|

काठमाडौं : १० वर्षसम्म सशस्त्र युद्ध गरेको पार्टी नेकपा माओवादी पाँच टुक्रामा बिभाजित छ। त्यसमध्ये पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराईले संसदीय अभ्यास स्वीकार गरिसकेका छन्।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको अझैपनि सशस्त्र युद्धकै कार्यदिशामा छन्। प्रचण्ड नेतृत्वको माओवादीबाट कारबाहीमा परेका हेमन्तप्रकाश ओलीले कम्युनिस्ट न्युक्लियस गठन गरेपनि उनको कार्यदिशा प्रष्ट छैन।

वैद्य र विप्लव दुवैले प्रचण्ड नेतृत्वको माओवादी संसद्वादी नीतिमा फसेको आरोप लगाउँदै संसदवादी नीतिको अन्त्य गरी जनसत्ता स्थापना गर्नुपर्ने मत राखेका छन्। दुवैले आफ्ना दस्तावेज र भाषणमा क्रान्ति र युद्ध शव्द नछुटाएपनि यिनीहरुबीचकै कुरा भने मिल्दैन।

वैद्य 'नयाँ जनवादी क्रान्ति' भन्छन् भने विप्लव 'एकीकृत जनक्रान्ति' भन्छन्। विप्लवले सार्वजनिक अभिव्यक्तिहरुमा विद्रोह गर्ने बताएपनि ‘फौजी कार्यदिशा’ को नीति अवलम्बन गरेका छैनन्। तर वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको हालै काठमाडौंमा भएको राष्ट्रिय भेलाले ‘फौजी कार्यदिशा’ मा अघि बढ्ने निर्णय नै गरिसकेको छ।

जनयुद्ध सम्झाउने विप्लवका गतिविधि

२०७१ जेठमा पार्टी गठन गरेदेखि नै ‘बन्दुक’ उठाउने चेतावनी दिएका विप्लवले हालसम्म बन्दुक भने उठाएका छैनन्। विप्लवका अधिकांश कार्यकर्ता अहिले पनि सम्पर्कविहीन छन् भने विप्लव स्वयं सीमित व्यक्तिबाहेक अरुको सम्पर्कमा छैनन्।

पार्टी स्थापनादेखि नै ‘युद्ध’ गर्ने चेतावनी दिँदै जनसरकार समेत ब्युँताएका विप्लव माओवादीका नेताहरु युद्धको तयारी गरिरहेको बताउँछन्। हिजोआज उनीहरुले १० वर्षे सशस्त्र द्वन्द्वको अवस्था झल्काउने खालका केही गतिविधि पनि गरेका छन्।

नेकपा माओवादीका कार्यकर्ताहरु काठमाडौं र सुदूरपश्चिमका नागरिकको दैनिक कामकाजमा सघाइरहेका भेटिन्छन्। ७ जेठमा राजधानीमा गरेको प्रदर्शनमा समेत उनीहरुले सांगीतिक कार्यक्रम गरेका थिए जुन तत्कालीन नेकपा माओवादीले द्नद्वकालमा गर्थ्यो। अघिल्लो महिना एनसेल टावरहरुमाथि भएको आक्रमणले पनि उनीहरुको युद्धतर्फको मोह देखिन्छ।

कति छ विप्लवको शक्ति ?

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको सचिव रहेका नेत्रविक्रम चन्दले खड्गबहादुर विश्वकर्मा, माइला लामा,  ईश्वरीप्रसाद दाहाल, सन्तोष बुढामगर, तिलक परियार लगायतका नेताहरुको साथ लिएर पार्टी गठन गरेका थिए। वैद्यबाट अलग्गिए लगत्तै राष्ट्रिय सम्मेलनमा गएको यस पार्टीले विप्लवलाई महासचिव छान्दै ६५ जनाको केन्द्रीय समिति बनाएको थियो।

त्यसपछि विप्लवको कुनै सम्मेलन भएको छैन। ६५ जनामध्ये पोलिटब्युरो सदस्य तिलक परियारसहितका ९ जना नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। अरु नेता कार्यकर्ता पनि माओवादी केन्द्र र वैद्य माओवादीमा फाट्टफुट्ट आइरहेका छन्।

पार्टी गठन गरेदेखि नै उसले बन्दुक उठाउने चेतावनी दिइरहेको छ। नेकपा माओवादी केन्द्रका एक नेता विप्लवसँग रहेका नेता कार्यकर्ता र विगतको अनुभव हेर्दा असफल भएपनि युद्धमा होमिने अनुमान गर्छन्। नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आफ्नो पार्टीको एजेण्डामा टेकेर जनता आफैँले युद्ध गर्ने बताए। ‘पार्टीले घोषित कार्यक्रम अनुसार आन्तरिक तयारी गर्नु स्वभाविक हो, मैले यो भन्दा बढी केही भन्नु पर्दैन’ थाहा खबरसँग उनले भने।

