'म लजाएर मिडियामा नआएको होइन'

|

काठमाडौं : गीत र ट्रेलरका कारण निकै विवादित बनेको फिल्म 'कथा काठमाडौं' आगामी शुक्रबार (असोज १२ गते)बाट प्रदर्शनमा आउँदै छ। रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले पनि फिल्मको प्रचारलाई तीव्रता दिइरहेको छ। सेन्सर बोर्डबाट पास भइसकेको यस फिल्मले पिजी सर्टिफिकेट पनि पाइसकेको छ।

यस फिल्मले काठमाडौंभित्र हुने तीन कथालाई प्रस्तुत गरेको छ। यहाँ लभ, लाइफ र लस्ट छन्। यी तीन कथालाई फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, संजोग कोइरला, सन्ध्या केसी र प्रेक्षा अधिकारीले आफ्नो भूमिकाबाट प्रस्तुत गरेका छन्।

फिल्मको गीत र ट्रेलरमा धेरै विरोध भइरहेको छ। गीत तथा ट्रेलरमा देखाइएको प्रियंका र प्रमोदको इन्टिमेट सिनका कारण उनीहरूले निकै आलोचना खप्नुपरेको थियो।

अन्य कलाकारहरू फिल्मको प्रचारमा हिँडिरहेका थिए तर प्रियंका कार्की भने आजसम्म फिल्मको प्रचारमा खासै देखिएकी थिइनन्। उनी फिल्मको गीत तथा ट्रेलर रिलिज कार्यक्रममा पनि उपस्थित थिइनन्। उनलाई धेरैले आफैँले गरेको इन्टिमेट सिनका कारण मिडियामा नआएको आरोप लगाइरहेका थिए तर उनी यस कुरालाई मान्न तयार छैनन्। उनी भन्छिन्, 'म मेरो कामले गर्दा लजाएर मिडियामा नआएको होइन, यो हाम्रो सुरुवातदेखिकै योजना थियो।'

प्रियंका कथा काठमाडौंको स्क्रिप्ट सुन्नेबित्तिकै फिल्म गर्न आफू तयार भएको बताउँछिन्। भन्छिन्, 'जब मलाई निर्देशकले स्क्रिप्ट सुनाउनुभयो, म एकदमै सकारात्मक भएकी थिएँ। कलाकारितामा केही नयाँ काम गर्न पाएकामा खुसी थिएँ।' स्क्रिप्ट पाएपछि यस क्यारेक्टरमा धेरै मिहिनेत गरिएको उनको तर्क छ। उनका अनुसार समाजमा हुने सबैभन्दा महत्त्वपूर्ण विषय यस फिल्मले बोकेको छ।

उक्त गीत तथा ट्रेलरमा आएका प्रतिक्रियाहरू आशातीत भएको प्रियंका बताउँछिन्। 'फिल्मको स्क्रिप्ट सुन्दा नै यस्तो हुन्छ भन्ने लागेको थियो', उनी भन्छिन्, 'आखिर त्यही भयो, जसले मलाई केही असर गरेन।' आएका प्रतिक्रियामा आफूले कुनै उत्तर नदिएको उनी बताउँछिन्। उनले निर्वाह गरेको भूमिकालाई लिएर कतिपय दर्शकले कामको प्रंशसा पनि गरेका छन्।

प्रियंका यस फिल्ममा हरेक घरघरमा हुने कथा रहेको बताउँछिन्। उनी फिल्ममा महिला हिंसाको कथा देखाइएको तर्क राख्छिन्। 'हामीले फिल्म देखाएको कथा हरेक घरमा हुन्छ। कसैले बाहिर ल्याउनुहुन्छ, कसैले त्यसलाई ल्याउनुहुन्न', उनी भन्छिन्, 'तर हामीले यस फिल्ममा त्यस्ता सबै इन्टिमेट सिनहरू प्रचारका लागि भन्दा पनि महिलामाथि भएको हिंसालाई देखाएका हौँ।'

फिल्ममा देखाइएको सिनलाई नराम्रो भन्नेहरूलाई पनि प्रियंकाले जवाफ दिइन्। 'रेप कहिल्यै पनि रंगीन बनाएर देखाउन सकिन्न र त्यो हुन्न पनि', उनले भनिन्, 'त्यो हामीले देखाएको रेप हो, जसलाई नराम्रो भनिनु त हाम्रालागि सफलता जस्तै हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.