कालिकोट : हतियारसहित नेपाली सेनाको तारा दल गणबाट भागेको भन्दै शुभकालिका गाउँपालिका-५ सुकाटियाका सिंहबहादुर शाहीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ। समरी जनरल सैनिक अदालत जंगी अड्डा काठमाडौंले शत्रुसम्बन्धी कसुर ऐनअन्तर्गत शाहीलाई सर्वस्वसहित जन्मकैद फैसला गरेको हो।
द्धन्द्धकालीन समयमा शाही एउटा इन्सास राइफलसहित त्यसमा लाग्ने तीनवटा म्याग्जिन र ६० राउण्ड गोलीसहित भागेको र त्यस बापतको २०१८ रुपैयाँ असुलउपर गरी सर्वस्वसहित जन्मकैदको फैसला गर्नु परेको ठहर अदालतले गरेको छ।
नेपाली सेनाले शाहीले २०६१ साल पौष १८ गते धादिङ्गबाट गस्तीमा गएको बेला हतियार सहित भागेको नेपाली सेनाको समरी जनरल सैनिक अदालत जंगी अड्डा काठमाडौंले फैसला गरेको थियो।
कब्जामा परेको परिवारको गुनासो
शाही तत्कालीन नेपाली सेनाबाट भागेको नभएर दोहोरो भिडन्तमा तत्कालीन माओवादीको कब्जामा परेको परिवारका सदस्यको दाबी छ। २०६१ साल पौष १८ गते धादिङको चरौदीमा तत्कालीन शाही सेना र माओवादीको जनमुक्ति सेनाको भिडन्त भएको त्यो भिडन्तमा शाहीलाई जनमुक्ति सेनाले कब्जा गरेर आफूसँगै राखेको सिंहबहादुर शाहीका दाइ नन्दबहादुर शाहीले दाबी गरे। ‘सेनाको अदालतले फैसला भनेको जस्तो मेरो भाइले हतियार लिएर भागेको होइन’ उनले भने।
परिवारका सदस्यले सर्वस्वसहित जन्मकैदको फैसला गरिनुले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन्। उनका ४ छोरा, २ छोरी र एक श्रीमती गरी ८ जनाको परिवार परिवार रहेको छ।
शाहीको रिहाइका लागि उनका दाइ नन्दबहादुर शाहीले राष्ट्रिय मानव अधिकार आयोग र सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।