|

काठमाडौं : बोल्ड नायिकाको छवि बनाएकी ऋचा शर्मालाई अब्बल नायिकाको उपमा दिइन्छ। उनी आफूलाई फरक-फरक अवतारमा प्रस्तुत गर्ने नायिका हुन्। ऋचा फिल्मको क्यारेक्टरमा 'लभर गर्ल'देखि 'भुत'सम्म बनेकी छन्।

ऋचाले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। उनी नायिका मात्र नभएर निर्मात्री पनि बनिसकेकी छन्। उनले निर्माण गरेको फिल्म 'आधा लभ' र 'सुनकेशरी' प्रदर्शनमा आइसकेको छ। ती दुवै फिल्म व्यापारिक रूपमा भने केही कमजोर ठहरिए।

मिस नेपालमा प्रतियोगी बनेकी ऋचाको सानैदेखिको सोच फिल्म क्षेत्र नै थियो। उनले धेरै म्युजिक भिडियो तथा सिरिजलहरूमा पनि अभिनय गरिसकेकी थिइन्। आफ्नो रुचिको क्षेत्र भएका कारण पनि उनी यसैमा खुसी थिइन्।

अडिसन दिएर 'फस्ट लभ'मा इन

ऋचालाई फिल्मको नायिका बन्ने सोच पलाइसकेको थियो। म्युजिक भिडियो वा सिरिजहरूमा काम गर्दा पनि उनको लक्ष्य फिल्मको ठूलो पर्दा नै थियो।

एक दिन उनले फिल्म 'फस्ट लभ'का लागि नायिकाको अडिसन भइरहेको थाहा पाइन्। अडिसन दिन निर्देशक सिमोस सुनुवारको अफिसमा पुगिन्। उनी भन्छिन्, 'म अडिसनका लागि निर्देशकको अफिसमा नै पुगेकी थिएँ। उहाँले मेरो काम मनपराउनु भयो, त्यसैले इन भएँ।'

डाइलगविहीन सुटिङको पहिलो दिन

फिल्म 'फस्ट लभ' छायांकनको पहिलो दिन, पोखराको एक डान्सबारमा ठूलोठूलो साउन्डमा गीत बजिरहेको थियो। धरै जना त्यहाँ नाचिरहेका थिए। ऋचा पनि त्यहीँ थिइन्। उनको पहिलो टेक नै त्यहीँ भएको थियो। 'सुटिङको पहिलो दिन डान्सबारमा नाच्नुपर्ने सिन थियो,'उनले भनिन्, 'केही डाइलग बोल्नुपर्ने थिएन।' उनको पहिलो दिन डाइलगविहीन बितेको थियो।  

फिल्म छायांकनमा जानुपूर्व वर्कसप गरिएको थियो, जसले गर्दा उनलाई फिल्म छायांकनमा खासै आप्ठ्यारो थिएन। उनी भन्छिन्, 'सुटिङमा जानुपूर्व नै हामीले वर्कसप गरेका थियौँ। त्यही भएर खासै काममा गाह्रो भएन तर डर भने थियो।' पहिला म्युजिक भिडियो वा सिरिजहरूमा काम गरेका कारण पनि आफूलाई सहज भएको ऋचाको तर्क छ।

'फस्ट लभ'पछि पछाडि फर्कनु परेन

फिल्म 'फस्ट लभ' सफल भयो, जसले नायिका ऋचा शर्मालाई पनि फाइदै भयो। फिल्ममा उनको कामको पनि प्रशंसा भयो। नायिका ऋचा आफू अहिले यो अवस्थामा आइपुग्नुको कारण नै फस्ट लभ भएको बताउँछिन्। उनी भन्छिन्, 'म अहिले जुन स्थानमा छु, त्यो फस्ट लभले गर्दा नै भएको हो।'

फस्ट लभपछि फिल्मी करियरमा कहिल्यै पछाडि फर्कनु नपरेको ऋचाको भनाइ छ। उनले भनिन्, 'फस्ट लभपछि म मेरो करिअरमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन।'

१ लाख ५० हजार थियो पारिश्रमिक

ऋचाले पहिलो फिल्मबाट नै एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक लिएकी थिइन्। यो पारिश्रमिक निर्माण युनिट र ऋचाको सहमतिमा नै तय गरिएको थियो। उनी भन्छिन्, 'मलाई डेढ लाख पारिश्रमिक दिनुभएको थियो। त्यो पारिश्रमिकमा मलाई कुनै गुनासो थिएन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.