कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाही माग गर्दै मंगलबार कञ्चनपुर बन्द गरिएको छ। बन्द नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले गरेको हो।
बन्दको अवज्ञा गरेको भन्दै सरकारी कार्यालयमा तोडफोड पनि गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका तीन सरकारी कार्यालयमा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले तोडफोड गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड गरिएको छ। कार्यालयभित्र राखिएका फर्निचरमा समेत तोडफोड भएको छ। सरकारी कार्यालयभित्र पसेका आन्दोलनकारीले कुर्सी, टेबुल, भवनका झ्यालका सीसासमेत तोडफोड गरेका छन्।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले नेविसंघका बन्दकर्ताले कार्यालयभित्र पसेर कर्मचारी, कार्यालय र सवारी साधन तोडफोड गरेको बताए।
कार्यालयको बा २ झ २७१५ नम्बरको सवारी साधनको सीसा फुटेको छ। सरकारी वकिलको कार्यालयमा तोडफोडको फोटो खिचिरहेका सञ्चारकर्मीमाथि पनि आन्दोलनकारीले हातपात गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले सरकारी कार्यालय, सवारी साधन र पत्रकारमाथी कुटपिट गर्नेको खोजी भइरहेको जानकारी दिए। नेपाल विद्यार्थी संघ कञ्चनपुरका संयोजक गणेश भट्टले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको र तोडफोडमा आफ्नो संगठनको कुनै संलग्नता नभएको बताए।
नेविसंघले गरेको बन्दबाट यातायात, बजार, शैक्षिक संस्था पूर्णरुपमा बन्द रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।