आइतबारदेखिको कार्यतालिका के होला?

|

काठमाडौं : नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनका लागि पूर्वनिर्धारित तालिकाअनुसार ७ असोज अर्थात् आइतरबारदेखि अधिवेशनका कार्यक्रमहरू सुरु हुँदै छन्। तर अधिवेशनको कार्यक्रमका लागि तीन दिन मात्र बाँकी रहँदा पनि नेविसंघको विवाद भने जस्ताको त्यस्तै छ। पार्टीको गुटगत राजनीतिको छायामा रहेको नेविसंघमा गुटका कारण पछिल्लो समय महाधिवेशन नै अन्योलमा परेको छ। 

कार्यतालिकाअनुसार आइतबार मावि तथा क्याम्पसको महाधिवेशन हुनुपर्नेछ। तर संगठनमा देखिएको आन्तरिक विवादले आइतबारदेखि महाधिवेशन गर्न निकै समस्या छ। नेविसंघको केन्द्रीय समिति बैठकले सर्वसम्मत विधान परिमार्जन गर्दै पार्टीलाई पारित गर्न बुझाएको थियो। पार्टीको आन्तरिक विवादका कारण केन्द्रीय समिति बैठक बस्न नसक्दा नेविसंघको विधानसमेत पारित हुन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवाइतर समूहका नेताहरू सभापति समूहले महाधिवेशन गर्न नचाएको आरोप लगाउँदै आएका छन्। 

उनीहरूले सभापति समूह हार्ने डरले महाधिवेशनलाई टार्न खोजेको आरोप लगाउँदै आएका छन्। पार्टीको १३औँ महाधिवेशनपछि देउवा समूह धेरै भ्रातृ संगठनमा कमजोर बनेका कारण पनि अहिले महाधिवेशन नगर्ने उनको उद्देश्य रहेको देउवाइतर समूह बताउँछन्। नेविसंघको विधानअनुसार मंसिर २ भित्र महाधिवेशन सक्नुपर्ने हुन्छ। यही समय दशैँ, तिहार जस्ता पर्व र माउ पार्टी कांग्रेसको महासमिति बैठक भएका कारण निकै ‘प्रेसर’ छ। 

मंसिर २ भित्र महाधिवेशन नभए संगठन नै विघटन हुने विधानमा उल्लेख छ। नेविसंघ विघटन गरेर नेतृत्वले आफू निकटका मान्छे ल्याउने खेल रचेको सभापतिइतर समूहको आरोप छ। 

‘नेविसंघको महाधिवेशनमा आफू हार्ने डरले सभापतिले हामीले सर्वसम्मत पास गरेको विधान परित गर्नुभएन’, देउवाइतर समूहका एक नेताले भने, ‘उहाँ नेविसंघलाई विघटन गरेर आफ्नो मान्छे ल्याउन चाहनुहुन्छ।’

पार्टी र संगठनको अध्यक्षका कारण नेविसंघको महाधिवेशन अन्योलमा परेको नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले बताउँछन्। ‘नेविसंघको महाधिवेशनका लागि पार्टी इमान्दार बनेन। हामीले सर्वसम्मत पास गरेको विधानलाई पनि विभिन्न वहानामा पारित गरेन, यसले गर्दा महाधिवेशनमा अन्योल छायो’, उनी भन्छन्, ‘हाम्रो संगठनको अध्यक्ष पनि महाधिवेशन गराउनबाट भाग्नुभएको छ। कुरा क्रान्तिकारी गर्नुहुन्छ तर काम गर्नुभएन।’

तर अध्यक्ष महर भने महाधिवेशनको विरोधी भनेर लागेको आरोप स्वीकार गर्न तयार छैनन्। महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताउँछन् उनी। ‘यो हल्ला महाधिवेशन नचाहने साथीहरूले गर्दा भएको हो। हामी सबै मिलाउँछौँ’, उनले भने, ‘पर्सिदेखि हुने अधिवेशनहरू रोकिँदैनन्।’ नेविसंघको महाधिवेशनका लागि सबैभन्दा बढी विवाद देखिएको उमेर हद हो। अहिले पनि संगठनमा उमेर हद लगाउने र नलाउने दुई खेमा छन्। अध्यक्ष महर समूहकै महामन्त्री सरोज थापा पक्ष भने उमेर हद लगाएर अघि बढ्नुपर्ने पक्षमा छन्। तर उनले थाहाखबरसँग भने उमेर हद प्रमुख विषय नभएको बताए। ‘उमेर हद अहिलेको प्राथमिकता होइन’, उनले भने, ‘पार्टीले ३२ वर्ष या २८ वर्ष जुन उमेर हद लगाउँछ, हामी मान्न तयार हुनुपर्छ।’

