|

धनकुटा : सरकारले प्रदेश १ मा घुम्न लायक १६ वटा गन्तव्य पहिचान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशमा स्थापित भइसकेका १३ गन्तव्यलाई प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो। पुराना र नयाँ गरी प्रदेश १ मा २९ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो। सन २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको सरकारले सो लक्ष्य पूरा गर्न नयाँ पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक गरेको हो।

धनकुटाको भेडेटार नमस्ते झरना, ताप्लेजुङस्थित पाथीभरा मन्दिर र फुङफुङे झरना, इलामको सन्दकपुर–माइपोखरी, झापाको बाँसबारी सीमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, वराहक्षेत्र र तालतलैया स्थापित गन्तव्यका रूपमा उल्लेख गरिएको छ। त्यसैगरी संखुवासभाको अरूण उपत्यका, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङबोचे र सगरमाथा ओखलढुंगाको पोकली झरना रहेका छन्।

विकास गर्नुपर्ने नयाँ गन्तव्यमा ताप्लेजुङको तिङबुङ पोखरी, पाँचथरको गुरू फाल्गुनन्द सर्किट, इलामको फिक्कल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीजुरे–मिल्के–जलजले, संखुवासभाको बालेश्वर ऐतिहासिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटक ट्रेल, भोजपुरको ट्याम्केडाँडा, खोटाङको बराहपोखरीलाई राखिएको छ। सोलुखुम्बुको पाँचपोखरी, ओखलढुंगाको थोलेदुम्बा डाँडा, उदयपुरको उदयपुरगढी, झापाको विर्तामोडस्थित शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, मोरङको धनपालगढी पर्यटकीय क्षेत्र र सुनसरीको पिण्डेश्वर–दन्तकाली पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्य तोकिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरेको र प्राप्त आवेदनको अध्ययन र मूल्याकंनपछि सूची तयार गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय जानकारी दिए। सरकारले तय गरेको नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यमा चालु वर्षको विनियोजित बजेट खर्च गरिने बताइएको छ।

मन्त्रालयका अनुसार नयाँ गन्तव्यको पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षमा नै बजेट विनियोजन गरिने भएको छ। नयाँ गन्तव्यहरूको लागि पूर्वाधार र स्थापित भइसकेका गन्तव्यहरूका लागि पनि थप प्रचारप्रसार गर्न बजेट विनियोजन गरिने मन्त्रालयका प्रवक्ता उपाध्यायले जानकारी दिए। नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न सरकारले चालु आवमा ५० करोड छुट्याएको छ।

नमस्ते झरना नेपालको स्थापित गन्तव्यको सूचीमा छनोट

धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित नमस्ते झरना नेपालको स्थापित गन्तव्यको सूचीमा छनोट भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै छनोट गरेका नयाँ पर्यटकीय गन्तव्य सूचीमा तराईका जिल्लाबाट कोशी पहाडमा लागेपछि भेटिने पहिलो झरना नमस्ते झरना परेको हो।

मन्त्रालयले पर्यटन सम्भावना बोकेका तर ओझेलमा परेका सय नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित छनोट गरेको जनाएको छ। नमस्ते झरना धनकुटाको पूर्वको चर्चित पर्यटकीय क्षेत्र भेडेटारको नजिकै रहेको पूर्वको पर्यटकीय गन्तव्य पनि हो। यस क्षेत्रको विकासका लागि तत्कालिन भेडेटार गाविस, पर्यटन कार्यालय, तत्कालीन जिल्ला विकास कार्यालय धनकुटा, पूर्वी सहरी विकास डिभिजन कार्यालय धनकुटा र सिम नेपाल धरानको सहकार्यमा पर्यटक भित्र्याउने उद्देश्यले २०६७ सालबाट झरनालाई पर्यटकीय गन्तव्यका रूपमा सञ्चालनमा ल्याइएको थियो।

नयाँ पर्यटकीय गन्तव्य सूचीमा टिएमजे पनि

तेह्रथुमको गुराँस भूमि, तीनजुरे र मिल्के जलजले (टिएमजे) क्षेत्र पनि नेपालका उत्कृष्ट सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा छनोट भएको छ। एकै स्थानमा २८ प्रजातीका गुराँस फुल्ने टिएमजे क्षेत्र मन्त्रालयले हालै छनोट गरेका नयाँ पर्यटकीय गन्तव्य सूचीमा परेको हो।

तीनजुरे मिल्के जलजले क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल हो। यस क्षेत्रको जैविक विविधता संरक्षण र पर्यटन प्रवर्द्धनमा सरकारी तथा गैरसरकारी संघ संस्थाले विगत दुई दशक देखि काम गर्दै आएका छन। टिएमजे क्षेत्रलाई मन्त्रालयले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा राखेको छ। बृहत लेकाली वन, नागी र घाँसे क्षेत्रसमेत रहेको यो क्षेत्र संरक्षित तथा लोपोन्मुख वन्यजन्तु र जडीवुडी रहेको स्थानसमेत हो। तीनजुरे मिल्के जलजले क्षेत्रलाई तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०५३ अनुसार ०५५ सालमा संरक्षण क्षेत्र घोषणा पनि गरेको थियो।

प्रदेश १ का केही स्थान समेटिएनन्

सरकारले समेटेको प्रदेश १ का पर्यटकीय गन्तव्यमा केही स्थान समेट्नुपर्नेमा ती स्थान छुटेका स्थानीयले बताएका छन्। धनकुटाको भेडेटार, ध्वजेडाँडा र राजारानी ताल सूचिमा समेटिनु पर्नेमा छुटेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताए। ‘भेडेटार पूर्वको पहिलो पर्यटकीय गन्तव्य भएको सबैलाई थाहा भएकै कुरा हो तर सरकारलाई यो बारे थाहा नहुनु आश्चर्यको कुरा हो’, राईले थाहा खबरसँग भने।

मोरङको धार्मिक ऐतिहासिकस्थल विराट राजाको दरबार, झापाको दोमुखा, कृष्णथुम्की, मोरङको हसिना र बेतना सीमसार, भोजपुरको टक्सार, संखुवासभाको सभापोखरीलगायतका स्थान छुटेको स्थानीयले बताएका छन्। यी स्थानलाई पनि समेटिनुपर्ने स्थानीयको भनाई छ। 

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले केही दिनअघि सयवटा नयाँ गन्तव्यको छनोट गर्दा संखुवासभाका पनि तीनवटा महत्वपूर्ण स्थान भने छुटेको स्थानीयले गुनासो गरेका छन्। सरकारको सूचीमा जिल्लाको धार्मिक तथा पर्यटकीय पोखरी सभापोखरी, गुफापोखरी र शिवधारा जस्ता पर्यटकीय गन्तव्य छुटेका छन्। ती स्थान प्रदेश १ लाई परिचित गराउने मध्येका केही स्थान हुन्। तर पनि सरकारको आँखा त्यसतर्फ भने परेको छैन। ख्याति कमाएका र पर्यटकहरूलाई आकर्षित गर्न सक्ने स्थलहरू नै सरकारको नजरमा पर्न नसकेकोमा स्थानीय चिन्तित छन्।

सभापोखरी, शिवधारा र गुफापोखरी सरकारको सय गन्तव्यको नजरभित्र पर्न नसक्नु आश्चर्यजनक विषय भएको स्थानीय मनबहादुर लिम्बूले बताए। सभापोखरी समुद्र सतहदेखि चार हजार २४० सय मिटर उचाइमा छ। गुफापोखरी करिब तीन हजार ५०० मिटरको उचाइमा छ भने शिवधारा चार हजार ६०० मिटरको उचाइमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.