प्रचण्ड-सीतापुत्र प्रकाशको प्रथम स्मृति दिवस

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका पुत्र साकार दाहाल 'प्रकाश'को सोमबार प्रथम स्मृति दिवस मनाइयो। खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित स्मृतिसभामा उपराष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, पत्रकार, वकिल, पेसाकर्मी, राजनीतिक कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। 

प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति भएपछि कार्यक्रम औपचारिक रूपमा सुरु गरियो। एक वर्ष पहिले एक मात्र पुत्र गुमाएर शोकमा रहेका पिता प्रचण्ड र माता सीतालाई मंचको अघिल्लो रोहमै राखिएको थियो। 

कार्यक्रममा आसनग्रहणको क्रम सकिएपछि स्वर्गीय प्रकाशको तस्वीरमा उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्ड, प्रकाशकी आमा सीता, पत्नीहरू सिर्जना त्रिपाठी, बिना मगर, पूर्वप्रधानमन्त्रीहरू र परिवारका सदस्यहरूले माल्यार्पण गरेर श्रद्धाञ्जलि व्यक्त गरे। जसै कार्यक्रम सुरु भयो, आमा सीताको अवस्था निकै गम्भीर र चिन्तिन देखिन्थ्यो। पछिल्लो रोहमा बसेका छोरीहरू रेणु दाहाल र गंगा दाहाल पटक पटक आमा सीतालाई सम्हालिरहेका थिए।

प्रकाशको बारेमा परिवारले एउटा स्मृतिसंग्रह र अडियो सामग्री निर्माण गरेको थियो। सोही बेला प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको 'प्रकाश दाहाल स्मृतिसंग्रह'को नेताहरूले विमोचोन गरे। प्रचण्ड र सीताका चार सन्तान हुन्। तीन छोरी र सबैभन्दा कान्छा हुन् प्रकाश। केही वर्ष पहिले जेठी छोरी ज्ञानु दाहालको क्यान्सरका कारण मृत्यु भएको थियो। गत वर्ष छोरा प्रकाशको हृदयाघातका कारण मृत्यु हुन पुग्यो। यी दुवै छोराछोरीका नाममा प्रचण्ड परिवारले 'प्रज्ञा स्मृति प्रतिष्ठान' निर्माण गरेको छ तर यसको कानुनी रूपमा दर्ताको काम भने बाँकी रहेको परिवारले जनाएको छ। 

कार्यक्रममा प्रकाशको स्मृतिमा निर्माण गरिएको अडियो सामग्री प्रसारण गरियो, जसमा उनको जन्म, हुर्काइ, पढाइ, जनयुद्धमा गरेको योगदान, बुबा प्रचण्डको सचिवालयमा रहेर सहयोगीका रूपमा गरेको काम, पार्टीका लागि गरेको योगदान, मृत्युका सबै घटनाहरू सिलसिलेवार रूपमा राखिएको थियो।

अडियो सुन्दै गर्दा मञ्चमा बसेका बुबा प्रचण्ड र आमा सीता पटक पटक भक्कानिएर रोए। आफ्नो अगाडि बसेका सहभागीहरूलाई हेर्दै उनीहरू पटक पटक सम्हालिन खोज्थे तर त्यो सायद एउटा जवान सन्तान गुमाएका बुबाआमाका निम्ति कठिन कार्य थियो। अझ बढी आमा सीताको हालत कमजोर देखिन्थ्यो। पटक पटक आफैँ सम्हालिन्थिन् भने सँगै रहेका उनका श्रीमान प्रचण्डले सम्झाइबुझाइ गर्थे। तर आँसु निरन्तर झरिरहेकै थियो। सम्हालिन खोजेको पनि देखिन्थ्यो तर उनका आँसुहरू रोक्न खोज्दा पनि अटेरी गरिरहेका देखिन्थे। 

'म रोएको कसले देख्छ र!'

मञ्चमा रहेकी स्वर्गीय प्रकाश दाहालकी आमा सीतालाई सम्हाल्न दुई छोरीहरूलाई हम्मेहम्मे भइरहेको थियो। हुनत त्यहाँ उपस्थित प्रचण्ड परिवारलगायत सबैको अनुहार उज्यालो थिएन तर परिवारको अवस्था बढी दुखी देखिन्थ्यो, जुन स्वाभाविक पनि हो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले बोलिसकेपछि प्रचण्डले सहभागीहरू सबैले सामूहिक माल्यार्पण गरेपछि कार्यक्रम सकिने घोषणा गरे। त्यसपछि कार्यक्रममा सहभागी आमा सीतालाई छोरीहरूले घरभित्र लग्दै थिए तर आमा सीतालाई भने हिँड्न नै मुस्किल भइरहेको थियो। डोहोर्‍याउँदै गर्दा उनले भन्दै थिइन्, 'म रोएको कसले देख्छ र!'

