|

कालिकोट : आँटे के हुदैँन। जिल्लाको तिलागुफा नगरपालिका-६ का महेन्द्रबहादुर शाहीले तिला नदीका असला माछा पालेर वार्षिक १० लाख रुपैयाँ कमाउने गरेका छन्। तिला नदीमा रहेका प्रशस्त असला माछालाई तिला नदीको पानी नै प्रयोग गरेर माछापालन व्यवसाय गरेर वार्षिक १० लाखभन्दा बढी रुपैयाँ गाउँमै कमाउने गरेका हुन्।

विगतमा तिला नदीमा जाल खेलेर माछा मार्ने शाहीले तिला नदीको असला माछा पालन गरेर बिक्री गर्ने योजनासहित माछापालन व्‍यवसायमा लागेका छन्। माछापालन व्‍यवसायमा लागेका शाहीले तिला नदीको माछा र तिला नदीकै पानी प्रयोग गरेर पोखरी बनाएर माछा पालन गर्न थालेको बताए। ‘तिला नदी पानी खाली बग्ने गरेको छ।’ उनले भने, ‘पानी र माछा त्यत्तिकै खेर जान दिनुभन्दा पनि मैले माछा र पानीको प्रयोग गरेर पैसा कमाउने सोच बनाएको हुँ।’

जाल खेल्न छाडेर माछापालन

कर्णाली राजमार्गको छेउमा रहेको गाल्जे बजारमा बस्ने शाहीले तिला नदीका माछा जाल थापेर माछा मार्ने गरेको र माछाको माग अत्यधिक भएका कारणले बजार धान्न नै गाह्रो भएका कारणले तिला नदीमा रहेको माछालाई पाल्ने तयारी थालेको शाही बताउँछन्। ‘कर्णाली राजमार्ग बनेपछि मान्छेहरूको आउजाउ धेरै हुन थाल्यो। जाल थापेर मारेको माछाले बजार धान्न नै गाह्रो भयो।’ उनले भने, ‘बजार धान्न गाह्रो भएपछि तिला नदीको पानी र तिला नदीको माछा प्रयोग गरेर माछा पाल्ने सोच बनाए।’

माछापालन गर्नका लागि आफूले कसैले सहयोग गर्छ कि भनेर धेरै ठाउँमा पुगेको तर कसैले सहयोग गर्न नगरेको शाहीले बताए। ‘माछापालन ब्यवसाय गर्नका लागि धेरै ठाउँमा गए।’ उनले भने,‘कसैबाट सहयोग पाइन्।’

नदीको रैथाने माछा बचाउन गाह्रो

तिला नदीको माछा पोखरीमा लिएर पाल्दा बचाउन नै गाह्रो  हुने गरेको शाहीले बताए। ‘पानीमा बग्ने गरेको माछा पोखरीमा राखेर पाल्दा बचाउन नै गाह्रो  हुँदो रहेछ।’ उनले भने, ‘अरू माछाजस्तो नदीमा बग्ने माछा हुँदैन।’

अन्य ठाउँमा पालिने माछाहरू स्थिर पानीमा बस्ने भएकाले बचाउन सजिलो हुने गरेको तर, नदीमा बग्ने माछा बचाउन र हुर्काउन पनि समय लाग्ने गरेको शाहीले बताए। ‘स्थीर पानीमा बस्ने माछाजस्तो यो नदीमा बग्ने माछालाई जोगाउन गाह्रो हुने गरेको छ।’ उनले भने,‘हुर्काउन पनि करिब डेढ बर्ष लाग्छ।’

पोखरी बनाउन २ लाख खर्च

माछापालनको पोखरी बनाउनका लागि आफ्नो निजी लगानी २ लाख रुपैयाँ खर्च गरेको शाही बताउँछन्। पहिलो चरणमा पोखरी बनाएर ६ हजार माछा पाल्न सुरु गरेको बताउने शाहीले ४ हजार माछा मात्र हुर्काउन सकिएको बताए। ‘गत वर्षबाट माछापालन सुरु गरेको हुँ।’ उनले भने, ‘६ हजार माछाका भुरा पोखरीमा पालेको अन्तिममा बिक्री गर्दा ४ हजार मात्र बचाउन सकेँ।’

पहिले २ लाख खर्चमा बनाएको पोखरी अब पोखरी संख्या बढाउने र स्थानीय माछा नै पाल्ने योजना रहेको शाहीले बताए। ‘पोखरी संख्या बढाउने सोचेको छु।’ उनले भने,‘ती पोखरीहरूमा स्थानीय माछा नै पाल्ने सोच बनाएको छु।’

व्‍यवसायमा सहयोग गछौं : नगरपालिका

तिला नदीको पानी र तिला नदीमा रहेका असला माछापालनमा लागेका शाहीलाई तिलागुफा नगरपालिकाले व्‍यवसायमा सहयोग गर्न तयार रहेको जनाएको छ।

हामी उद्योग व्‍यवसाय गर्नेलाई हर किसिमको सहयोग गर्न तयार रहेको र तिलागुफा पहिचानका रूपमा असला माछा देशविदेश चिनाउने अभियान नगरपालिकाले थालेको त्यसको पालनमा लागेका शाहीले हर प्रकार सहयोग गर्न तयार रहेको तिलागुफा नगरपालिका कार्यकारी अधिकृत गोविन्द्रप्रसाद पाण्डेले बताए। ‘तिलागुफाको पहिचानका रूपमा असला माछालाई लिन अभियान नगरपालिकाको रहेको छ।’ उनले भने, ‘त्यस अभियानमा लागेका शाहीलाई हामी सहयोग गर्न तयार छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.