|

नेपालको राजनीति सबैभन्दा ठूलो समस्या भनेको नेताहरुको अध्ययनहीनता हो। समाजवाद अहिले पनि नेपाली राजनीतिको लोकप्रिय शब्द हो। समाजवादी नाम राखेरै पार्टीहरु जन्मिएका छन् यहाँ। तर समाजवाद बारे तिनमा कति ज्ञान छ? यो चाहिँ पार्टीको नाम समाजवादी राख्‍ने हरुलाई समेत थाहा भएजस्तो लाग्दैन।

नेपालमा  समाजवाद शब्द ल्याउने पहिलो राजनीतिक नेता विश्वेश्वरप्रसाद (वीपी) कोइराला हुनुहुन्छ। तर उहाँकै बुझाइमा पनि समस्या फेला पारें मैले। उहाँले भन्नुभएको छ, ‘साम्यवादमा प्रजातन्त्र भएपछि त्यो समाजवाद हुन्छ, समाजवादबाट प्रजातन्त्र झिकेपछि त्यो साम्यवाद हुन्छ।’ साम्यवादी चिन्तक भनी प्रचारित गरिएका कार्लमार्क्‍सको इतिहास सम्बन्धी अवधारणा त्यस्तो छैन। उहाँको निष्कर्षमा पूँजीवादपछि समाजवाद आउँछ। समाजवादमा पुग्दासम्म राज्यको संरचना रहिरहन्छ। राज्यको संरचना कायम रहनु भनेको त्यहाँ सेना हुन्छ, त्यो राज्यमा निर्वाचित जनप्रतिनिधिहरुको राज्य सन्चालनमा प्रमुख भूमिका हुन्छ। समाजवादमा पनि वर्गहरु हुन्छन् र तिनीहरु बीचका अन्तरविरोधलाई मित्रवत् ढङ्गले सन्चालन गर्दै साम्यवादतर्फ मुलुकलाई लैजानु पर्छ। पूँजीवादले दिएका अधिकार मात्र होइन, समाजवादलाई बलियो बनाउने हो भने राज्यले त्यो भन्दा बढी अधिकार जनतालाई दिनुपर्छ। जनता जति अधिकार संपन्न हुन्छन्, समाज त्यति नै बलियो हुन्छ। अन्तिम निष्कर्षमा नागरिक सर्वोच्चतासहितका नागरिकहरुले सामूहिक नेतृत्व प्रणालीमार्फत समाज साम्यवादमा प्रवेश गर्छ। त्यसैले समाजवाद र साम्यवादका बीचमा त्यत्तिकै फराकिलो खाडल छ जति फराकिलो खाडल पूँजीवाद र समाजवादका बीचमा छ ।

नेपाललाई एउटा पुँजीवादी मुलुक मान्दा राष्ट्रिय पुँजीवाद, समाजवाद पक्षधर हुन्छ भने दलाल पुँजीवाद, उदारवादको पक्षधर हुन्छ। व्यवहारमा नेपाली काङ्ग्रेस नेपालको पुँजी र नेपाली पुँजीपतिको सम्मान गर्न जान्दैन भन्ने पछिल्लो सत्यको उदाहरण हो काठमाडौं निजगढ द्रुतमार्गको निर्माण। देखी देखी नेपाललाई अरबौंको घाटा गराउने द्रुतमार्ग काङ्ग्रेस भारतको कुनै कम्पनीलाई दिन अहिले पनि प्रयत्नशील छ। जब कि त्यो द्रुतमार्ग नेपाली पुँजी र प्राविधिबाट तयार हुन्छ, भारतलाई तिर्ने भन्दा धेरै सस्तोमा बन्छ भन्ने सत्य पनि स्थापित भैसकेको छ।

