो गर्न सक्छौँ जस्तो लागेर यसलाई निरन्तरता दिएको हुँ।

कथावस्तु हरेक फिल्ममा फरक छ तर नाम एउटै किन?

'नाइँ नभन्नू ल' सिक्वेल भन्दा पनि एउटा ब्राण्ड मात्र हो। यसमा हामीले कुनै कथालाई निरन्तरता दिइएको छैन। तर जुनसुकै कथा भए पनि 'नाइँ नभन्नू ल'लाई न्याय दिने काम गरेको छु जस्तो लाग्छ।

तपाईको फिल्ममा अन्य कलाकार परिवर्तन भएपनि अनुभव रहिरहन्छन् किन होला?

'नाइँ नभन्नू ल' को ब्राण्डमा जोडिएको अर्को नाम हो, अनुभव रेग्मी। उसलाई हटाएर त 'नाइँ नभन्नू ल' नै हुँदैन। अनि कस्तो पनि हो रहेछ भने, 'नाइँ नभन्नू ल २' मा प्रेम परियारले गाएका गीतहरू एकदमै हिट भए। तर प्रेमले 'नाइँ नभन्नू ल ३' मा गीत गाउन पाएनन्। त्यसको बदलामा मैले दर्शकको धेरै गाली सुन्नुपरेको थियो। अझ अनुभव नै रहेन भने त मलाई दर्शकले मार्नुहुन्छ होला।

अनुभवका लागि फिल्म बनाउनुहुन्छ हो?

त्यो भन्दा पनि मैले बाल मनोविज्ञानमा आधारित रहेर फिल्म निर्माण गर्छु। त्यसमा अनुभव नै फिट देख्छु। अब अनुभवको उमेर बढ्दै गएको छ। त्यहीअनुरूपको कथामा उसैलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै फिल्म बनाउनेछु।

विकास आचार्यको फिल्ममा रोदन बढी हुन्छ भन्ने आरोप पनि छ। यस विषयमा के भन्नुहुन्छ?

होइन, हँसाउनुपर्ने ठाउँमा हँसाएको पनि हुन्छु। तर 'नाइँ नभन्नू ल' शृंखलामा भने कथावस्तु नै त्यस्तै हुने भएकाले बढी रोदन हुन्छ। अन्य निर्देशकहरूले अरू पाटोलाई समाउनुभएको छ। मैले रोदनको पाटोलाई।

'नाइँ नभन्नू ल ५' को गीतको सुरुवातमा बाल कलाकार सेड्रिना शर्माको एउटा डाइलग राखिएको छ, जुन कुरालाई लिएर चर्चा पनि भएको छ। त्यति सानो बच्चाले कसरी माया प्रेमको त्यस्तो कुरा गर्न सक्छ भन्ने!

होइन, उनी टिन एजमा प्रवेश गरिसकेकी केटी हुन्। उनले माया प्रेमलाई बुझ्न सक्छिन् जस्तो लाग्छ। त्यही पनि अहिले जमाना फास्ट भइसकेको छ। जताततै इन्टरनेट छ। पहिलाको जमाना र अहिलेको जमानामा फरक पनि छ। त्यसैले पनि मलाई त त्यो संवाद राख्न नहुने जस्तो लागेन।

'नाइँ नभन्नू ल ५' मा आएर पुराना कलाकार र नयाँ कलाकारको जमघट गराउनुभएको छ। कसरी गराउनुभयो?

दिलीपसँग मेरो कुरा भइरहन्थ्यो। उसले खेल्ने इच्छा पनि देखाएको थियो। त्यही भएर ऊ इन भयो। निरुता पनि हामीले कलाकार खोजिरहेको बेला नेपाल आएकी रहिछन्। उनलाई अफर गरेँ, हुन्छ भनिन्। केकीसँग त पहिल्यैदेखि काम गर्ने मेरो इच्छा थियो। त्यो पनि पूरा भएको छ। अनि स्वस्तिमा, सेड्रिना र अभिषेक त फिल्ममा सुरुमै अनुबन्धित हुनुभएको थियो।

'नाइँ नभन्नू ल ५' बाट दर्शकले के आश गर्ने?

दर्शकले एउटा पूर्ण फिल्म पाउनुहुनेछ, जसमा फिल्ममा हुनुपर्ने सम्पूर्ण कुराहरूलाई समेटिएको छ। उहाँहरूले फिल्म हेर्न खर्चिनुभएको पैसा खेर जान दिनेछैन। त्यति नै हो।

रिलिज मिति नजिकिँदै छ। मनमा उत्साह कतिको छ?

एकदमै उत्साहित छु। फिल्मको ट्रेलर र गीतले पनि एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ। दर्शकले फिल्म कुरिरहेको बताइरहनुभएको छ। त्यसैले पनि एकदमै उत्साहित छु। मलाई लाग्छ, दर्शकले यसपालि पनि नाइँ भन्नुहुन्न।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.