सवारी साधन रोकेर पैसा असुल्न थालियो
सवारी साधन रोकेर पैसा असुल्न थालियो
कालिकोट : तिहार आउनुअघि नै कर्णाली राजमार्गमा देउसीभैली खेल्नेहरूको ताँती लागेको छ। कर्णाली राजमार्ग चल्ने यातायातका साधनबाट पैसा असुल्न देउसी भैली खेल्नेको ताँती लाग्ने गरेको हो।
कर्णाली राजमार्गको कालिकोट सडकखण्डको मोल्फादेखि नाग्मसम्म र मान्मदेखि जितेगडा क्षेत्रमा देउसी भैली खेल्नेहरुले सडकखण्डमा चल्ने यातायातका साधनहरूबाट रुपैयाँ असुल्ने गरेका छन्। ठाउँ ठाउँमा देउसी भैली खेल्नेहरूले गाडी रोक्ने र पैसा असुल्ने गरेका कारण यात्रुहरुलाई निकै सास्ती भएको जुम्ला नराकोट नरदल रोकायाले बताए ।
‘कर्णाली राजमार्गका छेउछाउमा तिहार आउनुअघि नै देउसी भैलीको नाममा पैसा असुल्ने क्रम बढेको छ’, उनले भने, ‘ठाउँ ठाउँमा गाडी रोक्ने र यात्रुहरुलाई सास्ती दिन थालिएको छ।' विभिन्न क्लब, युवा सञ्जालका नाममा देउसी भैली खेल्ने र राजमार्गमा अवराेध गर्ने काम भएको कालिकोटका स्थानीय अनन्त बरालले बताए ।
रारा घुम्ने पर्यटकहरूलाई सास्ती
रारा घुम्ने मौसम शुरु भएका कारणले देउसी भैली खेल्नेहरुले रारा जाने पर्यटकहरुले सास्ती बेहर्नु परेको छ। सीमित खर्च बोकेर रारा भ्रमण आउने पर्यटकहरूले बीच बीच सडकमा देउसी भैली खेल्नेहरूले पैसा लिन थालेपछि समस्या हुन थालेको हो।
सीमित खर्च बोकेर मोटरसाइकलमा भारतको महाराष्ट्रबाट राराको भ्रमणमा आएका शिव मलहोत्राले ठाउँ ठाउँमा देउसी भैली खेल्नेले पैसा असुलेकोबताए । ‘तिहार नलाग्दै नेपालमा देउसी भैली खेल्न थालेछन्’ उनले भने,‘बीच बीच बाटोमा पैसा दिँदा खर्चमा हैरान भएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।