पुँजीवादबाट समाजवादतर्फ जाने बाटोलाई पराजित गरेर, पूँजीवादी मुलुकहरु बीचको तीब्र प्रतिस्पर्धाका कारण विश्वयुद्ध जन्मियो। पहिलो विश्वयुद्ध मूलत उपनिवेश खोस्ने युरोपेली पूँजीवादी राष्ट्र बीचको लडाईं थियो। तर पहिलो विश्वयुद्धको समाप्तीसँगै विश्वमा दुइटा परिघटना देखा परे। आपसी लडाईंमा खति हुन्छ भन्ने ती उपनिवेश बनाई हिँड्ने यूरोपेली राष्ट्रहरुले बुझे भने अर्कोतिर उनीहरुले कल्पना पनि नगरेको नयाँ विचारको राष्ट्र जन्मियो, समाजवादको नारा बोकेर। पहिलो विश्वयुद्धमा दुनियाँभरि मालिकहरु मात्रै शासक थिए। विश्वयुद्धको समाप्तीले रुसको विशाल भूभागमा श्रमजीवि वर्गलाई शासक बनाइदियो।

विश्व दुई टुक्रामा विभाजित भयो। एउटा मालिक सत्ता अनि अर्को श्रमिक सत्ता। मालिक सत्ता श्रमिक सत्तालाई टाउको उठाउन दिनु हुँदैन भन्ने टुङ्गोमा थियो भने नयाँ जन्मिएको श्रमिक सत्ता लत्रिइहाल्ने पक्षमा थिएन। नयाँ विचारसहितको आम जनसमुदायलाई समेट्न सक्ने सोभियत सत्ता हर्क्‍युलस भएर उभिएको थियो। मान्छेले दोश्रो विश्वयुद्धपछिको समयलाई शीतयुद्धको काल भन्ने गरेका छन्। सोभियत सत्ताको जन्म ‘पूँजीवाद विरुद्ध समाजवाद’ थियो। त्यो नै शीतयुद्धको भ्रुण थियो।

तर सोभियत सत्ताले आरम्भमै गल्ती गर्‍यो। चौतर्फी घेराबन्दी र नाकाबन्दीबाट बच्न त्यसले आफ्नो ओरिपरि फलामे बार उभ्यायो। सोभियत सङ्घको ‘आइरन गेट’ एक जमानामा चर्चित शब्दावली थियो। सीमा पारीका आक्रमणकारीका विरुद्ध खिचिएको यो आइरन गेट सोभियत सत्ताको आन्तरिक प्रजातन्त्रमा पनि पस्यो। सोभियत सत्तामा नागरिक सार्वभौम हुन पाएनन्। त्यसैले त्यो समाजवाद नोकरशाहीतन्त्रमा रुपान्तरित भयो। कार्लमार्क्सले देखेको ‘पहिले प्रजातन्त्र अनि समानता’ सपना भताभुङ्ग भयो।

दोश्रो विश्वयुद्धपछि शीतयुद्ध सबैभन्दा माथिल्लो उचाइमा पुग्यो। अमेरिका पक्ष र सोभियत सङ्घ पक्षमा मुलुकहरु विभाजित भए। त्यो शीतयुद्धभित्र एउटा तेश्रो धार देखियो (असंलग्न राष्ट्रहरुको सङ्गठन)। तेश्रो धारको झुकाउ पनि समाजवादतिरै थियो। त्यसैले त्यो छोटो कालमा संसार समाजवादमय भयो।

सोभियत समाजवादमा सङ्कट उत्पन्न भएपछि समाजवाद पनि गल्यो। हिजो आफूलाई समाजवादी भनाउन रुचाउने भारतजस्ता मुलुकहरु कसैलाई थाहा नदिई सुटुक्क बाहिर निस्किए। त्यसपछि आयो लोकतन्त्रको विश्वव्यापी लहर। यो लोकतन्त्रको लहरले धेरै मुलुकमा समाजवादलाई खडेरीको बारी बनायो। समाजवादीहरुले पार्टीको नाम पनि फेरे। बलेको आगो ताप्ने बानी विश्वव्यापी नै रहेछ भन्ने सच्चाइ सार्वजनिक भयो।