जनताका पक्षमा काम गर्न सके प्रकाशप्रति सच्चा श्रद्धाञ्जलि : प्रधानमन्त्री

बिरामी भएर आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी भएका थिए। प्रधानमन्त्री ओलीले देश र जनताको काम गरेर मुलुक समृद्ध बनाउन सकेमा प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए। पछिल्लो समय मात्रै आफूले प्रकाशलाई जान्ने मौका पाएको भन्दै प्रधानमन्त्री ओलीले प्रकाशको मिलनसारिता, मान्छेलाई गर्ने व्यवहार निकै उत्कृष्ट रहेको भन्दै प्रसंशा गरे। उनले भने, 'प्रचण्डजीको सचिवालयमा रहेर पिए भएर काम गर्नु निकै गाह्रो थियो तर उनी सबैसँग मिलेर संयमित भएर मिलनसार व्यवहार गर्थे।'

प्रधानमन्त्री ओलीले प्रकाशको निधन हुनेबेलाको आफू र प्रचण्ड झापामा सँगै रहेको घटना स्मरण गर्दै भने, 'त्यो बेला हामी दुवै जना चुनावी अभियानका क्रममा झापामा थियौँ। म दमकमा थिएँ, उहाँ बिर्तामोडमा हुनुहुन्थ्यो। बिहानै प्रचण्डजीको फोन आयो र त्यो दुखद् घटना सुन्नुपर्‍यो। एकछिन त पत्याउनै मन लागेन तर त्यो सत्य थियो। हामीले सल्लाह गरेर कसरी जाने भन्ने भयो। म झापामा रहेँ, उहाँ काठमाडौं आउनुभयो।'

शोकलाई शक्तिमा बदलेर काम गर्न आग्रह गर्दै उनले घटना भएलगत्तै परिवारले तत्काल देखाएको संयमता उच्च प्रसंशायोग्य रहेको बताए। 'पीडा भइरहन्छ, सम्झना आइरहन्छ तर पनि हामीले आफ्नो काम, जीवनको गति त्यही ढंगले अगाडि बढाउनुपर्छ। प्रकाश दाहालप्रति हार्दिक श्रद्धासुमन। अत्यन्तै आत्मीय सम्झना राख्न चाहन्छु', ओलीले भने।

मानिसको जीवन सधैँ जोखिमयुक्त हुने भन्दै एक दिन सबैको मृत्यु हुने भए पनि त्यस परिस्थितिलाई सहन गर्ने धैर्य परिवारले राखेको भन्दै प्रशंसा गरे। 'हामी चुनावको तयारीमा थियौँ, जुन बेला घटना भयो। प्रचण्डजी र परिवारले त्यो घटना जसरी सामना गर्‍यो, मलाई निकै असाधारण लागेको थियो', उनले भने, 'यस्ता घटनाहरू कहिलेकाहीँ अप्रत्याशित आउँछन्। कहिलेकाहीँ देखिदेखी आउँछन्। मान्छेले एक दिन जानै पर्छ तर असामयिक रूपमा निधन हुँदा त्यसले बढी पीडा पुर्‍याउँछ।'

जनताको मायाले सम्हालिन सक्ने शक्ति दियो : प्रचण्ड

नेकपा अध्यक्ष तथा प्रकाशका पिता पुष्पकमल दाहाल प्रचण्डले पीडाको सामना गर्ने शक्ति जनताको मायाले प्रादान गरेको बताए। 
असंभव जस्तो लाग्ने उक्त घटनामा पनि परिवार र आफूलाई सम्हालिन सक्ने शक्ति जनताकै मायाबाट प्राप्त भएको उनको भनाइ थियो।

'उक्त घटना सामना गर्न सहज थिएन तर तपाईंहरू सबैको मायाले असंभव जस्तो लाग्ने उक्त घटनाको मैले सामना गरेँ। परिवार, पार्टी र मलाई यो उपस्थितिले ऊर्जा थपेको छ। बाँच्ने र राष्ट्रको हितमा काम गर्ने ऊर्जा मिलेको छ', अध्यक्ष प्रचण्डले भने, 'तपाईंहरूको साथ, सहयोग नभएको भए हाम्रो परिवार यतिबेला विघटन भइसकेको हुने थियो।'

आफ्ना छोरा प्रकाशमा केही बालसुलभ, केही कमीकमजोरीका बाबजुद पछिल्लो समय निकै परिपक्व हुँदै गएको अवस्था रहेको स्मरण उनले गरे। उनले भने, 'बालसुलभका कारण केही कमीकमजोरी पनि थिए तर उनी पछिल्लो समय निकै परिपक्व हुँदै गएको अवस्था थियो। उनलाई भरोसा गर्न सकिने स्थिति थियो।'

छोरा प्रकाशको स्मृतिमा स्मारिका प्रकाशन गरेको भन्दै त्यसमा सबै विषय समेट्न नसकिएको भए पनि यस सन्दर्भमा प्रकाशको बारेमा जनतालाई केही न केही जानकारी दिनुपर्छ भन्ने हिसाबले स्मारिका निकालेको जानकारी दिए। 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ', प्रधानमन्त्री केपी शर्मा ओली, प्रथम महिला राधिका शाक्य, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेताहरू रामचन्द्र पौडेल, नेताहरू मोहन वैद्य, कमल थापादेखि पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरूलगायत कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। 

अस्पतालबाट फर्किएपछि प्रधानमन्त्री पहिलो पटक सार्वजनिक कार्यक्रममा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.