|

काठमाडौं: नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सशस्त्र युद्धको समय भन्दा जनताको अवस्थामा कुनै फेरबदल नआएकाले आफुहरुले फेरि युद्ध घोषणा गर्ने बताएका छन्।

काठमाडौंमा तीनदिनसम्म चलेको राष्ट्रिय भेलापछि आयोजित पत्रकार सम्मेलनमा उनले जनता अधिकार प्राप्तीका लागि फेरि बन्दुक उठाउनुको विकल्प नभएको बताए।

‘२००७ सालमा कांग्रेसले बन्दुक उठाएकै हो, पञ्चायत विरुद्ध बन्दुक उठाएकै हो, एमालेले पनि उठाएकै हो तर अहिले उनीहरु सबै सत्तामा गइसकेपछि जनताको मुद्दा छाडेका छन्’ वैद्यले भने, ‘जनसत्ता स्थापनाका लागि जनतालाई विद्रोह गर्ने अधिकार छ, जनताको समर्थनमा परिस्थिति बने लगत्तै युद्ध हुन्छ।’

उनले युद्ध गर्ने परिस्थिति अहिले बनिनसकेकाले आन्तरिक रुपमा त्यसको तयारी गर्दै जाने बताए। बन्दुकको नालबिना जनसत्ता स्थापना सम्भव नभएको तर्क गर्दै वैद्यले बन्दुक उठाउने वातावरण अहिले पनि विगतमा जस्तै जिवितै रहेको औल्याए ।

संविधानमा जनसत्ता स्थापनाका लागि जनतालाई विद्रोह गर्ने अधिकार दिएको भन्दै उनले पार्टीले राजनैतिक कार्यदिशासँगै फौजी कार्यदिशालाई पनि अंगाल्ने बताए। ०७३ फागुनमा हुने राष्ट्रिय सम्मेलनपछि फौजी कार्यदिशालाई अझ सशक्त बनाउँदै लैजाने वैद्यको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.