|
File Photo

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका दोषीलाई कारबाही गर्न माग गर्दै भएको प्रदर्शन उग्र बन्दै गएपछि लगाइएको कर्फ्यू चार घण्टाका लागि हटाइएको छ।

प्रदर्शनका क्रममा १३ वर्षीय बालक सोनी खुनाको प्रहरीको गोलीबाट मृत्यु भएपछि प्रदर्शन झन उग्र बनेको थियो भने कर्फ्यू पनि बढाइएको थियो। आइतबार नै प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका खुनाको दाहसंस्कार गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार अहिले ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको छ। त्यसपछि भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लागू हुनेछ। बिहान ५ बजे हट्ने कर्फ्यू १२ बजेपछि अर्को आदेश जारी नभएसम्मका लागि लागू हुनेछ।

कञ्चनपुरमा आइतबार भने प्रदर्शन भएको छैन। संघीय सरकारले निर्मला बलात्कार र हत्या प्रकरणको छानबिन गर्न समिति गठन गरेको र सुरक्षा अधिकारीहरूलाई निलम्बन र केन्द्रमा तानेसँगै कञ्चनपुर शान्त रहेको हो। प्रदेश सरकारका मन्त्रीले पनि पीडित परिवारलाई भेटेका छन्।

सरकारले पीडित परिवारलाई राहत दिने र दोषी पत्ता लगाइ हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। साउन ११ गते निर्मला पन्तको बलात्कार पछि हत्या भएको अवस्थामा शव भेटिएको थियो। जसको महिना दिन पुग्नै लाग्दापनि वास्तविक दोषी पत्ता लागेको छैन भने प्रहरीको अनुसन्धानमाथि प्रश्न उठेको छ। पन्तका हत्यारालाई कारबाही माग गर्दै देशभर विरोध भएको छ। संसदमा पनि पन्तका दोषीलाई कारबाहीको माग उठेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.