तर नेपालले खुट्टा कमाएन। सबैतिर समाजवाद ढलिरहेको समयमा नेपालमा खुलेका अधिकाङ्श पार्टीको आदर्श समाजवाद नै भयो। अन्त कम्युनिस्ट पार्टी लुप्त हुँदै गएको समयमा नेपालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदमा प्रतिपक्षमा बस्न पुग्यो। त्यसले पहिले स्वतन्त्रता अनि समानता, को समाजवादी सिद्धान्त आत्मससात गर्‍यो। त्यसयता समाजवाद सबैको साझा भएर आएको छ। जातिवादी पार्टी, धर्मको आधारमा खोलिएको पार्टीले पनि समाजवादलाई तिरस्कार गर्न सकेका छैनन् ।

तर के सबैले समाजवाद बुझेका छन्? नेपाली काङ्ग्रेस अहिले पनि प्रजातन्त्र, राष्ट्रियता र समाजवाद, आफ्नो पार्टीको आदर्श हो भनिरहेछ। तर समाजवादले उदारवादलाई स्वीकार गर्दैन। समाजवादी हुन त्यसले ०४८ पछि आरम्भ गरेको उदारवादको नाममा उठाइएको दलाल पूँजीवादको झण्डालाई फाल्नु पर्छ। नेपाललाई एउटा पुँजीवादी मुलुक मान्दा राष्ट्रिय पुँजीवाद, समाजवाद पक्षधर हुन्छ भने दलाल पुँजीवाद, उदारवादको पक्षधर हुन्छ। व्यवहारमा नेपाली काङ्ग्रेस नेपालको पुँजी र नेपाली पुँजीपतिको सम्मान गर्न जान्दैन भन्ने पछिल्लो सत्यको उदाहरण हो काठमाडौं निजगढ द्रुतमार्गको निर्माण। देखी देखी नेपाललाई अरबौंको घाटा गराउने द्रुतमार्ग भारतको कुनै कम्पनीलाई दिन अहिले पनि काङ्ग्रेस प्रयत्नशील छ। जब कि त्यो द्रुतमार्ग नेपाली पुँजी र प्राविधिबाट तयार हुन्छ, भारतलाई तिर्ने भन्दा धेरै सस्तोमा बन्छ भन्ने सत्य पनि स्थापित भैसकेको छ।

त्यसैले नेकपा (एमाले) स्वदेशी श्रम र पुँजीबाट द्रुतमार्ग बनाउनु पर्छ भनेर लागिपरेको छ।

राजनीतिमा वर्गीय स्वार्थ र राष्ट्रिय हीत भन्ने मननीय शब्द छन्। अहिले यी दुबै शब्दलाई जसले बोक्छ, उसले नै राष्ट्रिय पुँजीको विकास गरी समाजवादी बाटोमा पाइलो चाल्छ। जसले नेपाली श्रम र पुँजीमा विश्वास गर्दैन त्यसले हामी समाजवाद तिर गैरहेका छौं भन्नु बेकार हुन्छ।

नेपालको राजनीतिमा अत्यन्तै गहिरो प्रभाव पार्ने भारतको राजनीतिमा पनि समाजवादीहरु कमजोर छन् केन्द्रीय सत्तामा आफ्नो उपस्थिति जनाउन भगिरथ प्रयत्न गरिरहेका छन्। तर यस्तो प्रतिकूल स्थितिमा पनि नेपालमा सत्ता र प्रतिपक्षमा नामकै मात्रको भए पनि समाजवादीहरुकै बलियो उपस्थिति छ।

किन? किनभने हाम्रो नेपाल कसैको उपनिवेश भएन। किनभने हाम्रो मस्तिष्क कसैको दास हुन चाहेन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.