कालिकोट : दशैँ तिहार नजिकिँदै गर्दा कालिकोटको जिल्ला सदरमुकामको डिपोमा चामल फालाफा अवस्थामा रहेको भए पनि गाउँमा तीनवटा डिपोमा चामलको हाहाकार रहेको छ। सदरमुकाममा रहेको डिपोमा समयमै चामल गर्ने ठेकेदारले ढुवानीको सम्झौता गरेका कारणले फालाफाल भएको हो भने गाउँमा रहेका डिपोमा ढुवानी ठेकेदारले ढुवानीको सम्झौता नगर्दा समस्या भएको हो।
जिल्लाको पादमघाट, खल्लागाड र थिर्पुमा खाद्यान्नको डिपो कार्यालय रहेको छन्। पादमघाट र थिर्पु डिपोमा ढुवानीको ठेक्का पाएका ठेकेदारहरूले ढुवानी सम्झौता नगर्दा एक गेडा पनि चामल रहेको छैन। जिल्ला सदरमुकाममा खाद्यान्न डिपोमा ७६७ क्विन्टल ४६ केजी चामल मौज्दात रहेको भए पनि थिर्पु र पादमघाट डिपोमा ढुवानीकर्ताले सम्झौता नगर्दा समस्या भएको जिल्ला खाद्य संस्थान कालिकोटका निमिक्त प्रमुख खड्क बुढामगरले बताए। ‘सदरमुकाममा दशैँ तिहारसम्मलाई पुग्ने खाद्यान्न रहेको छ।’ उनले भने, ‘ढुवानीकर्ताले सम्झौता नगर्दा डिपो कार्यालयहरूमा खाद्यान्नको अभाव भएको छ।’
गाउँमा खाद्यान्नको अभाव
सधैँ सुख्खाग्रस्त क्षेत्रका रुपमा रहेको पतालामा यस वर्षको दशैँ तिहारमा खाद्यान्न अभाव हुने भएको छ। पलाताको थिर्पु डिपोमा खाद्यान्न ढुवानीको जिम्मा पाएका ठेकेदार कम्पनीले ढुवानीको सम्झौता समयमै नगर्दा खाद्यान्न अभाव हुने देखिएको हो। थिर्पु डिपोका लागि निसान निर्माण सेवा कालिकोट, लवकुश जनरल स्टोर्स कालिकोटले ढुवानीको ठेक्का पाएको र पादमघाट डिपोको ढुवानीका लागि रामसागर जनरल स्टोर्स सुुर्खेत ठेक्का पाएको तर ढुवानीको सम्झौता नहुँदा दशैँ तिहारमा खाद्यान्नको अभाव हुने देखिएको नेपाल खाद्य संस्थान शाखा कार्यालय कालिकोटका निमिक्त प्रमुख बुढामगरले बताए । ‘सदरमुकाममा खाद्यान्नको कुनै अभाव छैन।’ उनले भने,‘तर, गाउँका डिपोहरूमा खाद्यान्न ढुवानीको ठेक्का पाएका ठेकेदार कम्पनीले सम्झौता नगर्दा खाद्यान्न अभाव हुने देखिएको छ।’
दशैँ तिहार आयो खाद्यान्न चाहियो
दशैँ तिहार नजिकिँदै गर्दा पलाता गाउँपालिकाका स्थानीयहरूले खाद्यान्न ढुवानीको माग गरेका छन्। पादमघाट र थिर्पु डिपोमा खाद्यान्न नभएपछि यहाँका स्थानीयबासीले खाद्यान्न समयमा नै ढुवानी गरेर दशैँ तिहारमा खाद्यान्न अभाव समस्या सुल्झाउन माग गरेको हुन्। दशैँ तिहारको मुखमा खाद्यान्नको अभाव हुने देखिएकाले खाद्यान्न ढुवानी चाँडो गर्नका लागि पहल थालिएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए।
‘दशैँ तिहारमा खाद्यान्नको अभाव हुने देखिएको छ।’ उनले भने,‘दशैँ तिहार अघि खाद्यान्न ढुवानी गर्न हामीले गाउँपालिका तर्फबाट पहल चालेका छौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।