काठमाडौं : जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन्। हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो।
उत्तरी गोलार्द्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिए। यसरी आउने कतिपय चरा सगरमाथा नाघेर आउँछन्। कतिपय विभिन्न क्षेत्रबाट भित्रिन्छन्।
'चिसोले पानी जम्छ र भएका किरा मर्छन्, त्यसैले जाडोबाट बच्न चरा नेपाल आउने हो।' डा बरालले भने, 'धेरै चरा आइसके, केही आउँदै छन्।'
सगरमाथा नाघेर आउने खोया हाँसले नौ हजार ३७५ मिटरमाथि उडान भरेको अभिलेख छ। हाँसमात्रै २२ बढी प्रजातिका आउँछन्। कतिपय चराले करीब पाँच हजार किलोमिटर दूरी पार गर्छन्। सामान्यतः यसरी बसाइ सरेर आउने चराले दुई, तीन हजार किमी दूरी पार गरेकै हुन्छन्।
अहिलेसम्म सुइरोपुच्छ्रे, बिजुलागैरी, सिन्दूरे, खडखडे, सुडसुडिया, टिकटिके, ट्याकट्याके चरा नेपाल भित्रिसकेको पक्षीविद् सङ्घका अध्यक्षसमेत रहनुभएका डा बराल बताउनुहुन्छ। पाहुना चराले नेपालमा छदेखि आठ महीना बिताउँछन्। ठूलो चील (महाचील) मङ्गोलिया, चीन, साइबेरियाबाट आउँछ।
असोजको पहिलो साताबाट चरा आउन थालेको हो। चितवन, कोशी, कपिलवस्तुको जगदीशपुर ताल, बर्दिया, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आएका चरा देखिन थालेको छ।
चितवनमा विभिन्न प्रजातिका चरा आइपुगेको वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए। वनजङ्गल र झाडीमा बस्ने चरा आउन थालेको छ। यस्ता चरा चितवन, काठमाडौँलगायत वरिपरि देखिन थालेको चराविद्ले बताएका छन्। जाडो छल्न बसाइँ सरेका पानी चरा काठमाडौँको वाग्मतीमा देखिन थालिसकेको छ। असोज चराका लागि बसाइँ सरेर आउने महत्वपूर्ण समय हो। असोजको अन्तिमसम्ममा यहाँ अधिकांश चरा आइसक्छन्। अभिलेखअनुसार १४९ प्रजातिका चरा नेपाल भित्रिन्छन्। आधा जति सिमसारमा बस्ने चरा हुन्छन्।
कपिलवस्तुको जगदीशपुर तालमा नेपालमै बढी चरा पाइन्छन्। चराविद् टीका गिरी राम्रो वासस्थान भएकाले विभिन्न देशबाट चरा नेपालमा आउने बताउनुहुन्छ। उहाँका अनुसार चरा पर्यटनका लागि नेपाल उपयुक्त भए पनि सरकारको ध्यान यसतर्फ जान सकेको छैन।
नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन्। सबैभन्दा बढी प्रजाति चितवनमा भेटिन्छ। बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाही बर्दियामा बसाइँ सरेर आउन थालेको बताउनुहुन्छ। कर्याङकुरुङ उडेको देखियो तर नेपाल नाघेर कतिपय चरा भारत पुगेको दाबी उहाँको छ। नेपाल सानो क्षेत्र भएकाले धेरैमाथिबाट उडान गर्ने चरा नेपाल नाघेरै अन्य देश पुग्ने चराविद् बताउँछन्।
ग्रीष्म आगन्तुक चरा घर छाड्दै
यता ग्रीष्मका आगन्तुक चराले भने नेपालको घर छाड्न थालेको छ। कोइली, मुरली, जुरे कोइली, लालचुच्चे ठेउवाजस्ता चरा घर छाडेर दक्षिण लागेका छन्। यी दक्षिणबाट बच्चा कोरल्न आउँछन्।
दक्षिणी क्षेत्रमा भन्दा नेपालमा प्रतिस्पर्धा कम हुने र उनीहरुलाई आक्रमण गर्ने प्रजाति पनि कम हुने भएकाले बच्चा कोरल्न नेपाल छान्छन्। बच्चा हुर्काएपछि पुनः दक्षिण नै फर्कन्छन्। ती चरा भारत, श्रीलंकालगायत देशमा जान्छन्। अधिकांशले बच्चा हुर्काइसकेका छन्। यस्ता चराको मुख्य वासस्थान भने दक्षिण क्षेत्र हो। केही सिमसारका चरा उडिसकेको र सुइरोठूँडे, गरुड, बकुल्लाले बच्चा हुर्काएर उडाइसके। अब केही चराको बच्चा उड्ने तयारीमा रहेको डा बराल बताउछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।