संगठनमा उमेर हद खुला गर्ने हो भने अराजकता बढ्ने भन्दै पार्टी नेतृत्व भने उमेर हद लगाउने पक्षमा रहेको स्रोतको दाबी छ। उम्मेदवार धेरै भएपछि संगठन भद्रगोल हुने भन्दै पार्टी उमेर हदको पक्षमा उभिएका हो। नेविसंघको केन्द्रीय समिति बैठकले उमेर हद हटाउने सर्वसम्मत निर्णय गरेको माइन्युट लिएर विधानका लागि बनेको छ जनाको समिति पार्टी केन्द्रीय समितिमा पुगेको थियो। तर पार्टी यो विषयमा अहिलेसम्म मौन बस्दा महाधिवेशनका लागि समस्या भएको छ। छ जनाको समितिले शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने समय मागेका थिए तर आन्तरिक द्वन्द्वले छ जना एकै ठाउँमा हुन नसक्दा देउवालाई भेट्ने कार्यक्रम नै रद्द भएको समितिका एक सदस्यले जानकारी दिए। 

उमेर हद लागेमा महाधिवेशनमा जान महामन्त्री कुन्दनराज काफ्ले नमानेको आरोप लाग्ने गरेको छ। तर काफ्लेले भने आफू उमेर हद हुनुपर्छ वा हुनुपर्दैन भन्ने पक्षमा नभई महाधिवेशनको पक्षमा रहेको बताउँछन्। ‘उमेरभन्दा पनि मेजर कुरा महाधिवेशन हो। उमेर लागोस् नलागोस् त्यसमा मलाई मतलब छैन तर महाधिवेशन हुनुपर्छ’, उनले भने, ‘म आउने महाधिवेशनमा अध्यक्षको उम्मेदवार पनि होइन।’

पार्टीले विधान परिमार्जनका लागि नेविसंघले पठाएको प्रस्ताव पारित नगर्दा नियमावली बनाउन समस्या भएको छ। पार्टीले नेविसंघको महाधिवेशनका लागि बनाएको निर्देशक समितिका संयोजक सहमहान्त्री डा. प्रकाशशरण महत विदेश भ्रमणमा निक्लिएपछि महाधिवेशनलाई थप अन्योलतर्फ धकेलिएको हो। सहमहामन्त्री डा. महत विदेश भ्रमणमा जाँदै गर्दा पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलले नेविसंघलाई यसअघिकै नियामवलीअनुसार सिटिइभिटी, मावि र क्याम्पसको अधिवेशन गर्न पत्र काटेका छन्।

पुरानै नियमावलीअनुसार गर्न पत्र काटेपछि थप अन्योल सिर्जना भएको महामन्त्री काफ्लेले बताए। ‘पार्टीको पत्रले पुरानै विधानअनुसार महाधिवेशन गर्नु भनेको छ। पुरानो विधानमा संघीय संरचनाका कुरा छैन। अहिले देश संघीय संरचनामा गएको छ। पुरानो विधानले कसरी हुन सक्छ?’, उनले भने, ‘हामीले तीन दिनसम्म बैठक बसेर विधान परिमार्जन गर्दा पनि पार्टी किन उदासीन छ?’

पार्टीले विधान पारित नगर्दा जटिलता आए पनि महाधिवेशनका कार्यक्रम रोक्न नहुने अर्का महामन्त्री सरोज थापा बताउँछन्। ‘पार्टी केन्द्रीय समितिले हाम्रो विधान अनुमोदन गर्न नसक्दा जटिलता थपिएको छ। यो समस्या पार्टीको आन्तरिक कारण भएको हो’, उनले भने, ‘हामीले नयाँ नियमावलीको ड्राफ्ट गरिसकेका छौँ तर पार्टीले पुरानै विधानअनुसार गर्नु भनेको छ। तर यसले सिटिइभिटी, मावि र क्याम्पसको अधिवेशनमा असर गर्दैन।’

नेविसंघको महाधिवेशनका लागि पार्टीले पहल गर्नुपर्ने उपाध्यक्ष उर्मिला थपलिया बताउँछिन्। ‘पार्टीले विधानलाई पारित गरेर महाधिवेशनको बाटो खुला गर्नुपर्छ’, उनले भनिन्, ‘नेविसंघका लागि महाधिवेशन मात्र विकल्प हुन सक्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.