वैद्यको फौजी कार्यदिशा

नेकपा क्रान्तिकारी माओवादीको हालै कठमाडौंमा भएको राष्ट्रिय भेलाले ‘फौजी कार्यदिशा’ अंगाल्ने निर्णय गरेको छ। ‘जनसत्ता स्थापनाका लागि हामी बन्दुक उठाउँछौं, त्यसको तयारीका लागि हामीले भर्खर निर्णय मात्रै गरेका छौं, राष्ट्रिय सम्मेलनपछि हामी त्यसलाई सशक्त ढंगबाट अघि बढाउछौं’ बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले भनेका थिए।  

क्रान्तिकारी माओवादीले परिस्थिति बनेलगत्तै बन्दुक उठाउने उद्घोष गरेको छ। ‘हामी ढिलोचाँडो अब भूमिगत शैलीमै अघि बढ्छौं, जनताको जीवनस्तरमा परिवर्तन नआएसम्म हामी विद्रोह गर्छौं  क्रान्तिकारी माओवादीका प्रवक्ता सिपी गजुरेलले थाहा खबरसँग भने।

वैद्यसँग कति छ शक्ति ?

२०६९ असारमा तत्कालीन एकीकृत नेकपा माओवादी फुटाउनुअघि त्यस पार्टीका वरिष्ठ नेता मोहन वैद्यलाई समर्थन गर्नेमा झण्डै ४० प्रतिशत केन्द्रीय सदस्य र सभासद् थिए। पार्टी फुटेपछि वैद्यसँगै महासचिव नेता रामबहादुर थापा बादल, सिपी गजुरेल, पम्फा भुसाल, देव गुरुङ, नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु एमाओवादीबाट बाहिरिए। त्यतिबेला वैद्यसँग रहेको प्रभावशाली नेताहरुको समूह एकपछि अर्को विभाजनले कोही विप्लव नेतृत्वको माओवादीमा र माओवादी केन्द्रमा गइसके।

गएको जेठमा महासचिव रामबहादुर थापा बादल सहित बहुमत केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रमा फर्किएपछि वैद्यको शक्ति क्षय भएको छ। विप्लव समूह बाहिरिएपछि गठित १ सय ९९ केन्द्रीय समिति सदस्यमध्ये १ सय २४ जना बादलसँगै माओवादी केन्द्रमा फर्किएका छन्। वैद्यसँग अहिले जम्मा ७५ जना बाँकी छन्।

रामबहादुर थापा बादलसहितका नेताहरु माओवादी केन्द्रमा फर्किनुअघि नेकपा-माओवादीले परी थापा नेतृत्वको नेकपा एकीकृतसँग एकता गरेको थियो। वैद्यसँग अहिले भएका केन्द्रीय सदस्यमध्ये ३९ जना परी थापा समूहबाट आएका हुन्। ‘वैद्यसँग अहिले १० वर्षे जनयुद्धमा सहभागी भएका भन्दा नभएकाहरुको बर्चश्व छ, युद्ध कुनै चेतावनी दिएर हुने होइन, युद्धका लागि परिस्थिति र वातावरण पनि बन्नुपर्दछ, त्यसैले वैद्यले भनेजस्तो युद्ध अहिले सम्भव छैन’ नेकपा माओवादी केन्द्रका नेता सूर्यमान दोङ भन्छन्। तर नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता गजुरेल भने परिस्थिति बनाउँदै जाने र जनसत्ता स्थापनाका लागि ‘विद्रोह’ हुने दावी गर्छन्।

विप्लवसँग वैद्यको रिस ?

‘विप्लवजी र हाम्रा पार्टीबीच एकता हुने भ्रामक हल्ला फिँजिएको छ, विप्लव र हाम्रो पार्टीको कार्यदिशा नै मिल्दैन। त्यसैले हामीबीचमा एकता हुनै सक्दैन’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भनेका थिए। विप्लवप्रति निकै आक्रामक देखिएका वैद्यले उनीसँग फौजी कार्यदिशा नै नभएको दावी गरे।

एकताको विषयमा हल्ला चले पनि दुवै पार्टीले एकताको सम्भावना नभएको स्पष्ट पारेका छन्। गत ७ जेठमा खुलामञ्चमा भएको सभामा विप्लवले पनि तत्काल कसैसँग एकतामा नजाने प्रस्ट्याएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.