कञ्चनपुर : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालीका २ की १३ बर्षीया किशोरी निर्मला पन्तको हत्याको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जनालाई प्रहरीले मंगलबार रिहा गरेको छ।
हिरासतमा लिइएका दिलिप सिंह विष्टलाई र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले जानकारी दिए।
अर्की अभियुक्त बबिता बमलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाडिएको उनले बताए। “बम दिदी बहीनीलाई उनका बुबाको जिम्मा र दिलिपलाई उनका दाजुको जिम्मा लगाएका छौँ” उनले भने।
दिलिपलाई दोषी ठहर गर्दै प्रहरीले सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन भएको थियो। उनी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुन्। आन्दोलनका क्रममा १४ बर्षीय सनि खुनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
विष्टको प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयबाट छाडिएको हो। विष्टको डिएनए सबुतसँग मेल नखाएकाले साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। हत्याकाण्डको अनुसन्धान भने जारी रहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।